कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

जडिबुटी खोज्‍न वनमै बास

राजबहादुर शाही

मुगु — मुगुमकार्मारोङ गाउँपालिकाका बासिन्दा जडिबुटी खोज्न जंगलमै बास बस्न थालेका छन् । कटुकी, भोल्तेलगायत जडिबुटी टिप्ने सिजन सुरु भएपछि स्थानीयबासी जंगलमै बास बस्न थालेका हुन् ।

जडिबुटी खोज्‍न वनमै बास

मुगमकार्मारोङ–२ स्थित मुगुगाउँका करिब डेढ सय घरधुरीलाई अहिले जडिबुटी टिप्ने चटारो छ । अन्न उत्पादन न्यून हुने भएकाले गाउँका बासिन्दा जडिबुटी व्यवसायमै निर्भर छन् । ‘यो पटक यार्सा टिप्न नपाइएकाले पुरै गाउँ कटुकी र भोल्ते टिप्न जंगलमा उर्लिएको छ,’ स्थानीय छिरिङ लामाले भने, ‘भदौ तेस्रो सातादेखि सबैलाई जडिबुटी टिप्न भ्याइनभ्याइ छ ।’ असोज दोस्रो सातादेखि गाउँमा हिमपात हुने भएकाले सबै जडिबुटी टिप्न जुटेको उनले बताए ।

मुगमकार्मारोङको चितै, डोल्फू, किम्री, ताखा, खारी, दाउरा, मह, पूवा, पूलु, रिउस, माङम्रीलगायत १८ बस्तीका बासिन्दा अहिले वनमा जडिबुटी टिप्न व्यस्त छन् । बेसीतिरका किसानलाई भने कोदो, धान, चिनो, कागुनो, फापरलगायत अन्नबाली भित्र्याउने चटारो छ ।

बालबालिकादेखि बृद्धसम्म जडिबुटी टिप्न गएपछि गाउँहरु सुनसान बनेको पूलुगाउँका फोन्जुक तामाङले बताए । ‘हिमाली बस्ती बढी भिरालो भएकाले अन्नबाली फल्दैन,’ उनले भने, ‘त्यसैले जडिबुटीकै भरमा जीविकोपार्जन गर्न बाध्य छौं ।’

छायानाथरारा नगरपालिकाको सोभा, घट्टलेख, तल्ललेख, कम्फा, लुम्स, बालचौर र र्‍याङच्याकाटीका बासिन्दा पनि अहिले कटुकी र भोल्ते खोज्न वनतिर जान थालेका छन् । स्थानीय ज्ञानबहादुर सेजुवालका अनुसार वन क्षेत्रमै कटुकी प्रतिकिलो १६ सय ५० र भोल्ते ५ सय ५० रुपैयाँमा बिक्री हुने गरेको छ ।

डिभिजन वन कार्यालयले एक महिनाका लागि सामुदायिक वनमा जडिबुटी संकलन खुला गरिएको जनाएको छ । कार्यालयका सूचना अधिकारी वसन्तकुमार शाहीले व्यापारीहरु जडिबुटी किन्न वनमै गएकाले यसपालि राम्रो भाउ पाएको बताए ।

उनका अनुसार यस वर्ष ७७ जना व्यापारीले जडिबुटी किनबेचको अनुमति लिएका छन् । गत वर्ष कटुकी, अत्तिस, भोल्ते, धुपीपात, सतुवा, बनलसुनलगायत २० प्रकारको जडिबुटी जिल्लाबाहिर गएको उनले जानकारी दिए । कार्यालयका अनुसार गत वर्ष जडिबुटीबाट ३० लाख ८० हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

प्रकाशित : आश्विन १२, २०७७ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?