१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

राजमार्गमा घण्टौं जाम

नवीन पौडेल, माधव अर्याल

परासी, पाल्पा — नवलपरासीको दाउन्ने खण्ड पूर्व–पश्चिम राजमार्गअन्तर्गत अति व्यस्तमध्येको घुम्ती सडक हो । गत बुधबार यहाँको १५ किलोमिटर खण्डका ६ ठाउँमा पहिरो खस्यो । बन्द रहेको आवागमन शुक्रबार बिहानबाट एकतर्फी खुल्यो । खुले पनि जामका कारण सवारीले यो खण्ड पार गर्न घण्टौं लाग्ने गरेको छ ।

राजमार्गमा घण्टौं जाम

गाडीको लामो जामले अत्याएका बेला शनिबार बिहान फेरि पहिरो खस्यो । बसमाथि खसेको पहिरोमा परी एक जनाको मृत्यु भयो भने ११ जना घाइते भए । आइतबार साँझसम्म पूर्णरूपमा पहिरो हटाइएको छैन ।

बुटवलबाट आइतबार नारायणगढका लागि छुटेको लु२ख २९८ नम्बरको बसलाई दाउन्ने खण्ड पार गर्न मात्रै ५ घण्टा लाग्यो । ‘प्रशासनले सडक एकतर्फी खुलेको छ भनेपछि उपचारका लागि चितवन जान लागेकी हुँ,’ बुटवल–१३ की शर्मिला सिन्जालीले भनिन्, ‘सडक साँघुरो भएकाले दोहोरो गाडी पास नहुने रहेछ, त्यसैले घण्टौं जाममा परियो ।’

५ दिनसम्म पहिरो नहटाउँदा धेरै यात्रुले जंगलमा भोकभोकै बस्नुपरेको गुनासो गरेका छन् । सडकमा बनेका खाल्टाखुल्टीले यात्रा झन् असहज भएको छ । गाडीहरूले हतारिएर जथाभावी ओभरटेक गर्दा पनि जाम हुने गरेको चालक दिनेश पराजुलीले बताए । ‘घुम्ती बढी छन् । त्यसैमाथि पहिरो गएर लोड गाडी चलाउन समस्या छ,’ उनले भने । जिल्ला प्रहरी पूर्वी नवलपरासीका डीएसपी मोहनबहादुर खाँडले बिग्रेको सडकमा गाडीको धेरै चापलाई व्यवस्थित गर्न सजिलो नभएको बताए । ‘चौबीसै घण्टा खटिएका छौं । बाटो यस्तो छ की गाडी पास गराउनै सकिँदैन,’ उनले भने, ‘यसमाथि एउटा गाडी बिग्रयो की जाम हटाउन प्रलय नै पर्छ ।’

४२ घण्टापछि एकतर्फी

गुल्मीबाट बुटवल हिँडेकी सुमित्रा शर्माको दुई रात बाटोमै बित्यो । घरबाट छिमेकी ८१ वर्षीया आमालाई औषधोपचार गर्न शुक्रबार उनी घरबाट हिँडेकी थिइन् । पसलकै पिँढीमा रात गुजारेको उनले बताइन् । उनी मात्र होइन, स्याङ्जाबाट बुटवल हिँडेका हरि गैरे पनि शनिबार बिहानदेखि बाटोमै छन् । सडकमा सयौं यात्रु अलपत्र पर्दासमेत कोही कसैले मतलब नगरेको उनको गुनासो छ ।

सिद्धार्थ राजमार्गमा समस्या आएपछि ४२ घण्टादेखि सयौं सवारीसाधन सडकमै अलपत्र परेका हुन् । शुक्रबार बेलुकी १० बजेदेखि बन्द भएको राजमार्ग आइतबार अपराह्न ४ बजेबाट एकतर्फी रूपमा खुलेको प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए । ‘धेरै मिहिनेतपछि बल्ल एकतर्फी खुलेको हो,’ उनले भने ।

झुम्सा, पानीमिलनजिकै झन्डै ५० मिटर सडक भासिएको छ । ग्राभेल लगाएर मालवाहकबाहेकका सवारीसाधन आवतजावत गर्न मिल्छ । २४ माइल, भूतखोला, दोभान, पैठेडाँडालगायतका स्थानमा पनि सडक भासिएको छ । भासिएको स्थानमा सडक डिभिजनले ग्राभेल राखेको छ । अहिलेलाई एकतर्फी रूपमा रोकिएका सवारीसाधनलाई पठाउन सकिएको सडक डिभिजन पाल्पाका सूचना अधिकारी शिवु खत्रीले बताए । दुईतर्फी खुल्नका लागि अझै केही समय लाग्ने उनले बताए ।

प्रकाशित : आश्विन १२, २०७७ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?