कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘बलात्कार गर्न खोज्‍ने’ लाई पञ्‍चायतीको जिम्मा

ठाडो निवेदन मात्र दिइएको भन्दै पञ्चायतीबाटै मेलमिलाप गर्न प्रहरीले नै दुईजना आरोपितलाई वडाध्यक्षको जिम्मा लगायो
अवधेशकुमार झा

राजविराज — बलात्कार प्रयासको आरोप लागेका दुई अभियुक्तलाई बचाउन प्रहरी र जनप्रतिनिधि नै लागेको खुलेको छ । प्रहरीले पीडित पक्षबाट ठाडो निवेदन मात्रै परेको र जनप्रतिनिधिले पञ्चायतीबाट समस्या समाधान गर्ने भन्दै प्रहरी कार्यालयबाट आरोपितलाई बुझेर लगेका छन् ।

‘बलात्कार गर्न खोज्‍ने’ लाई पञ्‍चायतीको जिम्मा

सप्तरीको विष्णुपुर गाउँपालिका–६ की ४० वर्षीया महिलालाई आफ्नै गोठमा ‘बलात्कारको प्रयास’ भएको थियो । असोज १२ गते राति ११ बजेतिर गोठमा सुतिइरहेका बेला स्थानीय बचवा सरदार र कोभिया सरदार आएर आफ्नो मुख थुनी बलात्कारको प्रयास गरेको पीडित महिलाको दाबी छ । ‘हल्ला गर्न खोज्दा मलाई पिट्न थाले,’ उनले भनिन्, ‘मैले चिच्याएको सुनेर छिमेकीहरु आउँदा उनीहरु भाग्न खोजे ।’ घटनाको दिन उनका श्रीमान् घरमा थिएनन् । उनी इँटा भट्टामा काम गर्ने मजदुर भएकाले राति कार्यस्थलमै सुत्छन् ।

पीडित महिलाको गुहार सुनेपछि आएका गाउँलेहरुले भाग्दै गरेका आरोपितमध्येका कोभियालाई पक्रेका थिए । मध्यरातमै गाउँलेहरुको भेला बस्यो । कोभियामाथि कुटपीटसमेत भयो । तर, रातको समय भएकाले बिहान कुरा बुझ्ने भन्दै पक्राउ परेका कोभियालाई वडा सदस्य रामकुमार रायले बुझेर लगेका थिए । भोलिपल्ट बिहान बसेको गाउँले भेला (पञ्चायती) मा कोभिया मात्रै उपस्थित भए । अर्का आरोपित बचवा भने वडाध्यक्ष बहादुर सदाको काममा बाहिर गएको बताइएको पीडित महिलाका श्रीमान्ले बताए ।

उनले श्रीमतीलाई जबर्जस्ती गर्न खोज्नेका विरुद्ध कानुनी कारबाहीको माग गर्दै असोज १४ मा जिल्ला प्रहरी कार्यालय सप्तरीमा निवेदन दिए । जिल्ला प्रहरीले प्रहरी चौकी विष्णुपुरमा उक्त निवेदन पठाइदियो । प्रहरी चौकी विष्णुपुरले आरोपित दुबैजनालाई चौकीमा त लग्यो तर केही बेर राखी वडाध्यक्ष बहादुर सदाको जिम्मा लगाइदिएको पीडित महिलाका श्रीमान्ले बताए ।

‘मैले कानुनी कारबाहीको माग गर्दै निवेदन दिएको हुँ, प्रहरीले वडाध्यक्षको जिम्मामा आरोपितलाई बुझाएर आउँदो मंगलबारलाई पञ्चायती तोकेको छ,’ उनले भने, ‘जसले आरोपितलाई संरक्षण दिइरहेको छ, उसैलाई पञ्चायती गर्ने जिम्मा सुम्पेर प्रहरीले पनि आरोपी संरक्षणमा सहयोग गरेको छ ।’

घटना भएकै राती पक्राउ परेका एक आरोपितलाई जिम्मा लिएर गएका वडा सदस्य रामकुमार रायले गाउँलको आग्रहमा आफूले त्यसो गरेको बताए । ‘मध्यराति अर्काको घर पस्नु राम्रो कुरा होइन्, म यसको समर्थन कदापि गर्दिन तर राति भेला भएका गाउँलेले मेरो जिम्मा लगाएपछि रातभरका लागि मैले जिम्मा लिएको हुँ,’ उनले भने, ‘गाउँलेहरुले गाउँकै कुरा भएकाले सामाजिक हिसाबले समाधान गर्ने बताएपछि मैले जिम्मा लिएको हो ।’

रातको समयमा मदिरा खाई अर्काको घरमा पसेर महिलाको नाकमुख थुन्ने र जथाभाबी गरेको सुनेपछि आफू घटनास्थल पुगेको उनको भनाइ छ । ‘त्यहाँ पुगेपछि मैले पनि कोभियालाई दुई भाटा हानेको थिएँ । राति समाजले मेरो जिम्मा दियो, बिहान पञ्चायतीमा उसलाई उपस्थित गराएँ,’ उनले भने, ‘त्यसपछि उनलाई वडाध्यक्षले जिम्मा लिएछन्, मलाई केही थाहा भएन ।’

वडाध्यक्ष बहादुर सदाले घटनाबारे मेलमिलाप गराउन मंगलबारका लागि पञ्चायती तोकेको बताए । ‘गल्ती त भयो, मदिरा खाएर उनीहरु ती महिलाको घर गए, अब के गर्ने ? मिलाइदिन्छु, त्यसकै लागि मंगलबारलाई पञ्चायती तोकेको छु,’ उनले भने । आरोपितहरु अहिले पनि आफ्नो जिम्मामा रहेको उनले स्वीकारे । ‘पीडितले प्रहरीमा निवेदन दिएपछि प्रहरीले केसलाई पालिकामाथि सुम्पियो, पालिकाको वडाध्यक्षको हिसाबले आरोपितहरु मेरो जिम्मामा छन्,’ उनले भने ।

सप्तरी प्रहरीका डीएसपी भुवनेश्वर साहले पीडित महिलाकातर्फबाट जाहेरी नआएकाले मुद्दा अघि बढ्न नसकेको बताए । ‘कानुन बमोजिम जबर्जस्ती करणी उद्योगको मुद्दाको जाहेरी आएको छैन,’ उनले भने, ‘ठाडो निवेदन आएको छ । त्यसकै आधारमा मान्छे पक्राउ गरेर मुद्दा चलाउन सकिँदैन ।’

आरोपितले आफूलाई मुख छोपी, लातमुक्का, थप्पडले शरीरको विभिन्न भागमा हान्दै अभद्र व्यवहार गरेको ठाडो निवेदन मात्र दिएकाले त्यसलाई जबर्जस्ती करणी उद्योगअन्तर्गतको अपराध बुझ्न नसकिने उनको भनाइ छ । ‘जबर्जस्ती करणी उद्योग हो भने प्रष्ट भाषामा कानुन बमोजिम जाहेरी आए कुनै छलफल हुँदैन्, आरोपित पक्राउ गरी कारबाही हुन्छ,’ उनले भने ।

प्रकाशित : आश्विन १७, २०७७ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?