कालोबजारी गर्नेलाई कारबाही गर्न महानगरको सिफारिस

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाले कालोबजारी गर्ने २६ वटा पसललाई कारबाही गर्न सिफारिस गरेको छ ।

कालोबजारी गर्नेलाई कारबाही गर्न महानगरको सिफारिस

महानगरपालिकाले विगत २२ दिनमा गरेको बजार अनुगमनमा कालोबजारी गर्ने २६ वटा पसलहरु भेटिएकाले ती पसलहरुलाई कारबाही गर्न सिफारिस गरेको हो । कोरोना महामारीको मौका छोपेर व्यापारीहरुले उपभोक्ता ठग्‍ने गरेको गुनासो आएपछि अनुगमन गरेको महानगरले उपत्यकाभित्रका विभिन्न २२ वटा पसल सञ्चालकलाई कारबाही गर्न वाणिज्य, आपूर्ति तथा उपोभोक्ता संरक्षण विभागलाई सिफारिस गरेको हो ।

महानगरपालिकाले काठमाडौंको मुख्य तरकारी तथा फलफूल बजार क्षेत्र कालिमाटी, बल्खु, नक्साल, तीनकुने, मनोहरा, माछापोखरी र कुलेश्वरमा अनुगमन गरेको थियो । साथै, दाल चामल लगायताका ठूला खाद्यान्नका गोदाममा समेत अनुगमन गरेको थियो ।

यसरी गरिएको अनुगमनको क्रममा महानगरपालिकाले १ सय २९ मध्य २६ वटा उपोभोक्ता ठगी गर्ने पसललाई १२ लाख ८७ हजार रुपैयाँ आर्थिक जरिवाना गराइ कारवाही गर्न विभागलाई सिफारिस गरिएको उपमेयर खड्कीले जानकारी दिइन् ।

उपमेयर खड्कीले अनुगमनको क्रममा म्याद गुज्रिएको सामान बेच्‍ने ११ वटा पसलबाट करिब ११ लाख रुपैयाँ बराबरको सामान बरामद गरी नष्ट गरेको पनि बताइन् । यस्तै, खुद्रा व्यापार गर्ने ७३ वटा पसललाई ७ दिनभित्र दर्ता प्रकियामा आउन निर्देशन दिएको समेत उनले बताइन् ।

उपमेयर खड्कीले २२ दिनको अवधिमा मूल्य र गुणस्तरमा उपोभोक्ता ठगी गर्ने कालीमाटी तरकारी तथा फलफूल बजारका २ र बल्खू तरकारी तथा फलफूल बजारका २ गरी ४ जना व्यापारी कालोबजारीको कसुरमा न्यायिक हिरासतमा रहेको पनि बताइन् । उनीहरुले ४६ रुपैयाँमा खरिद गरेको प्याज कृत्रिम अभाव सृजना गरी १ सय ३० रुपैयाँमा बिक्रीवितरण गरेको उनले बताइन् ।

प्याजमा कृत्रिम अभाव सृजना गरी कालाबजारी गर्ने व्यापारीहरुले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई समेत ठगी गरेका थिए । उनीहरुबाट बरामद गरिएको १३ हजार २ सय ६८ किलो प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत प्रति केजी ६० रुपयाँको दरले प्रति व्यक्ति ३ किलोसम्म खरिद गर्न पाउने गरी बिक्री गरेको थियो ।

प्रकाशित : आश्विन १४, २०७७ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?