२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

उपचार शुल्क तिर्न नसक्दा २ महिनादेखि अस्पतालमै

भारतमा कोरोनाको त्रासले स्वदेश फर्कंदा दुर्घटनामा परेका दलित दम्पती घर जान पाएनन्
हरिराम उप्रेती

गोरखा — दुई महिनाअघि नै डिस्चार्जको तयारी गरिएका गोरखाका एक दम्पतीले बिल तिर्न नसक्दा अस्पताल छाड्न पाएका छैनन् । सहिद लखन–२, आरुबोटका २९ वर्षीय रवि नेपाली र उनकी पत्नी सानुमाया यसरी बस्नुपरेको हो । रोजगारीका लागि भारत पुगेका दम्पती कोरोना त्रासबीच स्वदेश फर्कंदै थिए ।

उपचार शुल्क तिर्न नसक्दा २ महिनादेखि अस्पतालमै

गत फागुन २५ मा भारतको लखनउमा दुर्घटनामा परेर दुवै गम्भीर घाइते भए । सानुमायाको मेरुदण्ड र देब्रे हात भाँचियो, रविको देब्रे खुट्टा । भारतमै करिब चार दिन सामान्य उपचारपछि स्वदेश फिर्ने र यतैका अस्पतालमा उपचार गर्ने भन्दै आए । आफन्तको सहारामा स्वदेश फर्किएका उनीहरू चितवनस्थित पुरानो मेडिकल कलेजमा भर्ना भए । अब अस्पतालले ‘तिमीहरू घर जान सक्छौ’ भने पनि बिल तिर्न पैसा छैन । ऋण कसैले पत्याउँदैन ।

रवि बैसाखीको सहारामा सामान्य हिँडडुल गर्न सक्ने भएका छन् । सानुमायाको जीउको भर छैन, दुवै खुट्टा चल्दैनन् । उनी अस्पतालको शय्यामै छिन् । ‘म आफैं घाइते छु, अहिले श्रीमतीलाई रुँघेर बसेको छु,’ रविले भने, ‘कमाएको पैसा उपचारमै सकियो । अझै ५/७ लाख रुपैयाँ लाग्छ भनेका छन्, त्यो पैसा बुझाउन नसक्दा श्रीमतीलाई डिस्चार्ज गर्न पाइएन ।’ दसैं मान्न जसरी पनि घर पुर्‍याइदिन सानुमाया बिलौना गर्छिन् । अस्पताल खर्च जुटाउन रविले प्रयास पनि नगरेका होइनन् । ‘गाउँको पाखोबारीको लालपुर्जा दिएर आफन्तलाई धितो राख्न बैंकमा पठाएँ । बैंकका कर्मचारीले ५० हजारसम्म दिन मिल्छ भनेछन्,’ रविले भने, ‘त्यति पैसा बिरामीलाई कुर्दा होटलमा खाएको तिर्न पनि पुग्दैन ।’

दुवैको नाजुक अवस्था थाहा पाएपछि गोरखा नगरपालिका–९, दलभन्ज्याङका राजेन्द्र सिर्मलले नेपाली दम्पतीका लागि खर्च जुटाउन सहयोग संकलन अभियान चलाएका छन् । हालसम्म करिब ३५ हजार रुपैयाँ संकलन भएको छ । ‘अस्पतालमै ५ लाख रुपैयाँभन्दा बढी चाहिने रहेछ, हामीले कहिले त्यति जुटाउन सकौंला,’ सिर्मलले भने, ‘जहिलेसम्म सक्छौं अभियान जारी राख्छौं ।’

प्रकाशित : आश्विन १४, २०७७ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?