१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

रमेशकुमार पौडेल

चितवन — बाघले आक्रमण गर्दा शनिबार चितवनमा एकजनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको आडमा रहेको बेलसहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका भरतपुर महागरपालिका–१३ का ६५ वर्षीय जगदिश चौधरीलाई बाघले आक्रमण गरेर ज्यान लिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए । घटना बिहान सवा १० बजे भएको थियो ।

‘उनको घटनास्थलमै मृत्यु भएको छ । हामीले पाएको सूचना अनुसार बाघ पनि आडैमा छ । बाघलाई निकुञ्जको टोलीले नियन्त्रणमा लिने प्रयास गर्दैछ,’ सहायक संरक्षण अधिकृत रामले भने ।

यसअघि सोही क्षेत्रमा बाघले आक्रमण गर्दा एक जनाको निधन भएको थियो । भदौ २२ गते बाघले आक्रमण गर्दा भरतपुर–१३ कै ६० वर्षीय बाबुराम महतोको मृत्यु भएको थियो । उनी बाटुलीपोखरी वनमा घाँस काट्न गएका थिए ।

‘दुई घटनास्थल नजिकनजिक छन् । सायद उनीहरुलाई आक्रमण गर्ने बाघ पनि एउटै हुन सक्छ । हामी बाघलाई नियन्त्रणमा लिने प्रयासमा छौं’ निकुञ्जका सूचना अधिकारी रामले भने । निकुञ्जको मध्यवर्ती क्षेत्रमा स्थानीयको ज्यानै जाने गरेर वन्यजन्तुले आक्रमण गरेको चालु आर्थिक वर्षमा यो दोस्रो घटना हो । अघिल्लो आर्थिक वर्षमा चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रमा वन्यजन्तुले आक्रमण गर्दा पाँचजनाको निधन भएको थियो ।

प्रकाशित : आश्विन १०, २०७७ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?