विषाक्त रसायन भेटिएपछि थप ९ कम्पनीका स्यानिटाइजरको बिक्रीवितरणमा रोक- समाचार - कान्तिपुर समाचार

विषाक्त रसायन भेटिएपछि थप ९ कम्पनीका स्यानिटाइजरको बिक्रीवितरणमा रोक

कान्तिपुर संवाददाता

काठमाडौँ — औषधि व्यवस्था विभागले थप ९ कम्पनीका ह्यान्ड स्यानिटाइजरको बिक्री वितरणमा रोक लगाएको छ । विषाक्त रसायन मेथानोल समावेश भएको तथा मापदण्डविपरीतका रसायन मिसिएको पाइएकाले विभागले ती स्यानिटाइजरमा प्रतिबन्ध लगाएको बताएको छ ।

विभागले रसायन समावेश भएका ह्यान्ड स्यानिटाइजरले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्ने हुँदा सर्वसाधारणलाई प्रयोग गर्न र नगराउन आग्रह गरेको छ । यस्तै यी स्यानिटाइजरको उत्पादन तथा बिक्रीवितरण रोक्न पनि विभागले सूचना जारी गरेको छ ।

‘४५ प्रतिशत सेनिटाइजर गुणस्तरहीन’

प्रतिबन्ध लगाइएका स्यानिटाइजरमा भारत उत्तराखण्डको सिभिका कस्मेस्युटिकल्स कम्पनीको हर्बल ट्री ह्यान्ड स्यान्टिाइजर, पर्साको आर केमिकल इन्डस्ट्रीको क्लिन ह्यान्ड स्यानिटाइजर र बनेपाको कुमकुम हर्बल इन्डस्ट्रीको कुमकुम ह्यान्ड स्यानिटाइजरका दुई वटा(५०० मिली र ५ लिटर)का रहेका छन् ।

त्यसैगरी ओम आरोग्य हेल्थकेयर प्रालिको इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, काठमाडौंको साधना सप्लायर्सको साधना इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर र काठमाडौंको कालिका सोप एन्ड केमिकल्स प्रालिको ड्रोन ह्यान्ड स्यानिटाइजरको ( पहेँलो रंग) र रंग नमिसाइएको रहेका छन् ।

यसअघि विभागले ९ वटा ह्यान्ड स्यानिटाइजर गुणस्तरहीन पाइएको भन्दै बिक्रीतिवरणमा रोग लगाइसकेको छ ।

सम्बन्धित समाचार

प्रकाशित : आश्विन १२, २०७७ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्

विदेशमा अलपत्र नागरिकको निःशुल्क उद्धार गर्न आग्रह

रासस

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौँ एसिया प्रशान्त क्षेत्रीय बैठक र प्रथम क्षेत्रीय विज्ञ सम्मेलनले विश्वव्यापी महामारी कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नागरिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत निःशुल्क उद्धार गर्न सरकारसँग आग्रह गरेको छ ।

भर्चुअल माध्यमबाट दुई दिनसम्म चलेको बैठकले एसिया प्रशान्त क्षेत्रका मुलुक तथा खाडीलगायत अन्य मुलुकमा रोजगार गुमाएर अलपत्र परेका, विदेशी भूमिमा रोग र भोकको भयमा रहेका, प्रवेशाज्ञा सकिएर अलपत्र परेका र अन्य विविध कारणले विदेशमै रोकिएका नागरिकलाई बिनाशर्त यथाशीघ्र निःशुल्क उद्धार गर्न आग्रह गरेको हो ।

सम्मेलनले विदेशमा अलपत्र नागरिकलाई सहज स्वदेश फर्काउने वातावरण सिर्जनाका लागि नेपालमा हुने हवाई उडानको सङ्ख्या वृद्धि गर्नसमेत अनुरोध गरेको छ । वैदेशिक रोजगारबाट फर्किएका नेपाली श्रमिकको पुनः एकीकरण र रोजगारका लागि संघ र नेपाल सरकारबीच स्वदेशमै रोजगार सिर्जनाका लागि सहकार्य गर्ने निर्णय गरेको छ ।

वैदेशिक रोजगारको विविधीकरणमा जोड दिँदै सम्मेलनले उचित पारिश्रमिक, कम जोखिम तथा मानवअधिकार तथा सामाजिक सुरक्षा सुविधा भएका गन्तव्य मुलुकको खोजी गरी ती मुलुकमा वैदेशिक रोजगारको व्यवस्था मिलाउन सरकारसमक्ष अनुरोध गरेको छ । यसैगरी मुलुकको आर्थिक विकासमा योगदान बढाउने र वैदेशिक रोजगारीमा रहेका नागरिकको सामाजिक सुरक्षाको सुनिश्चितता गर्न पनि सरकारसँग आग्रह गरिएको छ ।

सम्मेलनले गैरआवासीय नेपालीको सहकार्यमा श्रमिक सूचना बैंक कार्यान्वयन गराउने र विदेशबाट फर्किएका नेपालीको सीपसहितको तथ्याङ्क राख्ने व्यवस्थालाई प्रभावकारी बनाउन तथा विदेशमा आर्जन गरेको ज्ञान, सीप र प्रविधिलाई नेपालमा भित्र्याई आधुनिक कृषि, शिक्षा, स्वास्थ्य, प्रविधिलगायत क्षेत्रमा उपयोग गरी स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सबै गैरआवासीय नेपालीलाई आह्वान गरेको छ ।

गैरआवासीय नेपाली संघ महिला फोरमले हालसम्म गरेका कामको प्रशंसा गर्दै सम्मेलनले महिलाको उद्यमशीलता विकास तथा लगानी अभिवृद्धिका लागि आवश्यक सहयोग गर्ने, महिला फोरमको सक्रियतामा सुरु भएको सीप विकास तालिमलाई निरन्तरता दिने र गैरआवासीय नेपाली अभियानको हरेक क्षेत्रमा महिलाको सहभागिता सुनिश्चित गराउने निर्णय गरेको एसिया प्यासिफिक संयोजक रोविन्दप्रसाद श्रेष्ठ (गोविन्द)ले जानकारी दिए ।

पच्चीस देशका २०० प्रतिनिधि सहभागी सो बैठकको मूल विषय ‘आप्रवासी नेपाली कामदार : स्वदेश फिर्ता, पुनः एकीकरण र रोजगार’ र पहिलो क्षेत्रीय ज्ञान सम्मेलनको मूल विषय ‘नेपालीबीचमा ज्ञान आदानप्रदान : कोभिड–१९ महामारीका कारण उद्यमीको अवसर र चुनौती’ थियो । सम्मेलनको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शनिबार उद्घाटन गरेका थिए ।

प्रकाशित : आश्विन १२, २०७७ ११:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×