कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वामदेवविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने निर्णय खारेजीको मागसहित सर्वोच्चमा परेको मुद्दाको पेसी फेरि हेर्दाहेर्दैमा राखिएको छ । शुक्रबार उक्त मुद्दामाथिको सुनुवाइ नसकिएपछि बुधबारसम्मका लागि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ । 

वामदेवविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने निर्णयविरुद्धको रिटको सुनुवाइ गर्नका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन भएको थियो उक्त संवैधानिक इजलासले गौतमविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रिराज भट्टले सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि शुक्रबार दोस्रो पटक सुनुवाइ भएको हो । यसअघि गत बुधबार पनि उक्त रिटमाथि बहस भएको थियो । अर्को सुनुवाइ आगामी बुधबारका लागि तोकिएको छ ।

शुक्रबारको सुनुवाइमा वामदेव गौतमको तर्फबाट युवराज संग्रौला, राघवलाल वैद्य र शेरबहादुर केसीले बहस गरेका थिए । त्यस्तै, गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने सरकारको निर्णयको बचाउ गर्दै नायब महान्यायाधीवक्ता पदम पाण्डे र सहमहान्यायाधीवक्ता सञ्जीव रेग्मीले पनि बहस गरेका थिए ।

प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनित गरेपछि सर्वोच्चमा रिट दायर भएको थियो । उक्त रिटमाथि असोज ७ गते प्रारम्भिक सुनुवाइ भएको थियो । उक्त सुनुवाइपछि न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले संवैधानिक प्रश्न उठेको भन्दै गौतमलाई थप जिम्मेवारी नदिन र सां‌सद पद पनि यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो ।

प्रकाशित : आश्विन १६, २०७७ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?