कालोबजारी नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्नुपर्ने सांसदहरुको माग- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कालोबजारी नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्नुपर्ने सांसदहरुको माग

कान्तिपुर संवाददाता

काठमाडौँ — सांसदहरुले चाडपर्व नजिकिदै गर्दा उपभोग्य वस्तुको मूल्यवृद्धि गरेर कालोबजारी भइरहेकाले नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्नुपर्ने बताएका छन् ।

संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको छलफलमा सांसदहरुले मूल्यवृद्धि नियन्त्रणका लागि सम्बन्धित निकायले अनुगमन गर्न आग्रह गरेका हुन् ।

सांसद देवेन्द्र पौडेलले बजार मूल्यमा समानता नभएको, अस्वभाविक रुपमा मूल्य बढेकाले नियन्त्रण गर्नुपर्ने बताए । नियन्त्रणका लागि सम्बन्धित निकायलाई पत्राचार गरी प्रभावकारी अनुगमन गर्न निर्देशन दिनुपर्ने उनले बताए ।

सांसद भिमसेनदास प्रधानले दिनदिनै अस्वभाविक रुपमा मूल्य वृद्धि भइरहेको बताए । अस्वभाविक रुपमा मूल्यवृद्धि गर्नेलाई कडा कारबाही गर्नुपर्ने बताए ।

सांसद सुजाता परियारले मूल्य वृद्धि भइरहँदा बजार अनुमगन गर्ने सम्बन्धित निकायलाई छलफलमा बोलाउनुपर्ने बताइन् ।

समिति सभापति विमल प्रसाद श्रीवास्तवले मूल्य नियन्त्रणका लागि सम्बन्धित निकायलाई अनुगमन गर्न निर्देशन दिने निर्णय भएको बताए । समितिमा छलफलका लागि बोलाउने वातावरण नबनेसम्म सचिवालयलाई सम्बन्धित निकायलाई बोलाएर मूल्यवृद्धिका विषयमा सोधपुछ गर्न निर्देशन दिएको छ ।

प्रकाशित : आश्विन १३, २०७७ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्

लिमीका दुई विद्यालयमा अर्धवार्षिक परीक्षा सकियो

छपाल लामा

हुम्ला — कोरोनाको कारण देशभरको शैक्षिक गतिविधि ठप्प भए पनि हुम्लाको लिमी उपत्यकाका दुईवटा विद्यालयमा अर्धवार्षिक परीक्षा पनि सकिएको छ ।

लिमी नाम्खा गाउँपालिका ६ मा पर्छ । उक्त वडामा सुनखानी प्रावि, भृकुटी प्रावि र हिमशिखर प्रावि गरी तीनवटा विद्यालय छन् । हिमशिखर प्रावि भने विद्यार्थी नहुँदा बन्द अवस्थामा रहेको वडाध्यक्ष पाल्जोर तामाङले बताए ।

गाउँपालिकाका अन्य वडाका विद्यालयहरु पनि बन्द छन् । ‘एउटा कक्षामा २० जनाभन्दा बढी विद्यार्थी हुँदैनन्, मापदण्ड पूरा गरेरै विद्यालय सञ्चालन भइरहेको छ,’ वडाध्यक्ष तामाङले भने, ‘पढाइ निरन्तर चलेकोले परीक्षा पनि लिइएको हो ।’

सुनखानी प्रावि र भृकुटी प्राविले भदौ २८ देखि सुरु गरेको अर्धवार्षिक परीक्षा असोज ५ गते सकिएको छ । ‘लकडाउन भए पनि हामीले पढाइ निरन्तर गरिरह्यौं, विद्यार्थीले आधाभन्दा बढी कोर्स भ्याइसके,’ सुनखानी प्राविका प्रधानाध्यापक कर्णजित बुढाले भने, ‘त्यही भएर अहिले परीक्षा लिएका हौं ।’

सुनखानीमा ९९ जना विद्यार्थी भर्ना भएकामा नियमित रुपमा विद्यालय आउने ५६ जनामात्र छन् । भृकुटी प्राविमा भने ८ जना विद्यार्थीमात्र भर्ना भएका छन् । ती सबैले अर्धवार्षिक परीक्षा दिएका छन् । यी दुई विद्यालयले वार्षिक परीक्षा मंसिर पहिलो सातादेखि सुरु गर्ने योजना बनाएका छन् । फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुने भएकोले हिउँदमा दुई महिना विद्यालय बन्द गरिने वडाध्यक्ष तामाङले बताए । गाउँमा कोरोना नभएको र मास्क तथा स्यानिटाइजर पनि उपलब्‍ध नभएकोले सामान्य अवस्थामै विद्यालय सञ्चालन भएको उनको भनाइ छ ।

सुनखानी प्राविमा ५ जनामध्ये ३ जना स्थानीय शिक्षक भएकोले पनि सहज भएको विद्यालयले जनाएको छ । प्रअ बुढाका अनुसार बाक्लो हिमपातका कारण मंसिरदेखि लिमीसँग अन्य क्षेत्रको सम्बन्ध बिच्छेद हुन्छ । ५ हजार मिटर उचाइको नारा लेक भएर लिमी जानुपर्ने भएकोले बर्सेनि करिब ४–५ महिना लिमी सम्बन्धविच्देद हुने गर्छ ।


प्रकाशित : आश्विन १३, २०७७ १७:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×