२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

बाढीपहिरोले ५४ परिवारको चौरमा बास

अर्घाखाँची, तिलोत्तमा — अर्घाखाँचीको शीतगंगा–१२ कोठिया मैदानको जोख्ले गैरामा जमिन भासिने क्रम आइतबार पनि रोकिएन । शुक्रबार भत्किएका घर पन्छाएर बचेका अन्नपात, लुगाफाटा र अन्य सरसामान निकालेर चौरमा आएको सरस्वती थापाले बताइन् ।

बाढीपहिरोले ५४ परिवारको चौरमा बास

‘सम्पत्तिका नाममा त्यही घर थियो । ढल्यो, अब कहाँ गएर बस्ने ? जग्गा किन्ने र घर बनाउने पैसा छैन,’ उनले भनिन्, ‘कतै चौर र जंगल छेउमा सानो झुपडी भए पनि घर बनाइदिनूस् माननीयज्यू ।’ पहिरो स्थलमा पुगेका राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्कालाई आइतबार थापालगायतका पहिरो पीडितले बासको व्यवस्था गर्न माग गरे ।

शुक्रबार आधा चर्किएका घर पनि आइतबारसम्म भत्किसकेका छन् । कतिबेला कहाँ भासिएर पहिरो जान्छ भन्ने कुनै टुंगो नभएको विस्थापितहरूले बताएका छन् । भत्किएको घर पन्छाएर अन्नपात र लुगा–कपडा भेटिए पनि नगद, गरगहना पुरिएको अर्का पीडित टेकलाल गैरेले गुनासो गरे । ‘म अहिले चौरमा बसेको छु, संघसंस्था र नगरपालिकाले खाने खर्च दिएको छ । तर कहाँ गएर बस्ने, बासको व्यवस्था गरिदिनुपर्‍यो,’ सांसदसँग उनले भने । सांसद, दलका नेता, प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलसमक्ष पीडितहरूले गुनासो गरेका थिए ।

शनिबार खाद्यान्न लिएर पुगेका कांग्रेसका पूर्व जिल्ला सभापति कमलप्रसाद भुसाल, उपसभापति शान्ता भण्डारीलगायतको टोलीसँग ६० वर्षीय ताराबहादुर नेपालीले भने, ‘पाखुरामा बल छँदा दुःख गरेर बनाएको घर हेर्दाहेर्दै गर्ल्यामै ढल्यो, अब म कहाँ बस्ने ? मलाई छाप्रो भए पनि ओत बनाइदिनूस् ।’ बचेका सामान र भैंसी ल्याएर उनी पौवामा बसेका छन् । ‘मेरो र भैंसीको ज्यान बच्यो, घर पहिरोले बगायो, बुढेसकालमा बिचल्लीमा परें,’ उनले भने ।

आइतबारसम्म ५४ परिवार बस्ती छाडेर चौरमा पुगेका छन् । ‘जमिन भासिँदै घर भत्किने क्रम रोकिएन,’ शीतगंगा–१२ का वडाध्यक्ष बाबुराम गैरेले भने, ‘शुक्रबार १७ घर पहिरोले लग्यो, १८ घर चर्किएका थिए ।’ आइतबार थप १९ घर चर्किएपछि चौरमा पुग्ने परिवारको संख्या थपिएको छ । १६ घरमात्रै सुरक्षित छन् । जमिन भासिने क्रम नथामिए विस्थापितको संख्या थपिने स्थिति छ । रजिया मावि, गाउँको खाली चौर र डाँडोमा विस्थापित परिवारलाई राख्न पाल टाँग्न सबै जनशक्ति परिचालित गरिएको वडाध्यक्ष गैरेले बताए ।

बाढीले सडकमा पुर्‍यायो

रूपन्देहीको देवदह–३ टटेरास्थित केबी रानाको घरअगाडि आइतबार खोला बगिरहेको थियो । उनका ५ बंगुर बाढीले बगायो । ‘आफू बाँचियो, त्यही ठूलो मान्नुपर्‍यो,’ उनले भने, ‘ज्यान रहे सम्पत्ति पछि जोडौला ।’

संगीता थारूले चामल, दाल, नुन सबै पुरिएको सुनाइन् । बाँसको छाप्रोमा खाजा पसल चलाएर गुजारा गरिरहेकी उनले पहिलोपटक बाढी खेपेको बताइन् । कटेरो बाढीले डुबाएपछि परिवारको बिचल्ली भएको उनका श्रीमान् जगीश्वरले गुनासो गरे । देवदह–३ कै समिता थारूको ८ कट्ठा खेतमा बालुवा थुप्रिएको छ । धान खेत पुरिएपछि खान नपाउने डर उनमा छ । स्थानीय झविन्द्र राना मगरको बंगुर फार्ममा पानी पसेपछि १९ वटा बंगुर बगेका छन् । बुटवल–११ देवीनगरका बासिन्दा मगरले १ वर्षअघि ४२ लाख रुपैयाँ लगानी गरी बनाएको फार्ममा रहेको ६ क्विन्टल दाना पनि बाढीमै मिसिएको छ ।

रूपन्देहीका मर्चवारी र सम्मरीमाई गाउँपालिकाका मन्झरिया, लोहाटोला, बडघर टोला, भरवलिया, देवानडिहलगायतका क्षेत्रका १८ भन्दा बढी घरमा बाढीले क्षति पुर्‍याएको छ ।

प्रकाशित : आश्विन १२, २०७७ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?