काठमाडौंका सीडीओ र प्रहरी प्रमुखमाथि कारबाही माग गर्दै डा. केसी समर्थकद्वारा आयोगमा उजुरी- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौंका सीडीओ र प्रहरी प्रमुखमाथि कारबाही माग गर्दै डा. केसी समर्थकद्वारा आयोगमा उजुरी

शान्तिपूर्ण प्रदर्शनका क्रममा बिनाकारण पक्राउ गरिएको र लछारपछार पारिएको आरोप
कान्तिपुर संवाददाता

काठमाडौँ — डाक्टर गोविन्द केसीका समर्थकहरुले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीविरुद्ध कारबाही माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।

चिकित्सा क्षेत्रको सुधारका माग राख्दै अनशनरत डाक्टर गोविन्द केसीको समर्थनमा शनिबार शान्तिपूर्ण प्रदर्शन गर्दा बिनाकारण पक्राउ गरिएको भन्दै सोलिडारिटी फर डाक्टर केसी अभियानका अभियन्ताले सोमबार मानव अधिकार आयोगमा काठमाडौंका सीडीओ दाहाल र एसएसपी ज्ञवालीविरुद्ध कारबाही माग गर्दै उजुरी दिएका हुन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको निर्देशनमा प्रहरी प्रशासनले आफूहरुको शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने अधिकार हनन गरिएको उजुरीमा उल्लेख छ । गत शनिबार माइतीघरमा शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीले अभियानका सदस्य पुकार बम, प्रितम सुवेदी, सचिन तिमल्सेनासहित १७ जनालाई प्रकाउ गरेको थियो ।

त्यस्तै आफूहरुलाई पक्राउ गरिँदा स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना नगरेको, पक्राउको कारणबारेमा कुनै जानकारी नदिएको, प्रहरी हिरासतमा राखी दिनभरी बन्धक बनाएको, बेलुका जबरजस्ती त्यहाँबाट निस्कासन गरेको, पक्राउ गर्दा र निस्कासन गर्दा कुनै सूचना नदिएको पनि उजुरीमा उल्लेख छ ।

प्रहरीले जबरजस्ती अध्याधिक बल प्रयोग गर्दा केही अभियन्ताको शरीरमा चोट लागेको र बिनाकारण बन्दी बनाउँदा मानसिक तनाव भोग्नु परेको अभियानका सदस्य पुकार बमले बताए ।

प्रकाशित : आश्विन १२, २०७७ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौं उपत्यकामा २४ घण्टामा थप ८ सय १७ जनामा कोरोना संक्रमण

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप नयाँ ८ सय १७ कोरोना संक्रमित देखिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार नियमित मिडिया ब्रिफिङका क्रममा काठमाडौंमा ६ सय ४९ , ललितपुरमा १ सय ३२ र भक्तपुरमा ३६ जना संक्रमित देखिएको बताएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालभर ७ सय ४२ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या ५४ हजार ६ सय ४० पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताएका छन् ।

यस्तै मुलुकभर कोरोना संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ । हाल सक्रिय कोरोना संक्रमितको संख्या १९ हजार ६ सय २४ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सोमबारको मिडिया ब्रिफिङमा जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित : आश्विन १२, २०७७ १६:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×