स्कुल जान जोरबिजोर !- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्कुल जान जोरबिजोर !

कक्षाकोठामा पस्दा साबुनपानीले हात धुन वा सेनिटाइजर लगाउन अनिवार्य छ । बेन्चमा दुई जना मात्रै बस्न पाइन्छ । विद्यार्थीको उपस्थितिमा पनि जोरबिजोर प्रणाली लागू गरिएको छ । जसअनुसार रोल नम्बरका आधारमा विद्यार्थी आलोपालो गर्दै विद्यालय आउँछन् ।
आश गुरुङ

लमजुङ — चैत पहिलो साता हतारमै वार्षिक परीक्षा सकाएपछि आइतमान गुरुङ विद्यालय जान पाएका थिएनन् । क्व्होलासोंथर गाउँपालिका–४ भुजुङस्थित त्रिभुवन माविमा कक्षा ९ मा पढ्ने उनलाई ६ महिनापछि विद्यालय पुग्दा नौलो लाग्यो । यस्तो लाग्नेमा उनी एक्लो विद्यार्थी थिएनन् । कारण विद्यालय प्रवेश गर्दा र पढ्दा अपनाइने व्यवहार यसअघिका भन्दा फरक थिए ।

अहिले कक्षाकोठामा पस्दा अनिवार्य साबुनपानीले हात धुनुपर्छ । नभए सेनिटाइजर लगाउनुपर्छ । बेन्चमा पहिले चार जना बस्थे, अहिले दुई जना मात्रै बस्न पाइन्छ । विद्यार्थीको उपस्थितिमा पनि जोरबिजोर प्रणाली लागू गरिएको छ । जसअनुसार रोल नम्बरका आधारमा विद्यार्थी आलोपालो गर्दै विद्यालय आउँछन् ।

क्व्होलासोंथर–६ पसगाउँस्थित पसगाउँ ठाँटी माविमा कक्षा १० मा पढ्ने मानिका घर्तीलाई पनि पठनपाठनको शैली नौलो लागेको छ तर ढिलै भए पनि विद्यालय खुलेकोमा खुसी छिन् । ‘मास्क लगाएर पढिरहेका छौं । सर पनि मास्क लगाएरै पढाउनुहुन्छ,’ उनले भनिन्, ‘पढाइ धेरै छुट्यो । ढिलै भए पनि पढाइ सुरु भयो, खुसी छु ।’

त्रिभुवन विद्याश्रम माविका प्रधानाध्यापक दुर्गाबहादुर गुरुङले विद्यार्थी आलोपालो आइरहेको बताए । सेनिटाइजर र मास्क गाउँपालिकाले उपलब्ध गराएको छ । पसगाउँ ठाँटी माविका प्रअ रतनसिंह गुरुङले स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर पठनपाठन थालिएको बताए । टोल–टोलमा पढाउँदा प्रभावकारी नभएपछि विद्यार्थीलाई विद्यालयमै बोलाइएको उनको भनाइ छ । सुरक्षित तबरले कक्षा सञ्चालन गरिएकाले सबै विद्यार्थी पढ्न आएका उनले दाबी गरे ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख दीपक पौडेलले विद्यार्थीको सिट प्लान, मास्क र सेनिटाइजर अनिवार्य प्रयोग, साबुनपानीले हात धुनेलगायत १४ बुँदे आचारसंहिता जारी गरेर पठनपाठन थालिएको बताए ।

प्रकाशित : आश्विन ११, २०७७ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्

एसिडपीडित ४ जनाले पाए रोजगारी

तीन युवतीलाई कुमारी बैंक र एकजना पुरुषलाई महान्यायाधिवक्ता कार्यालयको चालकमा नियुक्त
मातृका दाहाल

काठमाडौँ — एसिड आक्रमणका ३ जना युवतीले कुमारी बैंकमा रोजगारी पाएका छन् भने आक्रमणबाट घाइते एक पुरुषलाई पनि महान्यायाधिवक्ताको कार्यालयले चालकमा करार नियुक्ति दिएको छ । कुमारी बैंकले एसिड पीडित दुईजना युवतीलाई उपत्यका र एकजनालाई हेटौंडामा स्थायी रोजगारीको व्यवस्था गरेको हो ।

एसिड अपराध विरूद्ध क्रियाशिल उज्जवलविक्रम थापाका अनुसार हेटौंडाकी विन्दबासिनी कंसाकार तथा काठमाडौंमा बस्दै आएका जेनी खड्का र संगीता मगरलाई कुमारी बैंकले रोजगारी दिएको हो ।

यसैगरी महान्यायाधिवत्ता अग्नी खरेलले आफ्नै श्रीमतीबाट एसिड आक्रमणमा परेका नुवाकोटका रामराजा थापालाई असोज १ गतेबाटै पारिश्रमिक गण्ना हुने गरी करारमा चालक नियुक्ति गरेका छन् ।

बैंकले तीनैजनालाई ‘मार्केटिङ अफिसर’को रुपमा बैंकले रोजगारी दिलाएको एसिड अपराधविरुद्ध न्याय, पुुनस्थापना र कडा कानुनका लागि क्रियाशील सामाजिक अभियान्ता उज्ज्वलबिक्रम थापाले जानकारी दिए । थापाका अनुसार बैंकले आजै तीनैजनालाई रोजगारी दिने सम्वन्धी पत्रमा हस्ताक्षर गर्न लागेको हो । असोज १ गतेबाटै गणना हुने गरी उनीहरुले रोजगारी पाएका हुन् । बैंकमा सुरुमा एक महिनाको करार र त्यसपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर स्थायी नियुक्ति दिइने छ ।

हेटौंडाकी कंसाकारमाथि २०७० वैशाख ९ गते पसलमा बसिरहेको बेला भारत महाराजगञ्ज (अमरपूर्वन–६ का राज भन्ने दिलिपराज केशरीले एसिड आक्रमण गरेका थिए । २०७१ फागुन १० गते एसएलसी परीक्षाका लागि ट्युसन पढ्न निस्किएकी संगीता मगरलाई बसन्तपुरमा रामेछाप फुलासीका जीवन बिकले एसिड छ्यापेका थिए ।

२०७६ जेठ २ गते कालोपुलमा काभ्रे फुलबारीकी जेनी खड्कामाथि सोही ठाउँका विष्णुबहादुर भुजेलले एसिड प्रहार गरेका थिए ।

२०७६ फागुन २६ गते विदुर नगरपालिका–१३ घर भई बालाजु बस्दै आएका २७ वर्षीय रामराजा थापालाई उनकै श्रीमती प्रतिमा थापाले एसिड प्रहार गरेकी थिइन् । अभियान्ता थापाले एसिड आक्रमणबाट पीडित बनेकालाई राजगारी प्राप्त हुनुले अब एसिड पीडित जोसुकै दयाको पत्र नभई यो अपराधीविरुद्ध लड्ने विशिष्ठ नागरिकको हैसित प्राप्त भएको बताए । पीडितका लागि रोजगारी जीवनभर रि–सेटलमेन्टको सबैभन्दा ठूलो अवसर भएको उनको भनाई छ ।

सरकारले पनि एसिड आक्रमण गर्नेविरुद्ध बिहीबार नै अध्यादेशमार्फत् अधिकतम २० वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना तथा उपचार खर्च निःशुल्क हुने गरी मन्त्रिपरिषदबाट कानुन पारित गरेको छ । अध्यादेश राष्ट्रपतिबाट जारी हुन बाँकी छ । पछिल्लो ७ वर्षमा मात्रै देशभर डेढ दर्जनमाथि एसिड आक्रमण भएको थियो ।

प्रकाशित : आश्विन ११, २०७७ १०:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×