१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

प्रश्रितसँगै एउटै मञ्‍चमा पुरस्कार लिन सक्दिनँ : सञ्‍जीव उप्रेती

कान्तिपुर संवाददाता

काठमाडौँ — लेखक सञ्‍जीव उप्रेतीले अर्का लेखक तथा समालोचक मोदनाथ प्रश्रितसँगै एउटै मञ्‍च साझा गरी पुरस्कार ग्रहण गर्न नसक्ने बताएका छन् ।

प्रश्रितसँगै एउटै मञ्‍चमा पुरस्कार लिन सक्दिनँ : सञ्‍जीव उप्रेती

शनिबार खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा यस वर्षको पद्मश्री साहित्य पुरस्कार उप्रेतीको उपन्यास ‘हंस’ र पद्मश्री साधना सम्मान मोदनाथ प्रश्रितलाई दिने निर्णय गरेको थियो । तर उप्रेतीले यौन हिंसाको आरोप लागेका लेखकसँग सँगै उभिएर आफूले पुरस्कार ग्रहण गर्न नसक्ने भन्दै प्रतिष्ठानलाई आफ्नो धारणा पठाएका छन् ।

मोदनाथ प्रश्रितलाई भ्रष्टाचारविरोधी अभियन्ता शारदा भुसालले यौन हिंसाको आरोप लगाएकी थिइन् । विक्रम संवत् २०७२ सालमा प्रकाशित आत्मकथा ‘धरातल’ मा भुसालले आफू १३ वर्षको हुँदा तत्कालीन एमालेका नेता प्रश्रितले यौन हिंसा गरेको आरोप लगाएकी थिइन् । आफूमाथि यौन हिंसा र यौन उत्पीडनको गम्भीर आरोप लागेपछि प्रश्रितले खण्डन गर्दै भुसालको आत्मकथालाई ‘अश्लील साहित्य’ को संज्ञा दिँदै आरोप झुटो भएको बताएका थिए ।

लैंगिक समानता र सीमान्तकृत समुदायको मुद्दामा कलम चलाउने लेखक उप्रेतीले यौन हिंसाको आरोप लागेका अर्का लेखकसँग उभिएर पुरस्कार ग्रहण गर्न नमिल्ने बताएका हुन् । ‘हंस’ उपन्यासको प्रकाशक बुकहिल पब्लिकेसनले यसअघि यस वर्षको मदन पुरस्कारका लागि लेखकको आग्रहबमोजिम मदन पुरस्कार गुठीमा दर्ता नगराएको बताएको थियो । लेखक उप्रेतीले कुनै पनि पुरस्कारका लागि जीवनभर आवेदन नदिने बताएका थिए ।

इकान्तिपुरसँगको कुराकानीमा पनि उनले त्यही कुरा दोहोर्‍याएका छन् । ‘मैले कुनै पुरस्कारका लागि जीवनभर अप्लाई गर्दिनँ भनेको थिएँ,’ उनले भने, ‘पद्मश्री पुरस्कारका लागि अप्लाई गर्ने नियम रहेनछ । उहाँहरुले उपन्यास पढेरै पुरस्कार दिन लागेका हौं भन्नु भएकाले पुरस्कार अस्वीकार गर्नचाहिँ ठीक लागेन ।’

उप्रेतीले मोदनाथ प्रश्रितलाई पनि सँगै पुरस्कार दिइँदैछ भन्ने कुरा आफूलाई थाहा नभएको बताए । ‘त्यसबेला मोदनाथजीलाई पनि सँगै पुरस्कार दिइँदैछ भन्ने मलाई थाहा भएन । म उहाँसँग एउटै मञ्‍चमा उभिएरचाहिँ पुरस्कार लिन सक्दिनँ भनेर प्रतिष्ठानलाई भनेको छु । उहाँहरुको पोजिसन के हुन्छ त्यो थाहा पाएपछि पुरस्कार लिने–नलिने निर्णय गर्ने गर्नेछु, उप्रेतीले भने ।

सम्बन्धित समाचार

प्रकाशित : आश्विन ११, २०७७ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?