कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धी व्यवसाय गर्ने कम्पनीहरुमाथि निगरानी बढाउनुपर्नेमा जोड 

कान्तिपुर संवाददाता

काठमाडौँ — सांसदहरुले वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धी व्यवसाय गर्ने कम्पनीहरुमाथि निगरानी बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबारको बैठकमा उपस्थित सांसदहरुले वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धी व्यापार गर्ने कम्पनीहरुमाथि निगरानी बढाउनुपर्ने बताएका हुन् । वस्तुको प्रत्यक्ष बिक्री गर्न इजाजत लिने तर पिरामिड शैलिबाट नेटवर्किङ व्यवसाय गरेको गुनासो आउने गरेकाले त्यस्ता कम्पनीमाथि निगरानी गरी कारबाही गर्ने व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालय तथा विभागलाई निर्देशन दिनुपर्ने सांसदहरुले बताएका छन् ।

समितिद्वारा वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले तयार पारेको प्रतिवेदन माथि छलफल गर्दै सांसदहरुले अध्ययन प्रतिवेदनले दिएका विषयहरुलाई पूर्णरुपमा पालना गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिनुपर्ने बताए । नेपाली कांग्रेसका सांसद भिमसेनदास प्रधानले प्रत्यक्ष बिक्री गर्ने कम्पनीहरुले गलत मनसायले काम गरेको देखिए कडा कारबाही गर्नुपर्ने बताए । उपसमितिले दिएको सुझाव बमोजिम समितिले निर्देशन दिएमा उपभोक्ताको सुरक्षा हुने सांसद प्रधानको भनाइ छ ।

नेकपाकी सांसद विन्दा पाण्डेले अहिले दर्ता भएका कम्पनीहरुले पनि पूर्वाधार तयार नगरेको पाइएकाले अबदेखि भने पूर्वाधार तयार नभइकन व्यवसाय गर्न नपाउने र हाल इजाजत पाएका कम्पनीको पूर्वाधारको अवस्थामा समितिले थप जानकारी लिएर मात्रै निर्देशन दिनुपर्ने बताइन् ।

नेकपाका अर्का सांसद देवेन्द्र पौडेलले जनता र उपभोक्तालाई ठगीको अनुभूति हुने गरी कुनैपनि व्यवसाय गर्न दिन नहुने बताए । पिरामिड शैलीमा व्यवसाय गर्न कसैलाई पनि छुट हुन नहुने र सदस्य बनाएको भरमा कमिशन लिने व्यवसाय ठगि को नयाँ रुप भएको बताए ।


प्रकाशित : आश्विन ११, २०७७ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?