कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

डा.केसीको स्वास्थ्य खस्किँदै

अतुल मिश्र

काठमाडौँ — स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै अनशनमा रहेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था खस्कँदै गएकाले कुनै पनि समय आईसीयूमा भर्ना गर्नुपर्ने स्थिति आउन सक्ने चिकित्सकहरूले औंल्याएका छन् । उनको मुटुको चालमा गडबडी देखिए वा संक्रमण भए स्थिति जोखिमपूर्ण हुने चिकित्सकहरूको भनाइ छ ।

डा.केसीको स्वास्थ्य खस्किँदै

‘अनशनको १३ दिन भइसक्यो, सरको स्वास्थ्यस्थिति उच्च जोखिममा छ । कुनै पनि समय आईसीयू लग्नुपर्ने स्थिति आउन सक्छ,’ उपचार टोलीका संयोजक प्रा.डा.सुवासप्रसाद आचार्यले कान्तिपुरसँग भने, ‘रगतसम्बन्धी प्रतिवेदनअनुसार सेतो रक्तकणिकाको संख्या एकदम कम भएकाले संक्रमणको उच्च जोखिम छ ।’ अनशनका कारण उनको शरीरमा चिनीको मात्रा, इलेक्ट्रोलाइट पोटासियम, म्याग्नेसियम, सोडियम, क्याल्सियम, फोस्फोरस र रगतमा सेतो रक्तकणिकाको संख्यासमेत सामान्य स्तरभन्दा निकै तल गइसकेको छ ।

शरीरमा पोटासियमको स्तरमा आएको कमीले गर्दा डा.केसी मांसपेशी बाउँडिने, गल्ने, कमजोर हुने समस्या भोग्दै छन् । यसले गर्दा मुटुको चालमा असामान्यता आउने सम्भावना समेत छ । सुगरको कमी हुँदा मस्तिष्कमा समेत समस्या उत्पन्न गर्न सक्ने जोखिम छ । जुम्लाबाट १९ औं सत्याग्रह थालेका डा.केसी चार दिनअघि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका हुन् ।

हाल उनलाई थकाइ, रिंगटा, धड्कन, मांसपेशी बाउँडिने र दुखाइको समस्यासमेत देखिएको छ । यस्तै शरीरमा भएको इलेक्ट्रोलाइटको असन्तुलन र कडा इलेक्ट्रोलाइटको कमीले गर्दा डा.केसीमा ईसीजीमा परिवर्तन, असामान्य धड्कन र स्नायुसम्बन्धी समस्यासमेत देखिन सक्ने उपचारमा संलग्न चिकित्सकहरूले औंल्याएका छन् । ‘यस्तै स्थिति रहे उहाँमा समस्या देखिन सक्छ,’ डा.आचार्यले भने, ‘सरले नर्मल सलाइनबाहेक केही लिन मान्नुभएको छैन । इलेक्ट्रोलाइटको असन्तुलनले गर्दा स्वास्थ्य स्थिति जटिलतातर्फ जान सक्छ ।’ डा.केसीले शनिबार आफ्नो रगतको थप परीक्षण गर्न दिएनन् । उनको भ्रमण इतिहास हेरेर कोभिड–१९ परीक्षणका लागि स्वाब लिइएकामा नेगेटिभ आएको डा. आचार्यले जानकारी दिए ।

१७ जना समर्थक रिहा

डा. केसीको समर्थनमा शनिबार माइतीघर मण्डलामा युवाले गरेको प्रदर्शनबाट पक्राउ परेका १७ जनालाई प्रहरीले बेलुका रिहा गरेको छ । उनीहरूले ‘सत्ताका ओली सडकमा, नक्कली ओली बालुवाटारमा’ लगायत नारा लेखिएको ब्यानरसहित प्रदर्शन गरेका थिए । ‘हामीले शान्तिपूर्ण प्रदर्शन सुरु गर्न थालेको एक मिनेटमै प्रहरीले समात्यो,’ प्रहरी नियन्त्रणमा रहेका डा.केसीका सहयोगी प्रितम सुवेदीले आफूसहित १७ जनालाई नेपाल पुलिस क्लबमा राखेको र अबेर साँझ छोडेको बताए । आफूहरूले हिरासतमा राख्नुको लिखित कारण खोज्दा क्लबबाट तानेर बाहिर पठाएको समेत सुवेदीले बताए । प्रहरीले पुकार बम, वृत्तान्त खनाल, सचिन तिमिल्सिना, विद्युत् लामिछाने, मनोज पुरी, अस्मिता शाह, सेरेन जोशी, चेतन बुढाथोकी, निश्चल आचार्य, रामकृष्ण रिजाल, रमेश बानियाँ, साजन तामाङ, रोहित क्षेत्री, उमेश शर्मा र श्रीराम घिमिरे, प्रज्वल कार्कीलाई नियन्त्रणमा लिएर राति छाडेको थियो ।

प्रकाशित : आश्विन ११, २०७७ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?