बालमन्दिर हाताका आदर्श आधारभूत र केन्द्रीय बहिरा विद्यालय सारिने

विद्या राई

काठमाडौं — नक्सालस्थित नेपाल बाल संगठन (बालमन्दिर) को हाताभित्र रहेका आदर्श आधारभूत विद्यालय र केन्द्रीय बहिरा उच्च माध्यमिक विद्यालयलाई सरकारले स्थानान्तरण गर्ने भएको छ । गत आइतबारको मन्त्रिपरिषद् बैठकले दुवै विद्यालयलाई तत्काल उपयुक्त ठाउँमा स्थानान्तरण गर्न व्यवस्था गर्ने निर्णय गरेको हो ।

बालमन्दिर हाताका आदर्श आधारभूत र केन्द्रीय बहिरा विद्यालय सारिने

यसका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र बालमन्दिरले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग समन्वय गर्ने निर्णयमा उल्लेख छ । आदर्श विद्यालय बालमन्दिरको संरक्षणमा रहेका अनाथ–असहाय बालबालिकालाई पढाउन ०२४ कात्तिक २८ गते स्थापना गरिएको हो । बालमन्दिरको पूर्ण खर्च र रेखदेखमा कक्षा १ देखि ५ सम्म पठनपाठन सुरु गरिएको थियो । ०४० भदौ २७ गते बालमन्दिरले ३ रोपनी जग्गामा विद्यालयलाई छुट्टै भवन बनाइदिएर भोगचलन गर्न दिएको थियो । उक्त विद्यालयमा अहिले १ सय ३० विद्यार्थी र १२ जना शिक्षक–कर्मचारी छन् ।

यसै गरी बहिरा विद्यालयले २०२३ सालदेखि बालमन्दिरको करिब ७ रोपनी जग्गा भोगचलन गर्दै आएको छ । बालमन्दिरको स्वामित्वमा रहेका जग्गा र सम्पत्ति (अन्य जिल्लाका समेत)को अद्यावधिक अभिलेख तयार गर्ने मन्त्रिपरिषद्को निर्णय छ । सम्पूर्ण जग्गा संरक्षण गरी बालबालिकाका लागि आवास निर्माण तथा अन्य पूर्वाधार एवं संरचना विकासका लागि गुरुयोजना बनाइने जनाइएको छ ।

बालमन्दिरकी अध्यक्ष विद्या न्यौपानेले बालमन्दिरको जग्गा फिर्ता गर्ने योजनाअनुसार उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको बताइन् । ‘बालसंगठनको चल–अचल सम्पत्ति जुन नीतिले जसरी उपभोग गरिरहेको भए पनि विकल्पसहित बालमन्दिरकै नाममा ल्याउने दीर्घकालीन योजना हो,’ उनले भनिन्, ‘यसै गरी देशैभरका जग्गा फिर्ता ल्याउँछौं ।’

प्रकाशित : आश्विन १३, २०७७ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?