२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बाघको आक्रमणबाट रौतहटमा एक युवकको मृत्यु 

सँगै घाँस काट्न गएका साथी भन्छन्, ‘बाघको आँखामा एकोहोरो टर्चलाईट बालेर रुखमा चढेर बस्यौं । लामो समयपछि बाघ पछि हट्यो र हामी रुखबाट हाम फालेर भाग्यौं ।’
शिव पुरी

रौतहट — रौतहटको चन्द्रपुर नगरपालिका-६  चिम्‍निटोलका २७ वर्षीय संगम भण्डारीको शव बाघले खाएको अवस्थामा फेला परेको छ । मंगलबार साँझ साथीहरुसँग घाँस काट्न भनेर जंगल गएका भण्डारी बेपत्ता भएका थिए ।

बाघको आक्रमणबाट रौतहटमा एक युवकको मृत्यु 

सुरक्षाकर्मी र स्थानीयले खोजतलास गर्ने क्रममा चारकोसे झाडीभित्र जंगलमा बाघले भण्डारीको शवलाई घिसारे आधा खाएको अवस्थामा बुधबार फेला पारेको हो ।

गाउँकै प्रविन श्रेष्ठ र अशोक थापासहित ४ जना घाँस काट्न जंगल गएका थिए । लमाह जंगलस्थित तुरतुरे धारा नजिक संगम अचानक हराएका थिए । त्यसपछि राति थापा र श्रेष्ठसहित १४/१५ जना गाउँले खोज्‍न गएका थिए । संगम हराएकै स्थानमा खोज्‍न गएको टोलीमाथि राति करिब ९ बजे बाघले अचानक आक्रमण गरेको थियो ।

संगमलाई खोज्न जाँदा बाघको आक्रमणमा परी घाइते भएका प्रविन श्रेष्ठ र अशोक थापा तस्बिर : शिव पुरी/कान्तिपुर

बाघले चिथोरेर प्रविन र अशोकको दुवै कान, छाती, गालामा चोट लागेको छ । ‘हामी रुखमा चढेर ज्यान जोगाउन सफल भयौं,’ प्रविनले भने, ‘बाघको आँखामा एकोहोरो टर्चलाईट बालेर रुखमा चढेर बस्यौं । लामो समयपछि बाघ पछि हट्यो र हामी रुखबाट हाम फालेर भाग्यौं ।’

संगमलाई फेला पार्न नसकेपछि बिहान नेपाल प्रहरी,सशस्त्र प्रहरी, सशस्त्र वनरक्षक, साझेदारी वनको टोली र स्थानीय गरी झण्डै एकसयको संख्यामा खोज्न जंगल गएको थियो ।

राति गाउँलेमाथि आक्रमण गरेकै स्थानमा रगतका टाटा फेला पारेपछि पछ्याउँदै जाने क्रममा बाघले संगमलाई घिसार्दै लगिरहेको थियो । सुरक्षाकर्मी र गाउँलेको टोली होहल्ला गर्दै पिछा गरेपछि घटनास्थलबाट झण्डै एक किलोमिटर उत्तर लमाह खोला नजिक शव छाडेर बाघ भागेको थियो ।

बाघले उनको देब्रे खुट्टा खाइसकेको थियो । राति आक्रमण गर्ने पाटे बाघ रहेको घाइते प्रविनले जनाए ।

प्रकाशित : आश्विन १४, २०७७ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?