बारामा बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बारामा बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु

कान्तिपुर संवाददाता

बारा — बाराको पथलैया-निजगढ सडक खण्डको जीतपुरसिमरा उपमहानगरपालिका-१ मा बसले आइतबार साँझ ठक्कर दिँदा स्कुटीमा सवार एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएकोइ छ । जंगलको बाटोमा पर्ने दुधौरा पुल नजिक दुर्घटना भएको हो । 

निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना ४ ख ७२४४ नम्बरको बसले पथलैयाबाट निजगढतर्फ जाँदै गरेको प्रदेश नं.२-०३-००४ प ४४४२ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालक बाराकै निजगढ नगरपालिका-१० लाल गाउँका २५ वर्षीय तीर्थमान स्याङ्तान, उनकी २२ वर्षीया पत्नी ज्योती स्याङ्तान र नाम नखुलेको उनका १ वर्षीय छोराको मृत्यु भएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

बस चालक फरार भएकोले खोजी भइरहेको उनले बताए । दुर्घटनामा परेका दुबै गाडी प्रहरीको नियन्त्रणमा छ ।

घटना कसरी भयो भन्ने अनुसन्धान भइरहेको उनले बताए ।


प्रकाशित : आश्विन ११, २०७७ २१:१०
प्रतिक्रिया
पठाउनुहोस्

चटपटेको निहुँमा बालिकाको हत्या

कान्तिपुर संवाददाता

सुनसरी — चटपटे किनबेचको विषयमा वादविवाद हुँदा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ कटहरेकी १२ वर्षीया मीना राईको हत्या भएको छ ।

हत्या आरोपमा छिमेकी १६ वर्षीय किशोर पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी नरेन्द्र कार्कीले बताए ।

प्रहरीका अनुसार शनिबार अभिभावक छोरीलाई घरमै राखेर छिमेकीको घरमा धामी बसेको हेर्न गएका बेला चटपटे किन्न आएका किशोरसँग विवाद भएको थियो ।

त्यसपछि ती किशोरले बोतलले प्रहार गर्नुका साथै घाँटी कसेर हत्या गरेका थिए । ‘बालिकाले राति चटपटे नभएको बताएपछि बालिकाको टाउकोमा बोतलले हानेको र त्यसपछि भेस्ट र रुमालले घाँटी कसेर हत्या गरी आफ्नै घरमा गएर सुतेको बयान ती किशोरले दिएका छन्,’ डीएसपी कार्कीले भने ।

प्रहरीका अनुसार मीनाका अभिभावकले आइतबार बिहान २ बजे घर आएपछि मात्र छोरीलाई मृत अवस्थामा फेला पारेका थिए । घटनाको अनुसन्धान गर्न संघीय प्रहरी इकाइ कार्यालय धरानबाट लैला नामको कुकुरसहितको टोली र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटेको थियो ।

आइतबार बिहान घरमै पक्राउ परेका किशोरलाई सुनसरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको डीएसपी कार्कीले बताए ।

प्रकाशित : आश्विन ११, २०७७ २०:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×