१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

डा.केसीलाई सत्याग्रह तोड्न सरकारको आग्रह

'पूरा भइसकेका विषयलाई माग बनाएर दबाब नदिनुस्'
कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनमा बसेका डा. गोविन्द केसीका अधिकांश माग पूरा हुने चरणमा रहेको भन्दै सत्याग्रह तोड्न आग्रह गरेको छ ।

डा.केसीलाई सत्याग्रह तोड्न सरकारको आग्रह

बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सत्याग्रहमा बसेका डा. केसीले राखेका चिकित्सा शिक्षा सुधारको सबै माग पूरा हुने चरणमा रहेकोले सत्याग्रह तोडन आग्रह गरेका हुन् ।

डा. केसी चिकित्सा क्षेत्रको माग गर्दै केही दिनदेखि जुम्लाबाट सत्याग्रह सुरु गर्दै अहिले काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा छन् । मन्त्री ज्ञवालीले डा. केसीले उठाएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताए ।

डा. केसीको माग अनुसार चिकित्सा शिक्षा सम्बन्धी ऐन बनाई त्यसको आधारमा उच्चस्तरीय आयोग निर्माण गरिसकेको पनि उनले बताए । त्यस्तै चिकित्सा शिक्षाका लागि गत आर्थिक वर्षमा ७५ प्रतिशत छात्रवृति कार्यान्वयनमा आइसकेको पनि मन्त्री ज्ञवालीले बताए ।

मन्त्री ज्ञवालीले सातवटै प्रदेशमा सरकारी तवरबाट मेडिकल कलेजहरु खोल्न राखेको माग अनुसार सबै प्रदेशमा मेडिकल कलेज सञ्चालनमा आउन लागेको पनि बताए । अन्य विषयमा पनि सरकारले आफ्नो साधन स्रोतले भ्याएसम्म प्रयत्न गरिरहेको पनि उनले बताए ।

पीसीआर परीक्षण बढाउनुपर्ने मागमा पनि सरकारले परीक्षणको दायरालाई बढाई हाल सम्म १० लाख बढीको परीक्षण भइसकेकाले केभिडको महामारीको अवस्थामा पूरा भइसकेका विषयलाई माग बनाएर दबाब नदिन मन्त्री ज्ञवालीले आग्रह गरे ।

प्रकाशित : आश्विन १५, २०७७ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?