३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

घाटीबगर-छाङरु बाटो खुल्यो

छाङरू र टिंकरका बासिन्दालाई सदरमुकाम खलंगा आउजाउ गर्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ ।
मनोज बडू

दार्चुला — नेपाली सेनाले व्यास जोड्ने घाटीबगर–छाङरु घोडेटो बाटोको ट्र्याक खोलेको छ । दार्चुलाको व्यास गाउँपालिका–१ घाटीबगरस्थित मौर्‍याभीरमा खसेको पहिरोले एक वर्षदेखि  उक्त बाटो बन्द थियो । बाटो खुलेपछि व्यास–१ स्थित छाङरु र टिंकरका बासिन्दालाई सदरमुकाम खलंगा आउजाउ गर्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ  ।

घाटीबगर-छाङरु बाटो खुल्यो

सेनाले गत जेठ ९ गते ट्र्याक खोल्न सुरु गरेको थियो । असारमै ट्र्याक खोल्ने लक्ष्य लिए पनि प्रतिकूल मौसम, कडा चट्टानी भूगोल र निर्माण सामग्री ढुवानीमा समय लागेकाले ढिलाइ भएको सेनाले जनाएको छ ।

घाटीबगरको कडा चट्टानी भूभाग फोडेर साढे ५ सय मिटर लम्बाइको ट्र्याक खोलिएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । ‘दुई मिटर चौडा बाटोको ट्र्याक खोलिसकिएको छ । उक्त क्षेत्रमा बाटो सफाइ गर्ने कार्य चालु छ,’ उनले भने, ‘बाटो सम्याउन तीन/चार दिन लाग्न सक्छ ।’ केही दिनमै स्थानीयस्तरमा घोडेटो बाटो हस्तान्तरण गरिने उनको भनाइ छ ।

व्यास जान सबैभन्दा अप्ठ्यारो मानिएको उक्त ठाउँमा ट्र्याक खुलेपछि स्थानीयलाई आवतजावतमा सहज हुने भएको छ । नेपालको बाटो बन्द हुँदा उनीहरूले भारतीय बाटो प्रयोग गर्दै आएका थिए । तर, यस वर्ष कोरोनाले सीमानाकाहरू बन्द भएपछि सकसपूर्ण रूपमा बेंसीबाट गाउँ उक्लेका थिए । सुरक्षाकर्मीहरू पनि हेलिकप्टर प्रयोग गरेर छाङरु र टिंकर पुगेका थिए ।

व्यास–१ टिंकरका मोहनसिंह टिंकरीका अनुसार बाटो नहुँदा छाङरु र टिंकरवासी सदरमुकाम खलंगा आउन पाएका थिएनन् भने सदरमुकाममा रहेका स्थानीय गाउँ फर्किन सकेका थिएनन् । घाटीबगरमा बाटो खुलेपछि गाउँबाट सदरमुकाम आउजाउ गर्न सहज हुने उनको विश्वास छ । छाङरु र टिंकरका बासिन्दा ६ महिना व्यास र हिउँदका ६ महिना बेंसी (सदरमुकाम खलंगा) बस्ने गर्छन् ।

घाटीबगरमा सेनाले बाटो बनाए पनि अन्य धेरै ठाउँमा अवरोध रहेको दार्चुलाका उमेशसिंह खत्रीले बताए । ‘घाटीबगरको माथिल्लो क्षेत्रमा त्यति धेरै अप्ठ्यारो बाटो छैन,’ उनले भने, ‘घाटीबगर तलतिर सेनाको क्याम्प नजिक घोडेटो बाटोमा महाकालीले कटान गरिरहेको छ । तम्बाकु, कल्जुलगायत तीन/चार ठाउँमा अझै बाटो निर्माण गर्नुपर्ने छ ।’ उनका अनुसार पहिले केही ठाउँमा मात्र व्यासको घोडेटो बाटो अवरुद्ध हुन्थ्यो ।

अहिले ठाउँठाउँमा महाकालीले कटान गरेर बाटो बगाएको छ । भारतले महाकाली किनारैकिनार सडक निर्माण गर्दा व्यासको घोडेटो बाटो खतरामा परेको हो । सडक खन्दा निस्किएको माटोढुंगा महाकाली किनारमा फाल्दा नदीको बहाव नेपालतर्फ फर्केर क्षति पुर्‍याएको खत्रीको भनाइ छ ।

प्रकाशित : आश्विन १३, २०७७ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?