कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

तीन महिनादेखि शल्यक्रिया सेवा बन्द

केन्द्रमा विशेषज्ञ चिकित्सक नहुँदा शल्यक्रियामार्फत सुत्केरी गराउन जोखिम मोलेर बाहिरी जिल्ला जानुपर्ने बाध्यता छ ।
टीकाप्रसाद भट्ट

रामेछाप — मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा शल्यक्रिया सेवा बन्द भएपछि जटिल समस्या देखिएका गर्भवतीहरूलाई सुत्केरी गराउन समस्या हुन थालेको छ । उक्त सेवा तीन महिनादेखि बन्द छ ।

तीन महिनादेखि शल्यक्रिया सेवा बन्द

केन्द्रमा शल्यक्रिया सेवा बन्द हुँदा गर्भवती र सुत्केरीहरू जोखिम मोलेर काठमाडौं पुग्नुपरेको छ । सुत्केरी बेथा लागेको घण्टौंपछि स्वास्थ्य संस्थामा पुग्ने गर्भवतीहरूलाई काठमाडौंसम्म लैजाँदा बाटैमा ज्यान जाने जोखिम बढेको छ ।

मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशवराज फुयालका अनुसार गत असारसम्म केन्द्रमा शल्यक्रियामार्फत सुत्केरी गराइँदै आइएको थियो । जसका लागि विशेषज्ञ चिकित्सकलाई करारमा खटाइएको थियो । करार अवधि पूरा भएपछि चिकित्सक मन्थली छोडेपछि सेवा ठप्प भएको हो । चिकित्सक नभएपछि एनेस्थेसियोलोजिस्टले समेत जागिर छोडेका थिए ।

शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा पुन: सुरु गर्न मन्थली नगरपालिकाले चिकित्सकको खोजी गरिरहेको उनले बताए । ‘थोरै पैसामा चिकित्सक बस्न मान्दैनन्, मासिक ३ लाख रुपैयाँसम्म माग्छन्,’ उनले भने, ‘मागबमोजिमको पैसा दिन सक्ने अवस्था छैन ।’ यसअघि नगरपालिकाले मासिक डेढ लाख रुपैयाँसम्म पारिश्रमिक दिएको थियो । तर लामो समय टिक्न सकेनन् । न्यून पारिश्रमिक भएकै कारण दुर्गममा आएर शल्यक्रियाका लागि बस्न रुचाउने चिकित्सक नपाइएको हुन सक्ने उनको बुझाइ छ ।

केन्द्रमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा २०७२ को भूकम्पपछि सुरु भएको हो । हालसम्म १ सय ७१ जना गर्भवतीहरूको शल्यक्रियामार्फत जिल्लामै सुरक्षित सुत्केरी गराइएको तथ्यांक केन्द्रसँग छ । केन्द्रमा उक्त सेवा नि:शुल्क उपलब्ध थियो । जिल्ला बाहिर गएर शल्यक्रियामार्फत सुत्केरी गराउँदा कम्तीमा ५० हजार रुपैयाँ खर्च लाग्ने फुयालको अनुमान छ ।

मन्थली नगर प्रमुख रमेशकुमार बस्नेत केन्द्रमा शल्यक्रियामार्फत सुत्केरी गराउन सकियो भने अकालमा आमा र शिशुको ज्यान जाने जोखिम कम हुने बताउँछन् । ‘मैले महिनौंदेखि उक्त सेवाका लागि चिकित्सक खोजिरहेको छु,’ उनले भने, ‘चिकित्सक हुनासाथ सेवा सञ्चालन गर्न कुनै समस्या छैन । नगरपालिकाकै स्रोतबाट सेवा सञ्चालनको तयारी गरेका छौं ।’

शल्यक्रियामार्फत सुत्केरी सेवा जिल्लाका अन्य अस्पतालमा उपलब्ध छैन । जिल्ला अस्पताल र निजी अस्पतालमा समेत शल्यक्रिया सुविधा नभएको रामेछापमा केन्द्रले उक्त सेवा दिँदै आएको थियो ।

प्रकाशित : आश्विन १५, २०७७ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?