जब भयो बाघसित आमने–सामने...

टर्च बालेर मध्यराति खोज्न गएका गाउँलेले रातिको जम्काभेटमै शंका गरिसकेका थिए– संगम पक्कै बाघको आक्रमणमा परेको हुनुपर्छ । भोलिपल्ट ठूलो जत्था जंगल छिर्दा पनि बाघले शव सजिलै छाड्दै छाडेन । घिसार्दै अघिअघि कुद्‍यो, टोलीले पछ्याइरह्यो ।
शिव पुरी

रौतहट — चन्द्रपुर–६ का २७ वर्षीय संगम भण्डारी साथीसँग घाँस काट्न सधैंजसो जंगल जान्थे । मंगलबार दिउँसो पनि चार जना साथीसँग घाँस ल्याउन जंगल पसे । चारै जनासँग साइकल थियो । गाउँबाट झन्डै ७ किलोमिटर पश्चिम तुरतुरेधारा नजिक घनाजंगलमा घाँस खोज्ने क्रममा संगम हराए ।

जब भयो बाघसित आमने–सामने...

राति अबेरसम्म घर फर्किएनन् । उनलाई खोज्न गएका गाउँलेहरू बाघको आमनेसामने परे । केही त आक्रमणमै परे । रूख चढेर ज्यान जोगाउँदै जंगलबाट भागेर घर आए । तर, संगम फेला परेनन् ।

बाख्राका लागि घाँस लिन भनेर साथीहरू हरि खड्का, गुन्ज रानामगर र सुदीप थापालाई साथै लिएर संगम साइकलमा जंगल छिरेका थिए । चारै जना लमाह जंगलको बीचभागमा पर्ने तुरतुरेधारा क्षेत्रनजिक पुगे । गाउँबाट झन्डै ८ किलोमिटर पश्चिम पर्छ, त्यो जंगल । हरि, सुदीप, गुन्जेश्वर एकातिर र संगम खोल्सा तरेर पारि गए । अरू साथीहरू वारि नै घाँँस काट्न थाले ।

चारै जनाले बाटोमै साइकल राखेका थिए । साँँझ हुन थालेपछि तीन जना घाँँस बोकेर साइकल भएको ठाउँमा भेला भए । तर संगम भने आएनन् । उनीहरू त्यहीं कुरेर बसे । खोल्सा पारिबाट अचानक ‘ऐय्या’ भन्ने आवाज सुनियो । बाहिर भएका साथीहरूले जोडले कराए– ‘संगम...संगम ।’ जंगलभित्रबाट कुनै आवाज आएन । सुदीप भन्छन्, ‘साँझ झमक्कै भएकाले भित्र पस्ने हिम्मत भएन ।’

संगमलाई खोज्न जाँदा बाघको आक्रमणमा परी घाइते भएका प्रविन श्रेष्ठ र अशोक थापा तस्बिर : शिव पुरी/कान्तिपुर

तीनै जना घर फर्केर संगम हराएको अभिभावकलाई सुनाए । संगमको साइकल पनि साथीले नै ल्याए । गाउँँमा हल्लीखल्ली भयो । संगमलाई खोज्न तीन जना साथी र दाजु सजीवसहित १४/१५ जना गाउँले हातमा हसियाँँ बोकेर टर्चलाइट बाल्दै राति नै जंगल छिरे । बाटो बिराएर संगम अलपत्रमा परेको हुन सक्ने सबैले अनुमान गरेका थिए । खोजी गर्ने टोली संगमले खोल्सा तरेकै स्थानमा पुग्यो । रातिको ९ बजेको थियो । एउटा समूह पछाडि टर्च बालेर हेर्दै थियो । अगाडि समूहको अग्रपंक्तिमा प्रवीन श्रेष्ठ, मेघराज थापा, संगमका दाजु सजीव भण्डारी र अशोक थापा थिए । उनीहरू चारैतिर टर्च बालेर होहल्ला गर्दै थिए ।

अचानक पाटेबाघले प्रवीनमाथि आक्रमण गर्‍यो । उनी घाइते भए । बाघको पन्जाले चिथोरेर प्रवीनको गाला र छातीमा चोट लाग्यो । तर, उनले हिम्मत हारेनन् । उनी निकै बलिया भएकाले प्रतिकार गर्न सके । त्यसपछि सबै होहल्ला गर्न थाले । बाघले सँगै रहेका अशोक थापालाई पनि आक्रमण गर्‍यो । उनलाई दुवै हात र काखी छेउमा चोट लाग्यो । ज्यान जोगाउन रूख चढ्न थाले ।

प्रवीन, अशोक र सजीव पनि रूख चढ्न भ्याए । तल रहेका मेघराजले बाघको आँखामा एकोहोरो टर्च बाल्न थाले । बाघ डेग चलेन । त्यसपछि उनी पनि बिस्तारै रूख चढे । खोल्सावारि भएकाहरू सबै पहिले नै भागिसकेका थिए । ‘तलै बसेको भए मलाई बाघले निल्थ्यो,’ मेघराजले रातिको घटना सुनाउँँदै भने, ‘बाघको आमनेसामने हुँदा होस उडेको थियो । तर धैर्य गुमाइनँ । नत्र सिध्याउँँथ्यो ।’

उनले टर्च झिमिक्क नपारी बाघको आँखामा बाली रहे । अनि बिस्तारै रूख चढेर ज्यान जोगाएको सुनाए । बाघ केही पर सरेपछि उनीहरू रूखबाट हाम्फालेर भागे । राति झन्डै सवा १२ बजे खोजीमा गएकाहरू घर फर्केका थिए । तर संगम भने फेला पार्न सकेनन् ।

बुधबार बिहान इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई संगम हराएको र खोज्न जाँदा बाघको आक्रमणमा परेको खबर गरे । त्यसपछि सशस्त्र, नेपाल प्रहरी, डिभिजन वन कार्यालयबाट सशस्त्र वन रक्षक, साझेदारी वनका प्रतिनिधि र स्थानीय गरी करिब सय जनाको जत्था संगमलाई खोज्न जंगल पसे । लमाहाबाट छिरेको टोलीको साथमा राति आक्रमणमा परेका मेघराज पनि थिए ।

उनले आक्रमण भएको स्थानमा पुर्‍याए । त्यहाँ संगमको चप्पल फेला पारे । त्यसपछि टोली खोजीमा जुट्यो । केही पर भुइँमा रगतको टाटो देखियो र त्यसैको नजिक संगमको सर्ट फेला पर्‍यो । उनी जीवित छैनन् भन्ने सबैले शंका गरे । अघिल्लो समूहमा रहेका गाउँँले र सुरक्षाकर्मीले बाघ घुरेको र शव गन्हाएको थाहा पाए ।

त्यसपछि सबै होहल्ला गर्दै अघि बढे । बाघले संगमलाई घिसार्न थाल्यो । घनाजंगलमा उनलाई घिसारेको आवाज र बाघ कराएको प्रस्टै सुनिन्थ्यो । गाउँँलेले हतियारधारी सुरक्षाकर्मीलाई अघि सारे । पिछा गर्ने क्रम बढ्यो । घनाजंगल भएकाले साना अवरोध पन्छाउँँदै टोली बाघ पछ्याउँदै अघि बढ्यो । झन्डै एक किलोमिटर परसम्म घिसार्दै लगेपछि मानिसको होहल्लाले डराएर बाघले शव छाडेर भाग्यो । सुरक्षाकर्मीले बाघ फर्केर आउन सक्ने भन्दै एरिया कभर गरेर गाउँँलेलाई छिटोछिटो शव उठाउन भन्यो । बाघले घिसार्ने क्रममा शरीरका अंगका टुक्रा यत्रतत्र छरिएका थिए । अन्य भाग पनि बीभत्स भइसकेको थियो । उनको देब्रे खुट्टा र कोखामुनिको भाग बाघले सबै खाइसकेको थियो । शव गन्हाउन थालेको थियो ।

‘राम्रो घाँसका लागि अलि भित्र जानुपर्छ भन्थ्यो,’ कान्छा छोरालाई सम्झँदै श्याम भण्डारीले भने, ‘कहिले नफर्किने गरी जंगलमै प्राण त्याग्यो ।’ संगमको शवलाई पोस्टमार्टमपछि बुधबार दिउँसो दाहसंस्कार गरियो ।

चन्द्रपुर–६ स्थित तुरतुरेधारा क्षेत्र बाघको बासस्थान हो । २५ वर्षअघि यस क्षेत्रमा गाईबस्तुमाथि आक्रमण गरेर बाघले हैरान पार्थ्यो । बिस्तारै पशु पाल्ने चलन पनि घट्यो । त्यसयता बाघ पनि देखिन छाडेको स्थानीय प्रह्लाद थापाले बताए । ‘पहिला यही जंगलमा बाघले गाईभैंसी, गोरु खाएर हत्तु पार्थ्यो,’ उनले भने, ‘पछिल्लो दुई दशकमा पाटे बाघ देखिन छाडेको थियो । अहिले फेरि देखियो ।’

प्रकाशित : आश्विन १५, २०७७ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?