शनिबारदेखि मौसम खुल्ने सम्भावना- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शनिबारदेखि मौसम खुल्ने सम्भावना

रासस

काठमाडौँ — पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम शनिबार(आज)देखि सफा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले शनिबार एक बुलेटिन निकालेर भारतको बिहारमा बनेको न्यूनचापीय क्षेत्र उत्तरपूर्व सर्ने क्रममा रहेकाले शनिबार बेलुकादेखि मौसम सफा हुँदै जाने जनाएको छ । हाल देशको कर्णाली प्रदेश, सुदूरपश्चिम र प्रदेश नं ५ मा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज राति प्रदेश नं १, प्रदेश नं २, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थानमा तथा प्रदेश नं ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौ‌ं उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव ८ र अधिकतम तापक्रम २९ दशमलव ३ डिग्री सेल्सियस रहेको छ । त्यस्तै शनिबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ११ दशमलव ९ डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम ३१ दशमलव ८ डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित : आश्विन १०, २०७७ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

रमेशकुमार पौडेल

चितवन — बाघले आक्रमण गर्दा शनिबार चितवनमा एकजनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको आडमा रहेको बेलसहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका भरतपुर महागरपालिका–१३ का ६५ वर्षीय जगदिश चौधरीलाई बाघले आक्रमण गरेर ज्यान लिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए । घटना बिहान सवा १० बजे भएको थियो ।

‘उनको घटनास्थलमै मृत्यु भएको छ । हामीले पाएको सूचना अनुसार बाघ पनि आडैमा छ । बाघलाई निकुञ्जको टोलीले नियन्त्रणमा लिने प्रयास गर्दैछ,’ सहायक संरक्षण अधिकृत रामले भने ।

यसअघि सोही क्षेत्रमा बाघले आक्रमण गर्दा एक जनाको निधन भएको थियो । भदौ २२ गते बाघले आक्रमण गर्दा भरतपुर–१३ कै ६० वर्षीय बाबुराम महतोको मृत्यु भएको थियो । उनी बाटुलीपोखरी वनमा घाँस काट्न गएका थिए ।

‘दुई घटनास्थल नजिकनजिक छन् । सायद उनीहरुलाई आक्रमण गर्ने बाघ पनि एउटै हुन सक्छ । हामी बाघलाई नियन्त्रणमा लिने प्रयासमा छौं’ निकुञ्जका सूचना अधिकारी रामले भने । निकुञ्जको मध्यवर्ती क्षेत्रमा स्थानीयको ज्यानै जाने गरेर वन्यजन्तुले आक्रमण गरेको चालु आर्थिक वर्षमा यो दोस्रो घटना हो । अघिल्लो आर्थिक वर्षमा चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रमा वन्यजन्तुले आक्रमण गर्दा पाँचजनाको निधन भएको थियो ।

प्रकाशित : आश्विन १०, २०७७ १२:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×