१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

जसले २२ बालबालिकाको मुन्द्रा लुटिन्

आमाकी साथी भन्दै बालबालिकालाई एकान्तमा लगेर मुन्द्रा लुट्थिन् अनि सुन पसलमा लगेर सस्तोमा बेच्थिन् ।
मातृका दाहाल

काठमाडौँ — तारकेश्वर नगरपालिका–१०, मनमैजुमा ६ वर्षकी एक बालिका बाटो छेउमा खेल्दै थिइन् । अपरिचित महिला नजिकै आएर भनिन्, ‘नानी मलाई चिन्यौ ? म तिम्री ममीकी साथी क्या ।’ बालिकाले ‘ए ए’ भन्दै चिनेको जस्तो गरेपछि महिलाले ‘हिँड पसलमा, म चक्लेट किनिदिन्छु’ भनेर अघि लागिन् ।

जसले २२ बालबालिकाको मुन्द्रा लुटिन्

पसलमा चक्लेट किनिदिएपछि ती महिलाले मानिसको आउजाउ कम हुने गल्लीतिर बालिकालाई लगिन् अनि टाउकोतिर हात लम्काएर ‘ओहो नानु, तिम्रो त कानमा घाउ भएछ, म सफा गरिदिन्छु है’ भन्दै दुवै कानमा लगाएका सुनका मुन्द्रा झिकिन् । मुन्द्रा झिकेको बालिकाले पत्तै पाइनन् । चक्लेटसँग भुलिएकी बालिकालाई बाटैमा छाडेर ती महिला आफ्नो बाटो लागिन् ।

यो घटना ०७६ असार २१ गतेको हो । ती महिलाले सोही दिन मनमैजुकै अर्को गल्लीमा खेलिरहेका ५ र ७ वर्षका दुई बालिकालाई पनि उही शैलीमा ४ थान सुनका मुन्द्रा थुतिन् ।

ती बालिकाका अभिभावकले लगत्तै प्रहरीलाई खबर गरे । उजुरी प्रहरीको अपराध रेकर्डमा जनाइयो तर महिलाको अत्तोपत्तो भएन । त्यसपछि पनि उपत्यकाका विभिन्न स्थानमा बालबालिकाका सुनका मुन्द्रा हराएको उजुरी प्रहरीमा दर्ता भए । यो केसलाई प्रहरीले त्यत्ति धेरै गम्भीर अपराधका रूपमा नलिई राख्यो ।

मनमैजुमा मुन्द्रा लुटिएको १६ महिनापछि गत भदौ ३० मा कपन महांकाल ओरालो र ३१ गते बौद्ध आरुबारी (शिवचोक) मा त्यस्तै किसिमका घटना भए । कपनमा ५ वर्षकी र आरुबारीमा २ र ६ वर्षका बालिकाको मुन्द्रा हराएको उजुरी महानगरीय प्रहरी वृत्त बौद्धमा दर्ता भयो । प्रहरी चोरीमा संलग्नको खोजीमा लाग्यो । केही स्थानका शंकास्पद सीसीटीभी फुटेज फेला पर्‍यो । अनुसन्धान गर्दै जाँदा एक महिलामाथि प्रहरीको ध्यान सोझियो । शंकाकै भरमा म्याग्दी घर भई गोकर्णेश्वर नगरपालिका–८, माकलबारीबाट मंगलबार ३२ वर्षीया संगीता क्षेत्री पक्राउ परिन् ।

उनको हुलिया, उपत्यकाका विभिन्न प्रहरी युनिटमा परेका मुन्द्रा चोरीसम्बन्धी उजुरीबारे पनि प्रहरीले अनुसन्धान गर्‍यो । बौद्धसहित विभिन्न प्रहरी युनिटमा २२ बालबालिकाको मुन्द्रा चोरीसम्बन्धी २० वटा घटना भएका रहेछन् ।

बौद्ध वृत्तका डीएसपी नवीन कार्कीका अनुसार सबै विवरण एकीकृत गरेपछि थप केरकार गर्दा पक्राउ परेकी महिलाले मुन्द्रा आफैंले चोरेको स्वीकार गरेकी छन् । प्रहरीमा परेको उजुरीअनुसार ०७६ सालमा ४ ठाउँ र ०७७ वैशाखयता १६ स्थानमा घटना भएका हुन् ।

क्षत्रीले ४७ वटा मुन्द्रा तथा रिङ चोरेकी रहिछन् । उनले पहिलो पटक ०७६ असारमा भक्तपुरको सानो थिमिमा मुन्द्रा चोरेकी थिइन् । उनले मनमैजु, कपन, आरुबारी, सानो थिमिका अलावा कपुरधारा, गल्कोपाखा, स्युचाटार, कोटेश्वर, गोठाटार, नारायणटार, मिलनचोक (कपन) लगायत स्थानबाट सुनका मुन्द्रा लुटपाट गरेको खुलेको छ । उनले २ वर्षदेखि ९ वर्ष उमेरका बालबालिकाको मुन्द्रा लुटपाट गरेकी हुन् । केही बालबालिकाको कानमा रक्ताम्य हुने गरी मुन्द्रा झिकिएको थियो ।

कोरोना महामारीका कारण हिजोआज अधिकांश बालबालिका घरमै सीमित छन् । डीएसपी कार्कीले दिउँसो अभिभावक आ–आफ्नै काममा केन्द्रित भएको मौका छोपेर क्षत्रीले मुन्द्रा लुटपाट गर्ने गरेको बताए । क्षत्रीले लुटेका सुनका मुन्द्रा बजार मूल्यभन्दा सस्तोमा सुनचाँदी पसलमा लगेर बेच्ने गरेकी थिइन् । उनीबाट मुन्द्रा किनेका काभ्रे रोशी घर भई हाल ललितपुर सौगलमा डेरा गरी बस्ने ३० वर्षका मुरली विकलाई पनि पक्राउ गरेको छ । विकको ललितपुर महानगरपालिका–६, कनिबहालमा सुनचाँदी पसल छ । उनले तोलाको ८० हजार भाउ कायम गरेर क्षत्रीबाट मुन्द्रा किन्ने गरेको पनि स्विकारेका छन् । विकको सुनचाँदी पसल बिनादर्ता सञ्चालन गरिएको पाइएको छ । उनले सामानबिना बिल बेच्ने गरेको पनि खुलेको छ । सुन पसलबाट प्रहरीले सुनको सिक्री, मुन्द्रा, नगद, मोबाइल फोन बरामद गरेको छ । विकले अरू ठाउँबाट पनि चोरीका सामान किनेको प्रहरीको आशंका छ ।

क्षत्रीले पुर्ख्यौली घर म्याग्दी भए पनि आफू काठमाडौंमै जन्मेहुर्केको बताएकी छन् । उनको म्याग्दीका एक युवकसँग करिब १ दशकअघि अन्तरजातीय विवाह भएको थियो । क्षत्रीका अनुसार विवाहको केही वर्षमा छोरा जन्मिएपछि दम्पतीमा खटपट हुन थाल्यो ।

छोरा २ वर्षको भएपछि श्रीमान् टाढिए । छोरा पनि लिएर गए । त्यसपछि उनी दिदी पर्नेसँग बालाजुमा बस्न थालिन् । आम्दानीको अरू विकल्प नभएपछि चोर्न र बालबालिकाका मुन्द्रा लुट्न थालेको उनले प्रहरीलाई बताएकी छन् । सुरुमा चोरी तथा लुटपाट गर्दा प्रहरीले सुइँको नपाउँदा उनको हौसला बढेको प्रहरीको अनुमान छ ।

प्रकाशित : आश्विन ११, २०७७ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?