डा. केसीको स्वास्थ्य जटिल बन्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खस्कँदै गएको छ । उनी ६ बुँदे माग राखेर १७ दिनदेखि अनशनरत छन् । उपचारमा संलग्न मेडिकल टिमद्वारा जारी पछिल्लो स्वास्थ्य बुलेटिनअनुसार उनलाई धड्कन गडबड, छाती दुखाइ, थकाइ, चक्कर आउनेलगायतका समस्या देखिएको छ ।

डा. केसीको स्वास्थ्य जटिल बन्दै

डा. केसीको रगतमा ग्लुकोजको मात्रा धेरै कम छ भने ‘सिरम इलेक्ट्रोलाइट्स’ समेत गम्भीर रूपमा घटेको छ । रगतमा सेतो रक्त कणिकाको संख्या कम भएकाले संक्रामक रोगको जोखिम उच्च छ । जुम्लामा १९ औं सत्याग्रह थालेका डा. केसी ८ दिनअघि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका हुन् ।

नेपाल चिकित्सक संघले अनशनरत डा. केसीको जीवनरक्षा गर्न सरकारसँग आग्रह गरेको छ । संघले वार्ताका लागि सहजीकरण गर्न तयार रहेको जनाउँदै सरकारसँग वार्ता टोली गठन गर्न पनि माग गरेको छ । संघले बुधबार विज्ञप्ति जारी गर्दै सार्थक वार्ता गरी समस्याको यथाशीघ्र समाधान निकाल्नुपर्नेमा जोड दिएको छ ।

१८ पटकसम्मको सत्याग्रहका बेला भएका सम्झौता कार्यान्वयनकै माग डा. केसीले उठाएकाले ती सरकारकै अंगका रूपमा स्थापित भइसकेको संघले जनाएको छ । गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा नागरिकको सहज पहुँचका लागि गरिएको सत्याग्रहको मर्मलाई सम्मान गर्न पनि संघले सरकारलाई आग्रह गरेको छ ।

प्रकाशित : आश्विन १५, २०७७ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?