बीपी प्रतिष्ठानका उपकुलपतिको राजीनामा माग- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीपी प्रतिष्ठानका उपकुलपतिको राजीनामा माग

प्रदीप मेन्याङ्बो

सुनसरी — उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले राजीनामा माग गरेका छन् । प्रतिष्ठानको चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजमा आबद्ध करिब ३ सयजना चिकित्सकहरुले उपकुलपति गिरीको राजीनामा गरेका हुन् । 

समाज प्रतिष्ठानको ३५ भन्दा बढी विभागका प्रमुख र वरिष्ठ चिकित्सकहरुको संस्था हो । समाजका महासचिव डा एसपी रिमालले भने ‘पढाउने, वैज्ञानिक अनुसन्धान गर्ने र उपचार सेवा दिने तीन प्रमुख काम गर्ने जिम्मा पाएका हामी चिकित्सकहरु प्रतिष्ठानकै हितमा कुरा गर्छौं । हामीले भनेको, सुझाएको सामान्य माग पनि सम्बोधन गर्न नमानेकाले राजीनामा माग गरेका हौं ।’ रातदिन काम गरिरहेका फ्याकल्टी शिक्षक चिकित्सकहरुको अढाई वर्षदेखि बढुवा प्रक्रिया रोकिएको छ ।

भ्रष्टाचार, कमसल मेडिकल उपकरण, कहिले पदाधिकारी र मन्त्रीबीच बेमेलले लामो समय उपकुलपतिविहीन भएको प्रतिष्ठानमा केपी ओली सरकारले डा. गिरीलाई नियुक्त गरेको हो । उनी आएपछि बेथिति हट्ला भन्ने आशा गर्दागर्दै केही हुन नसकेको भन्दै समाजले असन्तुष्टि जनाएको छ । ‘बढुवाका लागि उपकुलपतिकै अध्यक्षतामा सात सदस्यीय छनोट समिति गठन भएको तीन महिना भयो, त्यो समितिले अहिलेसम्म एउटा सिन्को भाँचेको छैन,’ अध्यक्ष डा विष्णु पोखरेलले भने, ‘फ्याकल्टीका न्यूनतम मागसमेत पूरा गर्न नसक्ने उपकुलपतिबाट प्रतिष्ठानको हितका केही पनि हुन सक्दैन भन्ने लागेर राजीनामाको माग गरेका हौं ।’

समाजले प्रदेश १ र २ बाट बिरामी रिफरल हुनेगरी सरकारको रिफरल चेनलाई चुस्त दुरुस्त पार्न नसकेको, कोभिड अस्पतालमा नेगेटिभ प्रेसर आइसियु, प्रयोगशाला, रेडियोलोजी र अपरेसन कक्षसहितको स्वास्थ्यकर्मी तथा विरामीको यथेष्ट सुरक्षाको प्रत्याभुति हुनेगरी संचालन गर्न नसकेको आरोप लगाएको छ । समाजले उपकुलपति गिरीलाई १७ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

फ्याकल्टी चिकित्सकहरुप्रति उपकुलपति गिरीको व्यवहारमा परिवर्तन नआए सामूहिक राजीनामा दिन सक्ने महासचिव डा रिमालले बताए ।

प्रतिष्ठानका रजिष्ट्रार प्राडा मोहनचन्द्र रेग्मीले फ्याकल्टीहरुका माग जायज रहेको बताए । उनले भने, ‘हाल उपकुलपति आइसोलेसनमा रहेकाले त्यहाँबाट निस्किएपछि छलफल गरेर माग सम्बोधन हुन्छ ।’

यसैबीच उपकुलपति गिरी अर्को विवादमा पनि तानिएका छन् । पूर्व उपकुलपति डा राजकुमार रौनियारको पालामा प्रतिष्ठानकै मेडिकल उपकरण खरिदमा आर्थिक हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार मुद्दा खेपिरहेका व्यापारीसँग बिनाटेन्डर डेढ करोडको मेडिकल सामग्री खरिद गरेपछि विवादमा परेका हुन् । विवादबारे प्रतिक्रिया लिन खोज्दा गिरी सम्पर्कमा आउन चाहेनन् ।

प्रकाशित : आश्विन १३, २०७७ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्

न्यूयोर्कमा राष्ट्रकवि घिमिरेको सम्झना

कान्तिपुर संवाददाता

न्यूयोर्क — राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्मृतिमा अमेरिकाको न्यूयोर्कमा आयोजित बृहत कविता संगोष्ठीमा २ दर्जनभन्दा बढी कविले रचना पाठ गरेका छन् ।

न्यूयोर्क, न्यूजर्सी, बोस्टन आसपासका कवि–कवयीत्रिले हालै दिवंगत कवि घिमिरेको भाषिक र साहित्यिक योगदानमाथि चर्चा गर्दै नेपालको भाषा–साहित्यमा यो युगलाई ‘माधव घिमिरे युग’ भन्नु उपयुक्त हुने सुझाएका थिए । आदिकवि भानुभक्त आचार्यपछि जनजनमा भिजेका र लेखिएका गीत–कविताकै भरमा कालजी बनेका कविवर घिमिरे जीवित छँदै एउटा किंवदन्तीझैं बनेको स्रष्टाहरुले बताए ।

तारा किशन फाउण्डेशनले आयोजना गरेको समारोहमा कवि किसनसिंह धामीले कोरोना कहरमाझ पनि कवि–लेखकहरु सुस्ताएका छैनन् भन्ने जनाउन र सृजनशिलताको सकारात्मक पक्ष सार्वजनिक गर्न कविता वाचन कार्यक्रम आयोजना गरिएको बताएका थिए ।

समारोहमा संचारकर्मी शैलेश श्रेष्ठ, सामाजिक अभियन्ता राजेश भट्ट, नवराज केसी, विराज रिजालले कविवर माधव घिमिरेकै कारण संसारभर बस्ने नेपालीले नेपाली भाषा–साहित्यको आफ्नोपना बोध गर्न पाएको बताएका थिए ।

समारोहमा कविहरु गोवर्धन पूजा, गीता खत्री, आनन्द श्रेष्ठ, महेश्वर पन्त, किसनसिंह धामी, गीता पन्थ, दीपा राई पुन, नदिया लिबाङ, जसकुमार राई, विकास विष्ट, मणि बाग्देल, जानुका बस्ती ढकाल, संगिता उप्रेती रिजाल, विजया सिम्खडा, ज्योतिकुमार श्रेष्ठ, कुमार न्यौपाने, शान्ता घिमिरे, नवराज खडका, हंसराज जोशी, विष्णुहरी भण्डारी, अर्जुन मैनाली, आरती धामीलगायतले रचना वाचन गरेका थिए ।

प्रकाशित : आश्विन १३, २०७७ १८:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×