२ हजारमै पीसीआर गराउन निर्देशन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२ हजारमै पीसीआर गराउन निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई हजार रुपैयाँमै पीसीआर परीक्षण गराउन निजी प्रयोगशाला (ल्याब) सञ्चालकलाई सचेत गराएको छ । पीसीआर परीक्षण गर्ने निजी प्रयोगशालाका सञ्चालकहरूलाई आइतबार मन्त्रालयमा बोलाएर शुल्क बढी लिनुको कारणसमेत मागेको छ ।

भदौ २८ मा सरकारले तोकको २ हजार रुपैयाँ शुल्क कार्यान्वयन गर्न नसक्ने भन्दै निजी प्रयोगशालाहरूले ४ हजारदेखि ४ हजार ५ सय रुपैयाँसम्म लिन नछाडेपछि मन्त्रालयले छलफल डाकेको थियो ।

‘हामीले तोकेको शुल्कमा पीसीआर गर्न सकिँदैन भन्दै ल्याब सञ्चालकहरूले सामान खरिदको बिल र अन्य आधारसमेत पेस गरेका छन्,’ मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले भने, ‘अहिलेलाई २ हजारमै पीसीआर गराउनू भनेका छौं । आजको छलफलमा सञ्चालकहरूको कुरा सुन्ने काम मात्रै भयो ।’ प्रयोगशाला सञ्चालकहरूले पेस गरेको आधार र प्रमाणको विषयमाथि पनि छलफल हुने उनले बताए ।

मन्त्रालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको कमजोरीको फाइदा उठाउँदै काठमाडौंमै ८ वटा निजी प्रयोगशालाले सरकारले तोकेको भन्दा २ हजार रुपैयाँ बढी शुल्क लिएर पीसीआर गराउने गरेका छन् । नियमविपरीत बढी शुल्क लिएर पीसीआर गराउँदा पनि सरकारले उनीहरूलाई कारबाही गर्न सकेको छैन । बढी शुल्क लिनेमा ललितपुरको स्टार अस्पताल, बीएन्डबी अस्पताल, नेपाल मेडिसिटी, कमलपोखरीको सेन्ट्रल डायग्नोस्टिक ल्याबरोटरी एन्ड रिसर्च सेन्टर, लाजिम्पाटको सुरिया हेल्थ केयर, धुम्बाराहीको ह्याम्स, सिनामंगलको डीकोड जिनोमिक्स एन्ड रिसर्च सेन्टर, थापाथलीको इन्टरपिड डायग्नोस्टिक सेन्टर छन् ।

निजीले घटाएनन् पीसीआर शुल्क

पीसीआर गर्ने निजी प्रयोगशाला सञ्चालकहरूले सरकारले निर्धारण गरेको शुल्कमा पीसीआर गर्न नसक्ने बताएका छन् । मन्त्रालयबाट ठोस निष्कर्ष नआएसम्म ३ हजार ८ सय ९९ रुपैयाँमा परीक्षण जारी राख्ने भन्दै आइतबार संयुक्त विज्ञप्ति नै जारी गरेका छन् । ‘उक्त शुल्क निर्धारण गर्नुको वैज्ञानिक आधार स्वास्थ्य मन्त्रालयमा पेस गरिसकेका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रालयसँगको छलफलबाट सन्तुलित र न्यायोचित दर निर्धारण नहुँदासम्मका लागि यस विषयमा नकारात्मक टिप्पणी नगरिदिनु हुन अनुरोध गर्दछौं ।’ विज्ञप्तिमा बढी शुल्क लिने ८ वटा प्रयोगशालाका सञ्चालकले हस्ताक्षर गरेका छन् ।

प्रकाशित : आश्विन १२, २०७७ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्

महिला क्रिकेटमा नयाँ अध्याय : कप्तान रुबिना

पर्वत पोर्तेल

काँकडभिट्टा — नेपाल क्रिकेट संघ (क्यान) ले पाँच दिनअघि राष्ट्रिय महिला क्रिकेटरलाई ग्रेडिङ गर्दै मासिक तलब दिने निर्णयपछि महिला राष्ट्रिय टिमकी कप्तान रुबिना क्षेत्री बेलबासेले नयाँ अध्याय सुरु भएको टिप्पणी गरेकी छन् । क्यानले ९ महिनाअघि नै तलब उपलब्ध गर्ने प्रतिबद्धता गरेको थियो ।

सोहीअनुसार मंगलबार चितवनमा सम्पन्न क्यानको बोर्ड बैठकले महिला क्रिकेटरलाई तलब दिने निर्णय गरेको थियो । कोरोना महामारीका बाबजुत क्यानले जुन निर्णय लियो यो सम्मानजनक रहेको कप्तान रुबिनाले बताइन् । ‘यो निर्णयले हामी थप उत्साही भएका छौं,’ उनले कान्तिपुरसँग भनिन्, ‘क्यानले जुन सिस्टम सुरु गरेको छ, यसले हामीलाई अब सुरक्षित बनाएको छ ।’

यसअघि क्यानले पुरुष राष्ट्रिय टोलीलाई ग्रेडिङ गरी तलब दिँदै आएको थियो । महिला क्रिकेटरलाई पनि तीन ग्रेडमा विभाजन गरेर तलब दिने प्रकृया सुरु भएको छ । ‘ए’ ग्रेडमा कप्तान रुबिनासहित नेरी थापा, इन्दु बर्मा, सीता रानामगर र करुणा भण्डारी छन् । ज्योति पाण्डे, अप्सरी बेगम, रोमा थापा, बिन्दु रावल, कविता जोशी, रितु कनोजिया, काजल श्रेष्ठ र सरिता मगर ‘बी’ ग्रेडमा परेका छन् । भने ‘सी’ ग्रेडमा कविता कुँवर, डोली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द र शोभा आले छन् । क्यानमा ‘ए’ ग्रेडका खेलाडीलाई मासिक १५, ‘बी’ ग्रेडलाई मासिक १२ र ‘सी’ ग्रेडमा परेका खेलाडीलाई मासिक १० हजार तलब उपलव्ध गराउने जनाएको छ ।

पुरुष क्रिकेटरले धेरै पाए महिलालाई किन कम? रुबिना भन्छिन्, ‘पुरुष खेलाडीको योगदान र जिम्मेवारी हाम्रोभन्दा अलि वढी छ । उनीहरू ओडीआई मान्यताप्राप्त खेलाडी पनि हुन् । तलब अलि कम भयो भन्ने हो, १५ को ठाउँमा २० मात्रै भएको भए हुन्थ्यो भन्ने मेरो निजी विचार हो।’

कप्तान रुबिनाले क्यानले राम्रो संस्कारको सुरुआत गरेको र भविष्यप्रति आशावादी र सुरक्षित बन्न सकिने बताइन् । क्षत्रीले १५ हजार तलवका भरमा खेलाडीलाई बाँच्न चाहिँ गाह्रो हुने धारणा राखिन् । क्यानले यसअघि १९ खेलाडीको कोरोना बिमासमेत गरिदिएको थियो । भविष्यमा जीवन बिमाको योजना क्यानको रहेको बताइएको छ ।

स्थानीय सरकारको उपेक्षा

कप्तान रुबिनासहित काजल श्रेष्ठ, अप्सरी बेगम, सबनम राई, संगीता राई र रोमा थापा एउटै वटाका राष्ट्रिय महिला क्रिकेटर हुन् । उनीहरू मेचीनगर–६ का बासिन्दा हुन् । यू–१९ की ललिता राजवंशी, निग्मा तामाङ र ज्योति दनुवार पनि यही नगरका क्रिकेटर हुन् ।

१३ औं सागका पदक विजेता क्रिकेटरलाई सरकारले र प्रदेश सरकार अभिनन्दन गर्यो । तर, आफ्नै नगर सरकारबाट भने उनीहरू उपेक्षाको सिकार भइरहे । ‘क्रिकेटबाट नगरको नाम उच्च पार्न हाम्रो पनि धेरथोर भूमिका त रह्यो होला नि ?,’ कप्तान रुबिनाको दुखेसो थियो, ‘तर, नगरले हामीलाई कहिल्यै आफ्नो ठानेन, सधैं पराई मान्यो । नगरले त उपेक्षा गर्यो ।’

वडा ६ ले पनि सधैं बेवास्ता मात्रै गरेको रुविना बताउँछिन् । कोरोना कहरका कारण ६ महिनादेखि खेलाडीहरू सबै घरमै छन् । ‘तिमेरको अवस्था के छ, के भनेर हाल खबरसम्म सोध्ने फुर्सद जनप्रतिनिधिलाई भएन,’ रुबिनाको आक्रोश थियो, ‘ढुंगागिटी, बालुवा थुपारेर मात्रै नगर समृद्ध बन्दैन, समृद्ध बनाउन खेलाडीको भूमिका पनि कम हुन्न भन्ने हेक्का कसैलाई भएन ।’

प्रकाशित : आश्विन १२, २०७७ ०९:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×