कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

हिमालयको सेल्फ ग्राउन्ड ह्यान्डलिङ यथास्थितिमा राख्नू : पर्यटनमन्त्री

सुरज कुँवर

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हिमालय एयरलायन्सलाई दिइएको ‘सेल्फ ग्राउन्ड ह्याण्डलिङ’ को अधिकार यथास्थितिमा राख्न नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् ।

हिमालयको सेल्फ ग्राउन्ड ह्यान्डलिङ यथास्थितिमा राख्नू : पर्यटनमन्त्री

उच्च स्रोतका अनुसार आइतबार मन्त्रालयमा प्राधिकरणका महानिर्देशक राजन पोखरेल, पर्यटन सचिव केदारबहादुर अधिकारी र मन्त्री भट्टराईबीच भएको छलफलमा उनले महानिर्देशक पोखरेललाई हिमालय एयरलायन्सलाई असोज ४ गते दिइएको ‘सेल्फ ग्राउन्ड ह्ण्डलिङ’ को प्रमाणपत्रलाई हाललाई यथास्थितिमा राख्न निर्देशन दिएका हुन् ।

‘हिमालयको व्यवसायिक क्षमता थप अध्ययन गरेरमात्रै निर्णय कार्यान्वयन गर्नु भनिएको छ,’ स्रोतले भन्यो । हिमालयले सातामा ३५ वटा उडान अनुमति पाएको विवरण पेश गर्दै २ वर्षअघि सेल्फ ग्राउन्ड ह्याण्डलिङका लागि आवेदन दिएको थियो । उक्त आवेदनमा कारबाही गर्दै महानिर्देशक स्तरिय निर्णयबाट आइतबार प्रमाणपत्र जारी गरिएको थियो । प्राधिकरणको सञ्चालक समितिका अध्यक्ष मन्त्री भट्टराई हुन् । उक्त छलफलमा भट्टराईले गम्भीर प्रकृतिका विषयमा निर्णय गर्दा आफूलाई जानकारी गराउन महानिर्देशक पनि पोखरलाई भनेको स्रोतले बतायो ।

यसैबिच मन्त्री भट्टराइले हाल सेल्फ ग्राउन्ड ह्याण्डलिङ गर्दै आएका थाई एयर र एयर इन्डियाले पनि प्राधिकरणको ‘वायु यानहरुको भूमिस्थ प्रबन्ध (ग्राउन्ड ह्याण्डलिङ) तथा अन्य भूमिस्थ सेवा सञ्चालन निर्देशिका–२०७२’ अनुसार मापदण्ड पूरा नगरेकाले उनीहरुको प्रमाणपत्र रद्द गर्दै नेपाल वायुसेवा निगमलाई दिलाउन निर्देशन दिएको स्रोतले बतायो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय तथा चार्टर वायु यानहरुको व्यवसायिक भूमिस्थ प्रबन्ध (ग्राउन्ड ह्याण्डलिङ) को जिम्मा निगमले गर्दै आएको छ । यीबाहेक अन्तर्राष्ट्रिय उडान गर्दै आएका बुद्ध र श्री एयरलायन्सले पनि सेल्फ ग्राउन्ड ह्याण्डलिङ गर्दै आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्ने अनुमति पाएका छन् । यीमध्ये थाई, एयर इन्डिया, बुद्ध र श्रीबाहेक अन्य वायुसेवाको भूमिस्थ प्रवन्धको काम निगमले गर्दै आएको छ ।

निगमको अन्तर्राष्ट्रिय उडानपछिको दोस्रो ठूलो आम्दानीको स्रोत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वेदशी तथा विदेशी जेट विमानलाई भूमिस्थ सेवा (ग्राउन्ड ह्याण्डलिङ) हो ।

यो वर्ष निगमले अबको वर्ष २५ वटा विदेशी वायुसेवा कम्पनी, स्वदेशी विमान सेवा हिमालय एयरलायन्स तथा कार्गो तथा चार्टर उडानमा आउने विदेशी वायुसेवालाई भूमिस्थ सेवा दिई ४ अर्ब ६ करोड आम्दानी गर्ने लक्ष्य राखेको छ ।

निगमले आर्थिक वर्ष २०७५/७६ मा ग्राउन्ड ह्याण्डलिङबाट ४ अर्ब ३८ करोड आम्दानी गरेको थियो । २०७६/७७ मा ५ अर्ब १६ करोडको लक्ष्य थियो तर २ अर्ब ७८ करोड हाराहारी आम्दानी गरेको छ ।

निगमका एक अधिकारीका अनुसार ग्राउन्ड ह्याण्डलिङबाट निगमले वार्षिक डेढ अर्ब हाराहारी नाफा आर्जन गर्दै आएको छ । यो नाफा जहाज उडान सञ्चालनमा हुने घाटालाई परपुर्ति गर्न खर्च हुने गरेको छ ।

प्रकाशित : आश्विन ११, २०७७ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?