१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

राजेन्द्रले त्रिशूल र घनले हानेर सम्झनाको हत्या गरेको स्विकारे : प्रहरी

वसन्तप्रताप सिंह

बझाङ — आफन्त र परिवारका सदस्यले सदरमुकाम चैनपुर नजिक सेती नदी बाहुलीगाडको दोभानमा सम्झनाको बुधबार अन्तिम संस्कार गरेका छन् । दोषीलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नुपर्ने माग राख्दै परिवारले शव बुझ्न मानेको थिएन ।

राजेन्द्रले त्रिशूल र घनले हानेर सम्झनाको हत्या गरेको स्विकारे : प्रहरी

प्रहरीले मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै अभियुक्त सार्वजनिक गरेको थियो । सम्झनालाई श्रद्धाञ्जली दिन जिल्लास्थित राजनीतिकर्मी, मानवअधिकारकर्मी र दलित अधिकारको क्षेत्रमा काम गर्ने व्यक्ति तथा संघसंस्थाका प्रतिनिधि सेती दोभान पुगेका थिए ।

छोरीको हत्याको घटना सुनेर आइतबार मात्रै भारतबाट बझाङ आइपुगेका विकास कामी भने कोरोना संक्रमित भएका कारण अन्तिम बिदाइमा सहभागी हुन पाएनन् । उनी सदरमुकामस्थित एक घरमा आइसोलेसनमा छन् । अन्त्येष्टिपछि भावविह्वल बनेका हजुरबुबाले आफूले दुःख गरेर हुर्काएकी नातिनीको जीवन समाप्त पार्नेलाई फाँसीको सजाय दिएमात्रै सम्झनाको आत्माले शान्ति पाउने बताए ।

यसैबीच हत्याको आरोपमा पक्राउ परेका मस्टा गाउँपालिका–२ खिकालाका राजेन्द्र बोहराले अपराध स्वीकार गरेका छन् । गत बुधबार सोही ठाउँकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको थियो । त्यही दिन पक्राउ परेका बोहराले आठ दिनपछि बुधबार प्रहरीसामु हत्या स्विकारेका हुन् ।

गोठ हिँडेकी सम्झनालाई खिकाला गाउँबाट १५ मिनेट टाढा रहेको सिमथला जंगलबाट नियन्त्रणमा लिएर बलात्कारपछि हत्या गरेको उनले साविती बयान दिएको प्रहरीले जनाएको छ । ‘सुरुमा फकाएर मन्दिरतर्फ लगेको र सम्झनाले मन्दिरभित्र जान नमानेपछि उनले बोकेको डोको, नाम्लो र हँसिया थुतेर फालिदिएको रहेछ,’ प्रहरी स्रोतले भन्यो, ‘त्यसपछि लछारपछार गर्दै मन्दिरभित्र लगेर बलात्कार गरेछ ।’ बलात्कारका क्रममा सम्झनाले सक्दो प्रतिकार गरेको र गाउँका सबैलाई भनिदिन्छु भनेपछि पोल खुल्ने डरले हत्या गरेको बोहराले बयानमा बताएका छन् । उनले मन्दिरभित्र रहेको त्रिशूल र घनले हानेर हत्या गरेको प्रहरीसमक्ष स्विकारेका छन् । प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएका हतियार बरामद गरिसकेको छ ।

अभियुक्तकी आमाको पीडा : ‘मेरा दसधारा दूध खड गया’

‘सुरुमा ढुंगाले टाउकोमा हानें । टाउकाको चोटले सम्झना ढलेपछि मन्दिरभित्र रहेको त्रिशूल ल्याएर पिठ्युँमा घोपेको हुँ,’ बोहरालाई उद्धृत गर्दै बयानमा संलग्न एक प्रहरीले भने, ‘त्रिशूलले घोपेपछि ऊ झन् छटपटाउन थाली । त्यसपछि फेरि घनले टाउकोमा हानें ।’ मन्दिरको शौचालय र गोलघरको निर्माण कार्य भइरहेकाले घनलगायतका सामान त्यहीं राखिएको र बोहराले त्यसैको प्रयोग गरेको प्रहरीको भनाइ छ ।

गत साउनमा पनि बोहराले पानीघट्टमा अर्की १३ वर्षीया बालिकालाई बलात्कार गरेको सार्वजनिक भइसकेको छ । घटनापछि मिलापत्र भएको र पुनः यो घटना पनि बाहिर आएपछि झन् तनाव हुने सोचले आफू सम्झनालाई मार्ने मनसायमा पुगेको उनले प्रहरीसमक्ष बताएका छन् । बोहराले सम्झनाको हत्या गरिसकेपछि मन्दिरभन्दा ५ मिनेट टाढा गाउँतर्फ गएर ओखर टिपेर खाएको र खोला किनारमा गएर बालुवामा सायरीसमेत लेखेको बताएका छन् ।

कसैले सोध्यो भने ‘ओखर खान गएको थिएँ’ भनेर बहाना बनाउने सोचेको उनको भनाइ छ । अन्य सबुत प्रमाणका आधारमा बोहरा नै हत्यारा हो भन्ने निष्कर्षमा प्रहरी पुगे पनि उनले अपराध स्वीकार नगरेका कारण जिल्लावासीले अनुसन्धानमा शंका गरेका थिए । मंगलबार भएको सर्वपक्षीय बैठकमा पनि उनको पोलिग्राफ र डीएनए परीक्षण गर्नुपर्ने माग उठेको थियो ।

त्यसैले प्रहरी बोहरालाई सावित गराउनुपर्ने वा वैज्ञानिक परीक्षण गरेर अपराध पुष्टि गर्नुपर्ने दबाबमा थियो । ‘हामी त ऊभन्दा अर्को अपराधी हुनै सक्दैन भन्नेमा पहिले नै ढुक्क थियौं,’ जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी रूपक खड्काले भने, ‘उसले अपराध स्वीकार नगरेका कारण आम मान्छेमा शंका उठ्नु स्वाभाविकै हो । अब उसले अपराध स्वीकार गरिसकेको छ ।’ उनलाई सावित गराउन प्रहरीले यसअघि प्रयोगमा ल्याएका धेरै जुक्ति र प्रविधि प्रयोग गर्नुपरेको डीएसपी खड्काले जानकारी दिए । ‘घटनालगत्तै अपराधी पक्राउ गर्नेदेखि साविती बयान गराउनसम्म प्रहरी हेडक्वार्टर, प्रदेश र जिल्लाको टिमको संयुक्त प्रयासले समयमै दोषी पत्ता लगाउन सफल भयौं,’ उनले भने, ‘केही दिनभित्रै अनुसन्धान सकेर अदालतमा मुद्दा दर्ता गर्छौं ।’

यसैबीच, गृह मन्त्रालयले सम्झनाको परिवारलाई १० लाख राहत दिने निर्णय गरेको मौखिक जानकारी आएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीका अनुसार सम्झनाको परिवारलाई राहत उपलब्ध गराउने विषयमा सुदूरपश्चिम प्रदेश सरकार पनि छलफलमा रहेको छ ।

सम्बन्धित समाचार

प्रकाशित : आश्विन १५, २०७७ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?