कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

पीसीआर गर्नेको भीड थाम्नै मुस्किल

सीमित परीक्षण क्षमता भए पनि उपत्यकाका सरकारी प्रयोगशालामा दिनहुँ सयौंको संख्यामा पीसीआर गराउनेको घुइँचो लागिरहेको छ ।
फातिमा बानु

काठमाडौँ — आइतबार बिहान ३ बजेतिर मीरादेवी टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगिन् । अस्पतालमा पीसीआर परीक्षण गर्नेको लाइन कहाँबाट सुरु भएको हो मेसो पाउन उनलाई सकस भयो ।

पीसीआर गर्नेको भीड थाम्नै मुस्किल

अस्पतालभन्दा करिब एक किलोमिटर टाढा पुगेपछि मात्रै लाइन टुंगियो । विष्णुमती नदीपारिबाट लाइन लागेकी उनले दिउँसो २ बज्दासम्म पनि अस्पताल छिर्न पाएकी थिइनन् । तर यत्तिकैमा स्वाब संकलन कार्य बन्द भयो ।

‘रातभरि अनिँदो बसेर लाइन बसियो, पालै आएन,’ उनले भनिन्, ‘घरबेटीले रिपोर्ट नआई कोठा नपस्नू भनेका छन् । आज भने अस्पतालमै सुत्छु ।’ १७ वर्षदेखि काठमाडौंमा ठेलागाडामा व्यापार गरेर गुजारा गर्दै आएकी उनी लकडाउनपश्चात् भारत रक्सौलस्थित घर गएकी थिइन् । गाउँमा गुजारा गर्न नसकेपछि काठमाडौं फर्किएकी उनलाई घरभेटीले पीसीआर रिपोर्टबिना कोठामा पस्न दिएनन् । पीसीआर रिपोर्ट नआउन्जेल दुई छोरी र श्रीमान्सहित उनले अस्पताल परिसरमै सुत्ने निधो गरेकी छन् ।

भारतको मोतीहारीबाट शनिबार दिउँसो काठमाडौं फर्किएका ६७ वर्षीय बासठ साह पनि आइतबार दिउँसो पीसीआर गराउनेको लाइनमै भेटिए । घरभेटीले कोठा छिर्न नदेलान् भनेर उनले भारतमै गरिएको कोरोना नेगेटिभ आएको रिपोर्ट पनि बोकेर आएका थिए । घरभेटीले ‘भारतको रिपोर्ट नेपालमा मान्य हुँदैन, टेकुकै रिपोर्ट चाहिन्छ’ भनेपछि उनी लुगाफाटाको पोको बोकेरै अस्पताल पुगेका हुन् ।

‘लामो यात्रा गरेर हो कि ज्वरो आएको छ, शरीर पनि दुखेको छ,’ उनले भने, ‘स्वाब दिएर रिपोर्ट नआएसम्म जाने ठाउँ छैन, बूढो मान्छे उल्टै बिरामी हुने भएँ ।’ फलफूल बेचेर गुजारा धान्ने उनी लकडाउन खुलेपश्चात् फेरि गरिखाने बाटो खुल्यो भनेर काठमाडौं फर्किएका हुन् ।

वीरगन्जका ३१ वर्षीय दिलीपकुमार मण्डल पनि पीसीआर परीक्षण गर्ने भन्दै शनिबार बेलुका ८ बजेदेखि टेकु अस्पतालमा लाइन बसे । आइतबार दिउँसो २ बजेसम्म उनी अस्पतालको मूलगेट बाहिरै थिए, पालो आउने–नआउने निश्चित थिएन । ‘भतिजो र म पालैपालो लाइनमा बस्यौं । आफ्नो पालो नहुँदा खोला नजिकैको चौतारोमा सुतें,’ उनले भने । उनीसँग पनि वीरगन्जमै परीक्षण गरिएको पीसीआर नेगेटिभ रिपोर्ट थियो । तैपनि घरभेटीले कोठा छिर्न नदिएको उनले गुनासो गरे ।

निषेधाज्ञा खुलेसँगै टेकु अस्पतालमा पीसीआर गराउनेको भीड थामिनसक्नु हुन थालेको छ । बिहान १० बजेदेखि मात्रै स्वाब संकलन हुने यो अस्पतालमा लाइन बस्नका लागि अघिल्लो दिन साँझ ७ बजेदेखि नै मानिसहरू पुग्ने गरेका छन् । दैनिक ७ सय जनासम्म लाइनमा लाग्ने गरेका अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले बताए । ‘हाम्रो परीक्षण क्षमता दिनमा तीन सयभन्दा बढी छैन । स्वास्थ्यकर्मीलाई २० घण्टा लगातार काममा लगाउँदा पनि स्वाब संकलन र परीक्षण गर्न भ्याइनभ्याइ छ,’ उनले भने, ‘उपत्यका बाहिरबाट आउनेको त भीड छ नै, अन्य सरकारी अस्पतालले पनि पीसीआर गर्न यहीं पठाइदिन्छन्, हाम्रो क्षमताले भ्याउने स्थिति छैन ।’ यसरी अस्पताल पुग्नेहरू अधिकांश भारतीय नागरिक हुने गरेको अस्पतालको आकस्मिक कक्षमा खटिएका डा. श्रवणकुमार मण्डलले बताए । ‘घरभेटीले छिर्न दिएनन् भनेर अस्पतालमा बस्छन् । बेड चाहियो भनेर झगडा पनि गर्छन्,’ उनले भने, ‘ठाउँ भएसम्म हामीले अस्पतालको आँगनमै सुत्न भन्यौं । यसरी भीड गरेपछि उहाँहरूलाई अस्पतालबाटै संक्रमण सर्ने उच्च जोखिम छ ।’

अस्पताल पुगेका अधिकांशलाई परीक्षण गर्न आवश्यक नै नरहेकाले फर्काइने गरिएको उनले बताए । भीड लाग्न थालेपछि एक दिन करिब ६ सय जनाको स्वाब लिएर परीक्षण गर्दा ६० जनाको मात्रै रिपोर्ट पोजिटिभ आएको उनले बताए । भाडामा बस्नेलाई घरभेटीले अनावश्यक रूपमा परीक्षण गर्न पठाउनुभन्दा १४ दिन क्वारेन्टाइनमा राखेर मात्रै घरबाहिर निस्कन दिए समस्या समाधान हुने उनको तर्क छ ।

लकडाउन खुलेसँगै उपत्यका छिर्नेहरूको संख्या दिनानुदिन बढिरहेको छ । जसका कारण पीसीआर परीक्षण गर्न राजधानीका सरकारी अस्पताललाई हम्मेहम्मे परिरहेको छ । टेकुमा जस्तै वीर अस्पतालमा पनि परीक्षण गर्न चाहनेको उत्तिकै घुइँचो लाग्ने गरेको छ । दुई सय नमुनाको मात्रै परीक्षण गर्ने क्षमता भएको वीरमा दैनिक पाँच सय जना पुग्ने गरेका अस्पतालका निर्देशक डा. केदारप्रसाद सेञ्चुरीले बताए । ‘त्यही पनि मेसिन बिग्रिरहन्छ, कहिले किट पुग्दैन,’ उनले भने, ‘एकै पटक धेरै परीक्षण गर्न सक्ने अटोमेटिक मेसिन पनि बजेट नभएर खरिद भएको छैन, भीड थाम्नै मुस्किल भयो ।’ सरकारले २ हजार रुपैयाँमा पीसीआर गर्ने निर्णय गरेपछि भीड अझै बढेको उनले बताए ।

ललितपुरको पाटन अस्पतालमा पनि परीक्षण गर्नेको संख्या बढ्दो छ । पीसीआर परीक्षणका लागि अस्पताल पुग्ने अधिकांश उपत्यका बाहिरबाट आएकाहरू हुने गरेका निर्देशक डा. रवि शाक्यले बताए । कन्ट्याक्ट ट्रेसिङमा परेको भन्दै अनावश्यक भीड लाग्ने गरेको तर चाप बढेअनुसार पूर्वाधार र जनशक्ति अभाव रहको उनको भनाइ छ । तीन सय नमुनाको परीक्षण गर्ने क्षमता भएको यो अस्पतालमा दैनिक ५ सय जनाभन्दा बढी पुग्ने गरेका छन् ।

दैनिक एक सय ८० नमुनाको परीक्षण गर्ने क्षमता छ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको । परीक्षणका लागि ट्राभल हिस्ट्री भएका र कन्ट्याक ट्रेसिङमा परेका भन्दा पनि घरभेटीले कोठामा छिर्न नदिएकाहरूको संख्या उल्लेख्य हुने गरेको अस्पतालको कोभिड व्यवस्थापन संयोजक डा. सन्तकुमार दासले बताए । ‘आएजति सबैको परीक्षण गर्ने क्षमता हाम्रो छैन, फर्काइदिने गरेका छौं,’ उनले भने, ‘दैनिक २५० वटा नमुनासम्म परीक्षण गर्ने क्षमता बढाउने योजना छ तर टुंगोमा पुगेका छैनौं ।’

थापाथलीस्थित प्रसूति गृहमा पनि एक साताअघिदेखि पीसीआर परीक्षण भइरहेको छ । यहाँ दैनिक ४० वटा नमुना परीक्षण हुन्छ । तर एक सय जनाभन्दा बढी पुग्ने गरेका अस्पताल प्रशासन प्रमुख रानु थापाले बताइन् । ‘आएजति सबैको स्वाब संकलन गर्न सकेका छैनौं,’ उनले भनिन्, ‘उपकरण र जनशक्ति नथपिएसम्म माग पूरा गर्न सकिँदैन ।’

प्रकाशित : आश्विन १२, २०७७ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?