कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

संस्कृत र कृषि तथा वनविज्ञान भागबन्डामा उपकुलपति नियुक्ति

सुदीप कैनी

काठमाडौँ — प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले नेपाल संस्कृत विश्वविद्यालय दाङ र कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनमा आइतबार उपकुलपति नियुक्त गरेका छन् । संस्कृतमा प्रा.डा यादव लामिछाने र कृषिमा प्रा.डा. पुण्य रेग्मी उपकुलपति नियुक्त भएका हुन् । लामिछाने नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओली र रेग्मी अर्का अध्यक्ष पुष्पकमल दाहाल निकट हुन् । 

संस्कृत र कृषि तथा वनविज्ञान भागबन्डामा उपकुलपति नियुक्ति

ओली र दाहालबीच संस्कृतमा पूर्वएमाले, कृषिमा पूर्वमाओवादी र पोखरामा प्रतिपक्षी कांग्रेस कोटामा उपकुलपति नियुक्ति गर्ने सहमति भएको थियो । सहमतिअनुसार दुई विश्वविद्यालयका उपकुलपतिले प्रधानमन्त्री कार्यालयबाट नियुक्ति पत्र बुझेको हुन् । रेग्मीले नियुक्ति पाएको बताए । पोखरामा भने कांग्रेस कोटामा प्रेमनारायण अर्याल उपकुलपति बन्ने चर्चा छ । उनले भने नियुक्ति पाइसकेका छैनन् ।

यी तीन वटै विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्न सहकुलपति एवं शिक्षामन्त्रीको संयोजकत्वमा सिफारिस समिति रहने प्रावधान छ । सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्ने र ती मध्येबाट १ जनालाई प्रधानमन्त्रीले नियुक्ति दिने व्यवस्था छ । यी विश्वविद्यालय एक वर्षदेखि उपकुलपतिविहीन थिए । उपकुलपति सहितका पदाधिकारी नहुँदा नियमित कामकाज, बजेट, पठनपाठन, परीक्षा लगायतका शैक्षिक कार्यक्रम प्रभावित बनेको थियो ।

सिफारिस समितिले कृषि तथा वन विज्ञान विश्वविद्यालायमा रेग्मी, शारदा थपलिया र श्रवण साहको नाम सिफारिस गरेको थियो । दाहाल रेग्मी र प्रधानमन्त्री ओली थपलियालाई उपकुलपति बनाउने अडानमा थिए । उनीहरुबीच सहमति नहुँदा नियुक्तिमा ढिलाइ भएको हो । संस्कृतमा लामिछाने, रमेश ढकाल र भागवत नेपाल सिफारिसमा परेको थियो । प्रधानमन्त्री ओली लामिछानेलाई पोखराको उपकुलपति बनाएर कांग्रेसलाई संस्कृत विश्वविद्यालयको उपकुलपति दिने पक्षमा थिए । सिफारिस समितिले लामिछानेको नाम संस्कृतमा सिफारिस नगरेपछि कांग्रेस कोटामा पोखरा विश्वविद्यालय परेको हो ।

पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि भने सुजनबावु मरहठ्ठा, देवराज अधिकारी र हेमराज सुवेदीको नाम सिफारिस भएको छ । शीर्ष नेताहरुको सहमतिअनुसार उपकुलपति नियुक्ति गर्न अर्यालको नाम सिफारिसमा नपरेका नियुक्ति पत्र दिन ढिलाई भएको स्रोतले जनाएको छ । प्रधानमन्त्री कार्यालयले अर्याललाई सोमबार नियुक्ति दिने आश्वासन दिएको छ । यी ३ विश्वविद्यालय २०७६ असोज ६ गतेदेखि उपकुलपतिविहीन थिए । सुदूरपश्चिम, मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयमा पनि गत फागुनमा राजनीतिक भागबन्डाकै आधारमा उपकुलपति नियुक्त गरिएको थियो ।

प्रकाशित : आश्विन ११, २०७७ २२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?