कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

आरोपितको उमेरमा विवाद

वसन्तप्रताप सिंह

बझाङ — १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका बझाङको मस्टा गाउँपालिका–२ खिकालाका राजेन्द्र बोहराको उमेरलाई लिएर विवाद देखिएको छ । प्रहरी, अस्पताल र राजेन्द्रको आमाबाबुले फरक–फरक उमेर दाबी गरिरहेका छन् ।

आरोपितको उमेरमा विवाद

जिल्ला प्रहरी कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा राजेन्द्रको उमेर २० वर्ष उल्लेख छ । मंगलबारको पत्रकार सम्मेलनमा बझाङ प्रहरी प्रमुख डीएसपी रूपक खड्काले पनि सोही दाबी दोहोर्‍याए । राजेन्द्रका बाबु वीरबहादुर बोहराले भने छोराको उमेर १४ वर्ष भएको दाबी गरेका छन् । उनले राजेन्द्र २०६३ असोजमा जन्मिएको बताए । ‘गते र बारचाहिँ मलाई थाहा भएन,’ उनले भने ।

प्रहरीले मेडिकल प्रक्रियाबाट राजेन्द्रको उमेर पत्ता लगाउन जिल्ला अस्पताल बझाङमा उमेर अनुमान परीक्षण (एज इस्टिमेसन टेस्ट) पनि गराएको थियो । उक्त परीक्षणमा उनको उमेर १४ देखि १६ वर्ष देखिएको अस्पतालका एक डाक्टरले बताए । तर प्रहरीले विद्यालयमा पेस गरिएको जन्मदर्ताको प्रमाण नै आधिकारिक हुने बताउँदै आएको छ । ‘हामीले स्कुलको जन्मदर्ता मगाएका छौं,’ डीएसपी खड्काले भने, ‘अस्पतालको भन्दा पनि त्यो नै आधिकारिक हुन्छ ।’

गत बुधबार बलात्कारपछि हत्या गरिएको अवस्थामा मस्टा–२ की सम्झनाको शव स्थानीय शिव मन्दिरमा फेला परेको थियो । घटनामा संलग्न रहेको आरोपमा सोही दिन प्रहरीले राजेन्द्रलाई पक्राउ गरेको थियो । यो घटनापछि राजेन्द्रविरुद्ध अर्की एक बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै जाहेरीसमेत परेको छ । सोही ठाउँकी १३ वर्षीया डिलकुमारी दमाई (नाम परिवर्तन) लाई जबरजस्ती करणी गरेको आरोपमा उनीविरुद्ध जाहेरी परेको प्रहरीले जनाएको छ ।

यसैबीच, घटना भएको सातौं दिनसम्म पनि सम्झनाको शव परिवारले बुझ्न मानेको छैन । शव व्यवस्थापनका लागि मंगलबार जिल्ला प्रशासन कार्यालयमा बोलाइएको सर्वपक्षीय बैठकले समेत यस विषयमा कुनै निर्णय गर्न सकेन । बरु बैठकले अपराधीलाई कडा कारबाही गर्नुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिन प्रदेश र संघीय सरकारलाई आग्रह गर्ने निर्णय गर्‍यो ।

अपराध स्वीकार नगरेको अवस्थामा अभियुक्तको डीएनए परीक्षण गरिनुपर्ने माग बैठकमा उठेको थियो । डीएनए तथा फरेन्सिक परीक्षणका लागि संकलन गरिएका नमुनाहरू हालसम्म पनि विधि विज्ञान प्रयोगशालामा नपठाइएको बारेसमेत बैठकमा प्रश्न उठाइएको थियो ।

सम्बन्धित समाचार

प्रकाशित : आश्विन १४, २०७७ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?