२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

६ दिनसम्म उठेन सम्झनाको शव

कोरोना देखिएपछि बुबा क्वारेन्टाइनमा, आरोपितको पोलिग्राफ परीक्षण गरिने, सीआईबी टोलीले पनि थाल्यो अनुसन्धान
वसन्तप्रताप सिंह

बझाङ — बलात्कारपछि हत्या गरिएकी बालिका सम्झना कामीको शव परिवारले बुझ्न मानेको छैन । घटना भएको ६ दिन भइसक्दा पनि अपराधीलाई कानुनी दायरामा ल्याउने विषयमा प्रहरीबाट चित्तबुझ्दो जवाफ नआएको भन्दै शव उठाउन नमानेको हो ।

६ दिनसम्म उठेन सम्झनाको शव

बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई पत्ता लगाइसकेको भने पनि अभियुक्तले अपराध स्वीकार नगरेको प्रहरीको भनाइ छ । प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा पक्राउ परेका व्यक्ति राजेन्द्र बोहरा नै अपराधमा संलग्न छन् भन्ने खालको आशय नआएको पीडित परिवारको भनाइ छ ।

‘प्रहरीले प्रेस विज्ञप्ति भनेर एउटा पर्चा हामीलाई थमाएको छ । त्यसमा राजेन्द्र बोहरालाई पक्राउ गरेर अनुसन्धान भइरहेको भन्ने लेखेको छ,’ सम्झनाका काका ईश्वर विकले भने, ‘प्रहरीले पनि अनुसन्धानकै क्रममा छौं, उसले अपराध स्विकारेको छैन, केस जता पनि मोडिन सक्छ भनेर दुईधारे कुरा गरिरहेको छ । कतै अपराधीलाई उम्काउने खेल त होइन भन्ने शंका छ । यही नै अपराधी हो भन्ने विश्वासिलो कुरा नआउन्जेल हामी लास उठाउँदैनौं ।’

गत बुधबार बलात्कारपछि हत्या गरिएको अवस्थामा मस्टा गाउँपालिका–२ की १२ वर्षीया सम्झनाको शव शिव मन्दिरमा फेला परेको थियो । सोही दिन प्रहरीले मस्टा–२ खिकालाका २० वर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा बोहरा शृंखलाबद्ध अपराधका घटनामा जोडिएको पाइएको छ । घटनाको भोलिपल्ट असोज ८ गते पोस्टमार्टम गरेर सम्झनाको शव जिल्ला अस्पताल बझाङको शव गृहमा राखिएको छ । फ्रिज नभएका कारण शव कुहिएर गन्हाउन थालेको जिल्ला अस्पतालका डा. मिलन खड्काले बताए । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रूपक खड्काले अभियुक्तले अपराध स्वीकार नगरेको भए पनि बोहरा नै घटनामा संलग्न रहेको भन्ने यथेस्ट प्रमाण जुटाइसकेको बताए ।

सम्झनाको बलात्कारपछि हत्या : पोस्टमार्टम रिपोर्ट

बोहराको अनुसन्धानका लागि अदालतबाट म्याद थप गरेको र घटनाको विभिन्न कोणबाट अध्ययन भइरहेको उनको भनाइ छ । ‘राजेन्द्र नै अपराधी हो भन्ने धेरै आधार र प्रमाण जुटाइसकेका छौं,’ उनले भने, ‘उसले अपराध अस्वीकार गर्न मात्रै होइन म बोल्दै बोल्दिनँ भन्न पनि पाउँछ ।’ घटनाको थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट डीएसपी पञ्चकुमार बाखु नेतृत्वको टोली बझाङ आएको छ । संघीय प्रहरी कार्यालयबाट पोलिग्राफ मेसिन र विज्ञसहितको टोली पनि आएको र मंगलबारसम्म बोहराको पोलिग्राफ परीक्षण गरिने डीएसपी खड्काले बताए ।

१२ वर्षे बालिकाको बलात्कारपछि हत्याको आशंका : विह्वल छन् बाजेबज्यै

यसैबीच, भारतको बेंग्लोरबाट आएका सम्झनाका बुवा विकास कामीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सदरमुकाम चैनपुरमा सेल्फ क्वारेन्टाइनमा बसिरहेका उनमा जिल्ला अस्पताल बझाङमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । क्वारेन्टाइनमा उनलाई भेट्न थुप्रै व्यक्ति गएकाले उनीहरूको कन्ट्याक्ट ट्रेसिङ गरेर पीसीआर परीक्षण गर्ने काम भइरहेको जिल्ला अस्पताल बझाङले जनाएको छ । घटना थाहा पाउनेबित्तिकै श्रीमती र दुई छोराछोरी भारतमै छोडेर आएका विकास विक्षिप्त अवस्थामा छन् । उनले घटना भएको दिनदेखि खाना नखाएको भाइ ईश्वरले बताए ।

अपराध गुपचुप मिलाउँदा अर्को बलात्कार !

भावविह्वल अवस्थामा रहेका उनले छोरीको हत्यारालाई फाँसीको सजाय हुनुपर्ने बताए । छोरीसँग उनको तीन साताअगाडि अन्तिम पटक फोनमा कुरा भएको थियो । ‘मलाई स्यान्डिल चप्पल पठाइदिनु बुवा भनेकी थिई । चप्पल किनेर गाउँले भाइलाई पठाइदिएको थिएँ । लाउनै नपाई राक्षसले मारिदियो,’ उनले भने ।

प्रकाशित : आश्विन १३, २०७७ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?