आठ दिनपछि सम्झना कामीको अन्त्येष्टि

वसन्तप्रताप सिंह

बझाङ — बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया बालिका सम्झना कामीको आठ दिनपछि अन्त्येष्टि गरिएको छ । सम्झनाका गाउँले र परिवारका सदस्यले सदरमुकाम चैनपुर नजिक सेती नदी र बाहुलीगाडको दोभानमा सम्झनाको शव गाडेर अन्तिम संस्कार गरेका हुन् ।

आठ दिनपछि सम्झना कामीको अन्त्येष्टि

प्रहरीले अपराधीलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नु पर्ने माग राख्दै परिवारले सम्झनाको शव बुझ्‍न मानेका थिएनन् । परिवारको माग बमोजिम प्रहरीले मंगलबार साँझ पत्रकार सम्मेलन गदै अभियुक्त सार्वजनिक गरेको थियो ।

सम्झनालाई श्रद्धाञ्जली दिन जिल्लास्थित राजनीतिकर्मी, मानव अधिकारकर्मी र दलित अधिकारको क्षेत्रमा काम गर्ने व्यक्ति तथा संघ-संस्थाका प्रतिनिधिहरु सेती दोभान पुगेका थिए । छोरीको हत्याको घटना सुनेर आइतबार मात्रै भारतबाट बझाङ आइपुगेका मृतकका बाबु विकास कामी भने कोरोना संक्रमित भएका कारण छोरीको अन्तिम बिदाइमा सहभागी हुन पाएनन् । उनी सदरमुकामस्थित एक घरमा आइसोलेसनमा रहेका छन् । सम्झनाका बाजेले नातिनीको जीवन समाप्त पार्नेलाई फाँसीको सजाय दिए मात्रै सम्झनाको आत्माले शान्ती पाउने बताए ।

यसैबीच गृह मन्त्रालयले सम्झनाको परिवारलाई १० लाख राहत दिने निर्णय गरेको मौखिक जानकारी आएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीका अनुसार सम्झनाको परिवारलाई राहत उपलब्ध गराउने विषयमा सुदूरपश्चिम प्रदेश सरकार पनि छलफलमा रहेको छ ।

असोज ७ गते घरबाट गोठ हिँडेकी माष्टा गाउँपालिका २ खिकालाकी सम्झना कामीलाई सोही गाउँको सिम मन्दिरमा बलात्कारपछि हत्या गरिएको थियो । उनको हत्यामा संलग्न रहेको आरोपमा खिकाला कै राजेन्द्र बोहरालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनले अपराधमा संलग्न रहेको कुरा पनि स्विकार गरिसकेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्ः

६ दिनसम्म उठेन सम्झनाको शव

प्रकाशित : आश्विन १४, २०७७ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?