प्रदेश २ को नाम र राजधानीको मुद्दा झन् पेचिलो

कान्तिपुर संवाददाता

जनकपुर — प्रदेश २ को नाम र राजधानी तोक्न गत वर्ष भदौ ५ गते दलहरूले प्रदेशसभामा छुट्टाछुट्टै प्रस्ताव दर्ता गराए । जनकपुरलाई राजधानी बनाउन सत्तासीनसहित प्रमुख तीन दल सहमत भए पनि नाममा भने मतभेद थियो । नाममा दलपिच्छेको फरक अडानले अन्ततः प्रदेशले नाम र राजधानी दुवै पाएन ।

प्रदेश २ को नाम र राजधानीको मुद्दा झन् पेचिलो

सत्तासीन जनता समाजवादी पार्टीले प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुर’ को प्रस्ताव दर्ता गराएको थियो । प्रमुख प्रतिपक्षी नेकपाले प्रदेशको नाम ‘जानकी’ तथा राजधानी ‘धनुषा’ र विपक्षी दल कांग्रेसले प्रदेशको नाम ‘मिथिला–भोजपुरा’ तथा राजधानी ‘जनकपुरधाम’ राख्ने प्रस्ताव प्रदेशसभामा लगे । बारा र पर्साका केही सांसदले भने प्रदेशको राजधानी ‘वीरगन्ज’ राख्ने प्रस्ताव छुट्टै दर्ता गराए ।

नाम र राजधानीमा सबै दलभित्रै तीव्र असन्तुष्टि बढेपछि चैत ४ गते मतदान गर्दा यी प्रस्ताव अस्वीकृत भए । कुनै पनि प्रस्तावले दुई तिहाइ मत पाउन सकेन । प्रदेशको नाम र राजधानी दुई तिहाइले टुंग्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेश २ मा १ सय ७ जना सांसद छन् । दल एक हुँदा जनता समाजवादी पार्टीसँग ५५ सांसद छन् । एउटै दलको दुई तिहाइ पुग्दैन । प्रदेशसभाको यही गणितका कारण नाम र राजधानी तोक्ने मामिला झन् पेचिलो बनेको हो ।

चैत ४ गते पहिला राजधानी र पछि नाममा मतदान गर्ने कार्यसूची बनेको थियो । राजधानीमा खासै झमेला थिएन । तर, जसपाले नाममा दुई तिहाइ नपुग्ने संकेत पाएपछि कार्यसूची नै हेरफेर गर्‍यो । त्यसपछि उत्पन्न परिस्थितिले नाम टुंगो लाग्न सकेन ।

मंसिरदेखि सुरु हुने प्रदेशसभाको चौथो अधिवेशनमा नाम र राजधानीको प्रस्तावमा फेरि छलफल थाल्ने तयारी दलहरूको छ । जसपाका प्रदेश सांसद मनीष सुमनले भने, ‘नाम र राजधानी छुट्टाछुट्टै विषय भए पनि हामी यसलाई प्याकेजमै हल गर्न चाहन्छौं ।’

प्रकाशित : आश्विन १७, २०७७ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?