रुपन्देहीमा बाढीको वितण्डा : १७ घर बगे, २४ भत्किए

अमृता अनमोल

बुटवल — भारी वर्षासँगै शुक्रबार राति आएको बाढीले रुपन्देहीमा १७ घर बगाएको छ भने २४ घर भत्किएका छन् । बाढीपहिरोमा परि ६ जना घाइते भएका छन् । बाढीले दर्जनौं परिवार विस्थापित भएका छन् । एक सय बढी घर डुबानमा परेका छन् ।

रुपन्देहीमा बाढीको वितण्डा : १७ घर बगे, २४ भत्किए

दानव नदीमा आएको बाढी बस्तीमा उर्लिएपछि सम्मरीमाई गाउँपालिका देबन्डीका पर्बावती मल्लाहको घर भत्किँदा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्गबहादुर खत्रीले बताए । यस्तै, लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ वडउलियस्थित बलिराम हरीजनको घर भत्किँदा उनकी पत्‍नी घाइते भएकी छन् ।

बाढीले बुटवल उपमहानगरपालिकामा ६ वटा घर बगाएको छ । तिनाउ नदीमा आएको बाढीले बुटवल-१७ रानीगन्जका ३ र चुरेबाट आएको भेलले बुटवल-४ गैरीगाउँका ३ घर बगाएको वडा अध्यक्ष टंकप्रसाद पराजुलीले बताए । ती ठाउँका १६ घरपरिवार विस्थापित भएका छन् ।

सुखौरा खोलामा आएको बाढीले तिलोत्तमा नगरपालिकामा ४ वटा घर बाढीले बगाएको छ । उता रोहिणी नदीमा आएको बाढीले देवदह १० मा एक घर बगाएको छ । रोहिणी नदीमा आएको बाढी बस्तीमा पस्दा ओमसतिया गाउँपालिका-५ पिपरहियामा ५ घर भत्केका छन् । दानव नदीले लुम्बिनी सांस्कृतिक नगरपालिकामा ५ घर बगाएको छ । बाढीले मर्चवारी गाउँपालिकाका १५ घर भत्काएको छ । तिनाउ नदीको बाढीले मायादेवी गाउँपालिका ६ मा ४ घर भत्काएको छ ।

बाढीले बुटवल ११ बुद्धनगर र तल्लो मझवा जोड्ने सडक बगाएको छ । यसले मझुवाका एक सय घरसंगको सडक सम्बन्ध विच्छेद गराएको वडाअध्यक्ष रामचन्द्र खनालले बताए । बाढीको बेगले पक्कीपुलसमेत जोखीममा छ ।

तिनाउ, दानव, रोहिणी नदी र सुखौरा खोलाले बुटवल, तिलोत्तमा, देवदह, ओमसतिया, सम्मरीमाई, लुम्बिनी सास्कृतिक नगरपालिकाका दर्जनौं घर डुबानमा परेका छन् । क्षति र विस्थापित परिवारको संख्या संकलन गरिरहेको प्रवक्ता खत्रीले बताए ।

प्रकाशित : आश्विन १०, २०७७ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?