कर्णालीका ३ उत्तरी नाकामा बीओपी राखिदै- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णालीका ३ उत्तरी नाकामा बीओपी राखिदै

हुम्लाको चाक्से, मुगुको नाग्चेनाङ्ला र डोल्पाको तिन्जे नाकामा बीओपी राख्ने प्रक्रिया अन्तिम चरणमा
कलेन्द्र सेजुवाल

सुर्खेत — सशस्त्र प्रहरी बलले चीनसँग सीमा जोडिएका कर्णालीका ३ नाकामा बोर्डर आउट पोष्ट (बीओपी) राख्ने भएको छ । हुम्लाको चाक्से (लिमी), मुगुको नाग्चेनाङ्ला र डोल्पाको तिन्जे नाकामा बीओपी राख्ने प्रक्रिया अन्तिम चरणमा पुगेको सशस्त्रको सुर्खेतस्थित महेश्वरी बाहिनीले जनाएको छ । प्रमुख नाका हुम्लाको हिल्सामा भने असार ६ गते पोष्ट स्थापना भइसकेको छ ।

बाहिनीपति डीआईजी हरिश्चन्द्र अधिकारीले दसैंअघि वा लगत्तै मुगुको नाग्चेनाङ्ला नाकाको रेखदेख गर्ने गरी मुगुमकार्मारोङ गाउँपालिका–२, मुगुमगाउँमा पोष्ट राख्ने तयारी भइरहेको बताए । यो ठाउँ समुद्री सतहदेखि करिब ३ हजार २ सय मिटर उचाइमा अवस्थित छ । नाग्चेलाग्ना नाका भने ४ हजार ९ सय मिटर उचाइमा छ । सशस्त्रले मुगुगगाउँमा पोष्ट राखिसकेपछि मात्र तिन्जे र चाक्से नाकामा राख्ने योजना बनाएको छ । तिन्जेमा पोष्ट राख्न हेलिकोप्टरबाट सामान ओसानुपर्ने डीआईजी अधिकारीले बताए । डोल्पा सदरमुकाम दुनैबाट तिन्जे पुग्न करिब ४ दिन समय लाग्छ । ‘तीनवटै नाकाको लागि पोष्ट राख्ने स्थान हेरिसकेका छौं,’ उनले भने, ‘तत्काल सरकारी भवन प्रयोग गरेर पछि स्थायी संरचना बनाउने तयारी भएको छ ।’

मुगुका सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालीसहितको टोलीले पोष्ट स्थापनाको लागि मुगुमगाउँको स्थलगत अध्ययनसमेत गरिसकेको छ । ज्ञवालीका अनुसार तत्कालको लागि स्थानीय स्वास्थ्य चौकीको भवन प्रयोग गर्न सिफारिस गरिएको छ । स्थायी रुपमा संरचना बनाउन तीन स्थानमा जग्गा हेरिएको उनले बताए । ‘त्यहाँ जग्गाको समस्या छैन, प्राविधिक रुपमा जहाँ उपयुक्त हुँछ, त्यही भवन बनाउन सकिन्छ,’ उनले भने, ‘सशस्त्र तयारी अवस्थामा छ भने त पोष्ट स्थापना गर्न कुनै कठिनाइ छैन ।’ स्वास्थ्य चौकीका दुईटा भवनमा २५ जनासम्म सजिलै अट्नसक्ने उनले बताए ।

डीआईजी अधिकारीले हिल्सामा पोष्ट राखे लगत्तै अन्य स्थानमा पनि पोष्ट राख्ने प्रक्रिया सुरु गरिए पनि भौगोलिक कठिनाइ र कोरोना कहरले ढिलाइ भएको बताए । पोष्ट राख्ने स्थानहरु समुद्री सतहदेखि करिब ३ हजार मिटरभन्दा माथिको उचाइमा छन् । ‘चिसोको कारण पनि पोष्ट स्थापना गर्न निकै गाह्रो भइरहेको छ,’ उनले भने, ‘तैपनि जतिसक्दो छिटो पोष्ट स्थापना गर्ने गरी काम थालिसकेका छौं ।’ कोरोनाको कारण तराई तथा सहरी क्षेत्रमा बढी ध्यान दिनुपरेकोले जनशक्ति व्यवस्थापनमा पनि केही कठिनाइ भइरहेको उनले बताए ।

सशस्त्रको उपस्थितिले सीमामा हुने अपराध नियन्त्रणका साथै दुई देशका सीमास्तम्भ रेखदेख हुने अपेक्षा गरिएको छ । हुम्लामा मात्र नेपाल–चीनको २ सय ६२ किलोटिर लामो सीमारेखा छ । त्यहाँ १० वटा सीमास्तम्भ छन् । असारमा स्थापना भएको बीओपी हिल्सा नाकामै छ । स्थापनाको प्रक्रियामा रहेको चाक्से पोष्ट १२ नम्बर पिलर रहेको लाक्चादेखि करिब २५ किलोमिटर नेपालपट्टि हुनेछ । सो स्थानमा २–३ वटा घरमात्र छन् । ‘नाकाहरुबाट विशेषगरी जडिबुटी तथा वन्यजन्तुका अंगहरुको ओसारपोसार र अवैध आवतजावत हुने गर्छ,’ हुम्लामा रहेका सशस्त्रका प्रहरीका एक अधिकृतले भने, ‘अहिले कोरोनाको कारणले चीनले सीमा सिल गरेकोले यस्तो समस्या देखिएको छैन ।’ ‘फ्रि तिब्बत’ का समर्थक तिब्बतीहरु नाका भएर बाहिरिने चुनौती पनि रहेको उनले बताए ।

हिल्सामा २२ जनाको टोली

सशस्त्रले एउटा पोष्टमा इन्स्पेक्टरको कमाण्डमा २० देखि २५ जना सुरक्षाकर्मी खटाउने योजना बनाएको छ । सोहीअनुसार हिल्सामा इन्स्पेक्टर सुरज केसीको कमाण्डमा २२ जना सशस्त्र सुरक्षाकर्मीको समूह रहेको छ । हिल्सामा कम्पाउण्डसहितको ९ कोठे पक्की घरमा सशस्त्र बसेको छ । समुद्री सहतहदेखि ३ हजार ६ सय मिटर उचाइमा रहेको उक्त स्थानमा हिउँदमा समेत सशस्त्र त्यहीँ बस्नेछ । जसका लागि पर्याप्त खाद्यान्न तथा बन्दोबस्तीको सामान राखिएको छ ।

कात्तिकदेखि हिउँले आवतजावत बन्द हुने भएकोले आकस्मिक रुपमा कुनै स्वास्थ्य समस्या आएमा उद्दार तथा उपचारको भने चुनौती रहेको सशस्त्रका सिमकोटस्थित एक अधिकृतले बताए । ‘यस्तो अवस्थामा हेलिकोप्टरबाट उद्दार गर्नुको बिकल्प रहँदैन, यसबारे सम्बन्धित निकायले ध्यान देओस् भनेर अनुरोध गरेका छौं,’ ती अधिकृतले भने, ‘त्यो बाहेक हिउँदभरि हिल्सामा बस्न कुनै समस्या छैन ।’ बिगतमा हिउँदमा त्यहाँ रहेको नेपाल प्रहरी पनि सिमकोट फर्किन्थ्यो । होटल सञ्चालकले पनि हिल्सा छोड्ने गर्थे । यस वर्ष भने सशस्त्रको टोली हिल्सामै बस्ने भएपछि त्यहाँका स्थानीयबासीले समेत होटल बन्द नगर्ने भएका सशस्त्रका अधिकृतले बताए ।

प्रकाशित : आश्विन १२, २०७७ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्

‘संयोगवश’ बाँचेकाहरूको क्रान्ति 

सामन्ती संरचनामा अडिएको धर्मसत्ता, जात व्यवस्था र पितृसत्तात्मक अहंकारको बोलवाला रहुन्जेल समाज संरचनात्मक हिंसाको आदतबाट बाहिर निस्कन सम्भव छैन ।
सरिता तिवारी

काठमाडौँ — यो ‘समाजवाद–उन्मुख’ भनिएको लोकतन्त्रमा कहिलेकाहीँ लाग्छ— यस्तो समाज जहाँ आत्मसम्मानले बाँच्ने हक ‘उच्च’ जातका अति सीमित पुरुष मात्रलाई छ, त्यहाँ कोही महिला भएरै पनि या दलित र सीमान्त समुदायको भएरै पनि बाँचिरहेको, सास फेरिरहेको छ भने त्यो केवल संयोग मात्रै हो ।

हामी हिंस्रक घटनाका सिकार हुनु वा मारिनु सामान्य कुरा हो । जो मारिएका छैनौं र अझै पनि बोल्दै छौं, लेख्दै छौं या वैचारिक मुठभेडका लागि तयार भएका छौं, यो केवल प्रायोजित दुर्घटनाहरूबाट छलिँदै संयोगवश बाँच्न सक्नुको परिणाम हो ।

संयोगवश ! केवल संयोगवश ।

संयोगवश नमिता–सुनिता, निर्मला पन्त या माया विक (कञ्चनपुर) बन्नबाट कसोकसो जोगिएर । संयोगवश दीपिका–दीपशीला सुनार (चितवन), श्रेया सुनार (कास्की), अंगिरा पासी (रुपन्देही) या सुनिता यादव (पर्सा) बन्ने नियतिबाट छलिएर । संयोगवश अजित मिजार (काभ्रे), शम्भु सदा (धनुषा) या नवराज विक र उनका साथीहरू (रुकुम) ले जस्तो मरणान्त आक्रमण भोग्नबाट बचेर ।

यस्ता नाम र क्रूर हिंसाको शृंखला लामो छ र सम्भवतः त्यसैले पनि होला, हाम्रो सामूहिक स्मृतिलाई लाग्न सक्छ— यस्ता घटना सामान्य हुन्, भैरहन्छन् । यतिखेरै बझाङको मस्टा गाउँपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकामा दुई नाबालकले ज्यान गुमाए । दुवैको उमेर १२ वर्ष । आफूभन्दा निकै बलियो हिंसामत्त पुरुषपन्जाबाट ज्यान फुत्काउने कठोर संघर्षपछि ती कलिला नानीहरूको बलात्कार र त्यसपछिको बर्बर हत्या ! के यो सजिलै बिर्सन सकिने या बिर्सन मिल्ने विषय हो ?

०० ००

व्यक्तिगत संवादका क्रममा रुकुम हत्याकाण्डपछिको तनाव साझा गर्दा एक लेखक मित्रले भनेको सम्झन्छु, ‘यस्ता घटनाहरू त दिनदिनै हुन्छन्, साथी ! लेखकले अलि व्यापक वृत्तमा उभिएर सोच्नुपर्छ । हामी मान्छे मात्रैको होइन, पृथ्वीकै अस्तित्व संकटमा छ भनेर कहिल्यै कन्भिन्स छैनौं !...’

खेदको कुरा के मात्रै हो भने, मेरा ती मित्रले मारिनेहरूका नाममा एउटा सामान्य संवेदनाको भावसम्म प्रकट गरेनन् । उनको मनभित्र त्यस्तो संवेदनाको भाव थियो भने उनै जानून्, तर उनका विचारमा त्यसको कुनै संकेत थिएन ।

देशमा त्यति ठूला भनिएका परिवर्तनपछि पनि मान्छे जातकै अहंकार तुष्टि गर्न जिउँदाजाग्दा, हाँस्दाखेल्दा फूलजस्ता युवकहरूलाई निर्मम रूपले कुटीकुटी मार्न सक्छ र यत्रो रक्तपातपूर्ण हिंसा मेरो मित्रलाई सामान्य र दैनन्दिनको घटना लाग्छ । एउटै समाजमा उनैउनै घटनाक्रमबीच बाँचिरहेका दुई व्यक्ति (त्यसमाथि पनि लेखक) लाई एउटै घटनाले तनावग्रस्त बनाउने र बाल नछुने कसरी हुन सक्छ भन्ने कुराको जवाफ असजिलो भने छैन ।

राजनीतिभन्दा निकै पर छ भन्ने दाबी गरिने ‘मानवीय संवेदना’ जस्तो ‘अमूर्त’ पदार्थ पनि कसरी घोर राजनीतिक भएर व्यक्त वा ‘अव्यक्त’ हुन्छ ? यसको उत्तर सामाजिक संरचनाको सोपानक्रममा छ । दुःख, संवेदना, तनाव र त्यसविरुद्धको मानसिक संघर्ष पनि कसरी सजातीय, सवर्गीय, सलैंगिक हुन्छन् भन्ने थाहा पाउन सामाजिक भिन्नताको चरित्र थाहा पाउनुपर्ने रहेछ । जब भिन्नताहरूले उभिएको समाजमा उभिनु छ, यहीँ बाँच्नु छ भने यहाँ किन मानवीय संवेदनासमेत साझा (कमन) छैन भन्ने कुराको जरो बुझ्नु नितान्त जरुरी रहेछ ।

‘प्रिभ्लेज्ड’ जात, वर्ग वा लिङ्गको व्यक्तिले दलन, शोषण र हिंसा बुझ्नै सक्दैन भन्ने होइन, तर त्यसरी बुझ्ने बन्नका लागि घटनाक्रमहरूबारे सोच्ने प्रक्रियामा व्यक्ति आफ्नो ‘स्पेस–निरपेक्ष’ बन्न सक्नुपर्ने रहेछ । जस्तो कि, तपाईं आफू बाहुन, क्षत्री वा कथित पानी चल्ने जातको पुरुष नभई यदि दलित या महिला हुनुहुन्थ्यो भने दलित या महिलामाथि भएको हिंसात्मक घटनाविशेषबारे तपाईंको प्रतिक्रिया के हुन सक्थ्यो ? पक्कै पनि तपाईंको विचार ‘उच्च’ जातको पुरुष–परिवेश र अनुभवले निर्धारण गरेकोभन्दा फरक नै हुन्थ्यो । व्यक्तिभित्र धारणाहरू, विचारहरू कसरी बन्छन् भन्ने कुरा वास्तवमा व्यक्तिको परिवेश, स्थान, जात, वर्ग र लैंगिक स्थिति (स्टाटस) ले तय गर्दा रहेछन् । जब कुनै ‘उच्च जात’ को व्यक्ति आफ्नो ‘स्पेस–निरपेक्ष’ विवेकको अधिकतम उपयोग गर्न थाल्छ र सार्वभौम, साझा मनुष्यताका बारेमा विचार गर्न थाल्छ, त्यही क्षणदेखि नै उसको दिमागभित्र बसेको तहगत संरचना भत्कन सुरु गर्छ । आफूसँग जोडिएको उच्च जात र सुविधाजनक स्पेसका सबै परिसीमाहरू नाघेर समग्र र साझा मानवताको हितमा हात फैलाउने उदात्त चेतना विकसित हुन थाल्छ ।

मान्नुस्, तपाईं ‘प्रिभ्लेज्ड’ भनिएको समुदायको व्यक्ति हुनुहुन्छ र समाजको असमान संरचनात्मक निर्मिति देखेर आफैंसँग समेत द्वन्द्व र अन्तरक्रिया गर्न थाल्नुहुन्छ भने निश्चितै रूपमा तपाईं सदियौंदेखि समाजले अभ्यास गरेको संरचनात्मक हिंसाविरुद्ध लड्ने संकल्पको चरणमा प्रवेश गर्नुहुन्छ । तपाईंभित्र बिस्तारै आफ्नै पूर्वजले गरेका या आफैंले जानी–नजानी गरेका छुवाछुत र हिंसाप्रति ग्लानि र क्षमायाचनाको भाव जागृत हुन थाल्छ । महिलामाथि हुने प्रत्येक हिंसाका घटनामा आफू पुरुष हुनुको लज्जाबोध हुन थाल्छ । व्यक्तिगत रूपमा तपाईं दोषी होइन तर त्यो दोषको अंशियार म पनि हुँ भन्ने अपराधबोधले छटपटिनुहुन्छ ।

त्यसै बेलादेखि तपाईंलाई आफ्ना जातीय, लैंगिक लगायतका सबै परिचय छुद्र लाग्छन्Ù गौण लाग्छन् । तपाईंलाई मान्छेको ‘पहिचान र आत्मसम्मान’ को संघर्ष सबभन्दा प्यारो र जरुरी विषय लाग्छ । उत्पीडित र सीमान्त छेउकुनाका आवाज आफ्नै लाग्छन् । यसलाई समानुभूति (इम्प्याथी) भन्छन् । तपाईंभित्र पलाउँदै गरेको समानुभूति जब व्यवहारमा, सार्वजनिक अभिव्यक्तिमा, रचनाहरूमा प्रकट हुने क्रम थालिन्छ, तपाईंका कतिपय सजातीय मित्रहरू त्यसलाई ‘नक्कली र भावुक कन्फेसन’ को लेबल लगाउन हतारिनेछन् । जात व्यवस्था र पितृसत्ताको अन्यायी दलदललाई नै सही ठहर्‍याइरहेका मान्छेहरू तपाईंलाई अनेक किसिमका गाली र अपशब्दले विभूषित गर्न थाल्नेछन् । युरो, डलर र भारुमा बिकेको कथित बौद्धिक भन्दै बरबराउन थाल्नेछन् ।

दलित, महिला र सीमान्तहरूको ‘मान्छे’ बन्ने संघर्षमा आफ्नो बोली र उपस्थिति कुनै पनि हालतमा अनिवार्य छ भन्ने ठहर गरेको दिनदेखि तपाईं सहुलियत र अनुकूलताको ‘स्वर्ग’ मा बाँचिरहेको सबैभन्दा बलियो सत्ताको स्थायी दुस्मन बन्नुहुन्छ । तपाईं आफ्ना पुराना साथीहरूबाट छुट्टिँदै जानुहुन्छ तर नयाँ मानिसहरूसँग जोडिँदै जानुहुन्छ । तपाईं अब काव्यिक रोमाञ्च, किताबी गफ र बौद्धिक विलासमा होइन, आन्दोलनहरूमा भेटिनुहुन्छ । व्यापक छलफल र विमर्शहरूमा भेटिनुहुन्छ । तपाईं म होइन, हामी भएर सोच्ने बन्नुहुन्छ । स्वतन्त्रताको वृत्त व्यक्तिमा होइन, समूह र समाजमा खोज्ने बन्नुहुन्छ ।

आफ्नै परिचय, मित्रमण्डली र पुराना विश्वासबाट विच्छेद हुँदै गएपछि जसरी नयाँ मान्छे बन्ने प्रक्रिया थालिन्छ, त्यसपछि तपाईंले सबैभन्दा पहिले देख्ने दृश्य हो— जात (लिंगसमेत) व्यवस्थाले गाडेको हिंसाको मौलो । यो मौलो अन्त कहीँ छैन, हरेक मान्छेका दिमागभित्र छ । यो मौलो गाड्ने हाम्रो समाजले अभ्यास गरेको विभेदकारी, शोषणकारी धर्म होÙ धर्मकै टेकोमा अडिएका संस्कार र कथित संस्कृति हुन् । बाहुन–क्षत्री शासक पुरुषका अनुकूल हुने गरी निर्माण गरिएका कानुन हुन् । शिक्षा र राज्यका नीतिनियम हुन् ।

यति कुरो बुझेपछि तपाईं सजिलै बुझ्नुहुन्छ, गृहमन्त्री रहेकै अवस्थामा वामदेव गौतम भन्ने कम्युनिस्ट बिल्लाधारी नेता ‘संक्रमणकालमा बलात्कारहरू भैहाल्छन् नि’ किन भन्छन् ! उही कम्युनिस्ट मार्काका बहालवाला गृहमन्त्री जातीय हिंसा यहाँ मात्रै छैन भन्दै ६/६ जनाको नृशंस नरसंहारलाई किन सामान्यीकरण गर्न खोज्छन् ! बहालवाला महान्यायाधिवक्ता उक्त घटनालाई मिडियाले बढाइचढाइ गरेको, ‘असामान्य बनाइदिएको’ किन देख्छन् !

तपाईं बुझ्नुहुन्छ, जनताकै प्रतिनिधित्व गर्ने ठाउँमा बसिरहेका र अझ रूपचन्द्र विष्ट स्कुलिङका कुनै रामनारायण बिडारी भन्ने व्यक्ति ९० प्रतिशत बलात्कार भनिएका केस बलात्कारै होइनन्, सम्पत्ति कुम्ल्याउने माध्यम हुन् भन्दै किन अन्टसन्ट फलाक्छन् ! व्यापक फ्यान फलोअर्स भएका, यो देशको उच्च प्रशासनिक नेतृत्व गरिसकेका कुनै व्यक्ति सामाजिक सञ्जालमा आफ्ना स्त्रीद्वेषी विचारको प्रतिकार गर्न आउने युवा महिलालाई ‘कुकुर्नी’ भन्दै तह किन लगाउन खोज्छन् !

०० ००

सामन्ती र अर्धसामन्ती आर्थिक–राजनीतिक प्रणाली ढालेर राजाबिनाको लोकतन्त्र ल्याउने संघर्षमा आधार तहबाटै जनतालाई संगठित गर्न जातीय र लैंगिक प्रभुत्वविरोधी ‘इमोसन’ को खुबै उपयोग गरिएको हो । तर अहिले आएर त्यो राजनीतिक क्रान्तिको साध्य उच्चजातीय पुरुष शासनकै चङ्गुलमा अड्केको छ । त्यत्रो बलिदानपछि ल्याइएको संविधान, कानुन र पद्धति उत्पीडित समुदाय, वर्ग, क्षेत्र र लिंगलगायत जनताको साझा होइन, पहुँचवालाको मात्रै पोल्टाको फल भएको छ ।

सिंहदरबारदेखि गाउँ–ठाउँसम्म लोकतन्त्रका लागि लडेका कांग्रेस–कम्युनिस्टकै ‘राज’ छ तर अझै पनि सामन्ती र विभेदकारी संरचनाका कथित ‘पञ्चायती’ बसेर महिला र दलितविरोधी, पीडितपक्षीय निर्णय गर्ने क्रम रोकिएको छैन । यस्ता पञ्चायती र कचहरीहरू बलात्कारीविरुद्ध उजुरी दिन नहुने निर्णय गर्छन् । पैसा लिएर मिलापत्र गर्न पीडित पक्षलाई दबाब दिन्छन् । परिणामतः अपमानले पासो लगाउने र पीडकको डरले थरहरी हुँदै बाँच्ने पीडितको ‘रेकर्डेड’ वा ‘अफ द रेकर्ड’ संख्या कति छ ? अनुमानबाहिर छ । यी हत्यारा पञ्चायती र कचहरीहरूको प्रवर्द्धन गर्ने प्रहरी र स्थानीय सरकार नै हुन् जसले मुद्दा सकेसम्म गाउँमै मिलाउनू भन्छन् । पछिल्ला कतिपय परिणामले स्थानीय सरकार अन्तर्गतका न्यायिक समितिमाथि प्रश्न उठाउने स्थिति बनाएका छन् ।

हामीसँग कानुन छ तर कानुनमाथि पहुँचवालाको रजगज छ । न्यायालयलाई नै घोर अन्यायी, बिकाउ र सत्ताको चरणदास बनाइएको छ । गीता ढकाल हत्याकाण्डका दोषी रञ्जन कोइरालाको रिहाइमा सर्वोच्च अदालतको फैसला अहिलेको सबैभन्दा नांगो दृष्टान्त हो ।

सप्रसंग, यतिखेर एक जना पूर्ववामपन्थी नेता र लेखकले गरेको चरम यौन हिंसाको आरोपका कारण एउटा पुरस्कार दिने संस्थाको निर्णय ठूलो विवादमा छ । आरोप लागेका राजनीतिकर्मी/साहित्यकार मोदनाथ प्रश्रितले आरोप लगाउने शारदा भुसालको किताब ‘धरातल’ को तथ्यसंगत प्रतिकार गरेका छैनन् । रोचक के छ भने, प्र्रश्रित ‘नारीबन्धन र मुक्ति’ जस्ता अनेक विद्रोही किताबका लेखक हुन् । यो त एउटा प्रकरण मात्रै हो । कम्युनिस्ट पार्टीभित्र यस्ता अनेकौं विरोधाभासहरूको खात छ ।

कम्युनिस्ट आन्दोलनका नेतृत्वकर्ताले उत्पीडनको भाष्यबाट जति धेरै चुनावी लाभ उठाएका छन्, त्यसको अंशभर पनि उत्पीडनको अनुभूति सहवरण गर्ने उदात्तता र त्यसविरुद्ध लड्ने व्यावहारिक संकल्प देखाएका भए शारदा भुसालदेखि निर्मला पन्त या अजित मिजारसम्मले उहिल्यै न्याय पाउँथे । न्यायको लडाइँ यति पेचिलो र संघर्षपूर्ण हुने थिएन । सम्भवतः बलात्कार र हत्याका यति क्रूर घटना थपिने पनि थिएनन् ।

आफूलाई आम नागरिक मात्रै ठान्नेदेखि लेखक, राजनीतिकर्मी र समाजका सबै क्षेत्रका अगुवासम्मले एउटा कुरा मान्नैपर्ने हुन्छ— जतिसुकै ठूलो राजनीतिक क्रान्ति गरे पनि त्यसले समाजको आधारभूत तहलाई सम्मानजनक रूपान्तरण गर्न सक्दैन भने, त्यस्तो कुनै पनि क्रान्ति कालान्तरमा अर्थहीन हुन्छ । सामन्ती संरचनामा अडिएको धर्मसत्ता, जात व्यवस्था र पितृसत्तात्मक अहंकारको बोलवाला रहुन्जेल समाज संरचनात्मक हिंसाको आदतबाट बाहिर निस्कन सम्भव छैन ।

संरचनात्मक हिंसाको प्रतिरोधमा दलितविरोधी, स्त्रीविरोधी, अल्पसंख्यकविरोधी विषाक्त वातावरण र नाम मात्रको लोकतन्त्रमा हामीलाई एउटा व्यापक र साझा सामाजिक क्रान्तिको कार्यक्रम चाहिएको छ । त्यसको तयारी गर्ने इच्छाशक्ति चाहिएको छ । उत्पीडित समुदायमाथिको सदियौंको अन्याय, दलन र पीडा सहवरण गर्ने आन्दोलन चाहिएको छ । कुरा यत्ति मात्रै हो, तपाईं–हामी त्यस्तो आन्दोलनको, त्यस्तो क्रान्तिको सिपाही बन्न तयार हुने कि नहुने ? किनभने, निश्चित छ, अबको क्रान्ति ‘संयोगवश’ मर्नबाट जोगिएकाले नै गर्नुपर्छ ।

(मंगलबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट ।)

प्रकाशित : आश्विन १२, २०७७ १९:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×