फेरि मर्‍यो गैंडा, ३ महिनामा ५ गैंडा मरे

रमेशकुमार पौडेल

चितवन — त्रिवेणी नदी तर्ने क्रममा रहेको एउटा गैंडा मरेको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार शनिबार बिहान निकुञ्जको पश्चिमी किनार त्रिवेणीमा बगरमा रहेको गैंडा नारायणी नदीमा पसेको थियो ।

फेरि मर्‍यो गैंडा, ३ महिनामा ५ गैंडा मरे

नदीमा पसेको गैंडाको मृत्यु भएको प्रमुख संरक्षण अधिकृत बरालले बताए । ‘पोथी गैंडा थियो । २५/३० वर्षको पनि थियो । बगरबाट नदीमा पसेको पार हुन नसकेर मर्‍यो,’ बरालले भने ।

निकुञ्जका सूचना अधिकारी अशोक रामले पुरानो बासस्थलबाट उक्त गैंडा बग्दैबग्दै त्रिवेणी पुगेको हुन सक्ने बताए । नदीमा बगेपछि नेपालतर्फको नहरमा गैंडाको मृत शरीर बग्दै आएको उनले जानकारी गराए । त्रिवेणी क्षेत्रमा निकुञ्जबाट बग्दै गएका अन्य कम्तीमा दुईवटा गैंडा रहेका छन् । ती कहिले नेपालका सुस्ता र कहिले भारतीय वन क्षेत्र आउने जाने गरेको निकुञ्जका अधिकारीहरु बताउँछन् ।

चितवन निकुञ्जमा शुक्रबार मात्रै पनि नवलपुर लामीचौरमा रहेको निकुञ्जको पोस्टदेखि तीन किलोमिटर दक्षिणमा निकुञ्जभित्र एउटा गैंडा मृत अवस्थामा फेला परेको थियो । चितवन राष्ट्रिय निकुञ्जमा यो आर्थिक वर्ष सुरु भएको साउन महिनायता शनिबारसम्म पाँचवटा गैंडा मरेको सूचना अधिकारी अशोक रामले जानकारी दिए । निकुञ्जभित्र गएको भदौ २१ गते पनि एउटा गैंडा मृत भेटिएको थियो ।

भदौ १६ गते गोली पड्केको आवाज सुनेपछि खोजीमा गएको निकुञ्ज प्रशासन र सेनाको टोलीले पाँच दिनपछि बाँदरझुला टापुको घोलामा मृत गैंडा फेला पारेको थियो । त्यसको पनि खाग खुर सुरक्षित थियो । तर टाउकोमा गोली लागेको घाउ भेटिएको थियो । टाउकोमा गोलीको घाउ भए पनि गोली भने फेला परेको छैन । त्यसै गरी शरीरमा तिखो हतियारले हानेको चोट पनि थियो ।

निकुञ्जका अधिकारीहरुले भदौ २१ मन मृत फेला परेको गैंडालाई चोरी सिकारीले मारेको निष्कर्ष निकालेका छन् । अन्य गैंडा काल गति वा दुर्घटनावश मरेको निकुञ्जको भनाइ छ । चितवन निकुञ्जमा यो आर्थिक वर्ष सुरु भएपछि साउन १७ र भदौ ६ मा पनि मृत गैंडा फेला परेको रामले जानकारी दिए ।

चितवन निकुञ्ज नेपालमा एकसिंगे गैंडाको मुख्य बासस्थल हो । २०७२ साल वैशाखमा सार्वजनिक भएको गैंडा गणनाको नतिजा अनुसार देशभर ६४५ गैंडा थिए । त्यसमध्ये चितवन निकुञ्ज र यस आसपासको जंगलमा ६०५ पटा गैंडा फेला परेका थिए । त्यो गणनापछि बर्सेनि ठूलो मात्रामा गैंडा मरेका छन् । चितवन निकुञ्जमा चोरी सिकारीले गैंडा मार्ने ठूलो समस्या थियो । तर ६७ सालयता चोरी सिकार कम हुँदै गएर शून्यको अवस्थमा पनि पुग्यो ।

तर प्राकृतिक र दुर्घटनावश हुने मृत्यु बढ्दो छ । आर्थिक वर्ष ०७४/७५ मा २६ वटा गैंडा मरे । त्यसै गरी ०७५/७६ मा निकुञ्ज इतिहासमै सर्वाधिक ४३ वटा गैंडा मरे । निकुञ्ज कार्यालयका अनुसार गएको आर्थिक वर्ष ०७६/७७ मा फेरि संख्या घटेर २६ मै सीमित भयो । गैंडा मार्नु वा यसको अंगको कारोबार र ओसारपसार गर्नु अपराध हो । यसो गरे १५ वर्षसम्म कैद १० लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

प्रकाशित : आश्विन १७, २०७७ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?