राजकुमार चेपाङ मृत्यु प्रकरण : आरोपित सैनिक पक्राउ

रमेशकुमार पौडेल

चितवन — चितवन राष्ट्रिय निकुञ्जको निषेधित क्षेत्रभित्र प्रवेश गरेका स्थानीय एक युवकलाई नियन्त्रणमा लिएर कुटपिट गर्दा मृत्यु भएको आरोपमा चितवन प्रहरीले नेपाली सेनाका हुद्दालाई पक्राउ गरेको छ । बयानमा झूटो बोले–नबोलेको पत्ता लगाउन उनको पोलिग्राफ टेस्टसमेत भइसकेको छ ।

राजकुमार चेपाङ मृत्यु प्रकरण : आरोपित सैनिक पक्राउ

चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नान्तीराज गुरुङले युवकको कुटपिटपछि मृत्यु प्रकरणमा अनुसन्धान गर्न नेपाली सेनाका हुद्दा चिरणकुमार बुढालाई पक्राउ गरिएको बताए । बर्दियाको गेरुवा–५ घर भएका बुढा असोज ४ मा पक्राउ परेका हुन् । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न चितवन जिल्ला अदालतले १५ दिनको म्याद दिएको छ । ‘मृतकका बुबाले दिएको किटानी जाहेरीका आधारमा आरोपितलाई समाएर अनुसन्धान सुरु गरेका छौं । अदालतले स्वीकृति र व्यक्तिले अनुमति दिएसम्मका सबैखाले विधि प्रविधि अपनाएर अनुसन्धान गरिरहेका छौं,’ एसपी गुरुङले भने ।

प्रहरी कार्यालय स्रोतले आरोपित बुढालाई सोधपुछका क्रममा मंगलबार पोलिग्राफ टेस्ट गरेको जानकारी दिएको छ । तर एसपी गुरुङले यसबारेमा प्रस्ट बताएनन् ।

राप्ती नगरपालिका–२, पिप्लेस्थित मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको सैनिकको कुटपिटपछि मृत्यु भएको थियो । राजकुमारसहित मिलन टोलका ७ जना निउरो, अमिलो, खोलामा घोंगी टिप्न भन्दै साउन १ को दिउँसो घरदेखि हिँडेका थिए । राप्ती खोला तरेर चितवन निकुञ्जको सिमानाभित्र रहेको ज्युँडी खोलामा घोंगी टिप्दै गर्दा निकुञ्जको सुरक्षाका लागि खटिएका एक सैनिकले उनीहरूलाई पक्राउ गरेका थिए । हिरासतमा लिई कुटपिट गरिएपछि बिरामी भएका राजकुमारको सात दिनपछि उपचारका लागि भरतपुर अस्पताल लैजाँदा निधन भएको थियो ।

राजकुमारका बुबा विष्णुलालले कुटपिटमा संलग्नलाई कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा साउन ९ मा उजुरी दिएका थिए । उनले भदौ २५ मा छोरालाई कुटपिट गर्ने व्यक्तिको नाम नै किटान गरेर फेरि अर्को जाहेरी दिएका थिए । किटानी जाहेरीमा ‘बटुक दल गणको अपरेसनल अन्डर कमान्ड सिद्धिबक्स गणको प्यारीधाप गुल्मको लिगलिग पोस्टमा कार्यरत हुद्दा वर्ष ४० का चिरणकुमार बुढाले छोरालाई कुटपिट गरेको’ उल्लेख छ । जाहेरी परेको १० दिनपछि प्रहरीले आरोपितलाई पक्राउ गरेको हो । प्रहरीले राजकुमारको पोस्टमार्टम, भिसेरा परीक्षण र रगत परीक्षण रिपोर्ट प्राप्त भएपछि आरोपितलाई पक्राउ गरेको हो ।

निकुञ्‍जमा सैनिकले पिटेका युवकको मृत्यु

राजकुमारसहित निकुञ्ज छिरेका ७ जनामध्ये २ महिलाबाहेक अन्यले पनि कुटाइ खाएका थिए । कुटाइ खाएका भनिएका अन्य घाइतेको घाउजाँच प्रतिवेदन पनि तयार गरेको प्रहरीले जनाएको छ ।

राजकुमारको मृत्युपछि नेपाल चेपाङ संघले दोषीलाई कारबाही र परिवारलाई राहतको माग राखेर आन्दोलन घोषणा गरेको थियो । त्यसपछि दोषी पत्ता लगाएर कारबाही गर्ने र राहत दिन प्रशासन तयार भएको थियो । प्रशासनको भूमिका चित्तबुझ्दो नभएको भन्दै राजकुमारको परिवारले शव बुझ्न इन्कार गरेको थियो । पोस्टमार्टम काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा भएको थियो । जिल्ला प्रशासन कार्यालयमा वार्ता भएर १० लाख रुपैयाँ राहत दिने र कारबाही अघि बढाउने प्रतिबद्धता भएपछि मात्रै परिवारले शव बुझेर साउन १८ मा सद्गत गरेको थियो ।

कारबाही थाल्दा राहतमा आनाकानी !

राहत रकममध्ये किरिया खर्च भनेर तत्काल एक लाख रुपैयाँ चितवन निकुञ्जको लोथर मध्यवर्ती उपभोक्ता समितिले दिएको थियो । निकुञ्जबाट अरू पैसा नपाएको विष्णुलालले बताए । राहतको १० लाख रुपैयाँमध्ये ७ लाख निकुञ्ज र ३ लाख रुपैयाँ राप्ती नगरपालिकाले दिने सहमति भएको थियो । नगरपालिकाबाट ३ लाख रुपैयाँ भने परिवारले पाएको छ ।

राप्ती नगर प्रमुख प्रभा बरालले १० दिनअघि मृतकको परिवारलाई राहत रकम दिएको बताइन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले स्रोत खोजी भइरहेकाले समय लागेको बताए । निकुञ्ज स्रोतका अनुसार परिवारले कारबाही प्रक्रिया अगाडि बढाएपछि निकुञ्जबाट राहत दिन आनाकानी हुँदै आएको छ ।

प्रशासनमा भएको सहमतिपछि सद्गत र मृत्यु संस्कार सकेर छोराको मृत्यु दर्ता, बुहारीको नागरिकता, बिहे दर्ता, नातिनीको जन्मदर्ता र नाता प्रमाणित गरेर बैंकमा खाता पनि खोलेको विष्णुलालले बताए । ‘ठूला मान्छेहरू बसेर गरेको निर्णय हो । कारबाही पनि हुन्छ, राहत पनि आउँछ भनेर विश्वास गरेका छौं,’ विष्णुलालले भने ।

प्रकाशित : आश्विन १५, २०७७ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?