पाल्पा पहिरो : एकै परिवारका ५ जनाको शव भेटियो

पाल्पा — रम्भा गाउँपालिका–२, फोक्सिङकोटमा पहिरोमा परी बेपत्ता भएका पाँचै जनाको शव पुरिएको अवस्थामा शुक्रबार भेटिएको छ । तीन बालबालिकाको शव दिउँसो र दुई जनाको भने शुक्रबार बेलुका फेला परेको हो ।

पाल्पा पहिरो : एकै परिवारका ५ जनाको शव भेटियो

बिहीबार बिहान पहिरोले घर पुरिँदा एकै परिवारका पाँच बेपत्ता थिए । पहिरोमा पुरिएर मृत्यु हुनेमा ६० वर्षीय हुमबहादुर गाहा, उनकी पत्नी ५० वर्षीया धनीसरा गाहा, छोरी १७ वर्षीया कृष्णामाया गाहा, हुमबहादुरका नातिनीहरू ८ वर्षीया लक्ष्मी गाहा र १४ वर्षीया खुमीसरा आलेको शव फेला परेको प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले बताए । हुमबहादुर र धनीसराको शव बेलुका अबेरमात्र निकालिएको हो । उनले भने, ‘पहिरो ठूलो भएकाले पन्छाउन धेरै समस्या भएको हो ।’

सडक अवरुद्ध भएकाले पहिरोमा पुरिएकाको उद्धार गर्न टोली अलि ढिला पुगेको थियो । ताँहुबाट दुई घण्टा हिँडेर टोली घटनास्थल फोक्सिङकोट पुगेपछि शुक्रबार बिहानै खोजी कार्य सुरु भएको थियो । पहिरोमा पुरिएकाको सेना, प्रहरी बल, स्थानीय बासिन्दाले खोजी गरेका हुन् । पाँचै जनाको शव पोस्टमार्टमका लागि ताँहुसम्म ल्याइएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । ताँहुको प्राथमिक स्वास्थ्य केन्द्रमा शव पोस्टमार्टम गर्न तानसेनबाट चिकित्सक पुगेका छन् ।

प्रदेश सांसद नारायणप्रसाद आचार्यले पहिरो खसेको स्थानमा प्राविधिक लगेर बस्तीका विषयमा अध्ययन गरिने बताए । उनले पीडित परिवारका लागि रेडक्रम सोसाइटीमार्फत कम्बल, त्रिपाललगायत सामग्री लगेर छाडेको बताए । ‘बस्तीकै अध्ययन गर्ने भनेर प्राविधिक लगिएको थियो,’ उनले भने, ‘सडकको पहिरो पन्छाउन नसकेर पुग्न सकिएन ।’ बेलौजामा तीन घर पहिरोमा पुरिएका छन् भने १७ घर जोखिममा छन् । खतरामा परेका बस्तीका बासिन्दालाई विद्यालय, स्वास्थ्यचौकी र छिमेकीको घरमा सारिएको छ । रम्भा गाउँपालिकाले पहिरोमा पुरिएर मृत्यु हुनेलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ । यस्तै विस्थापित परिवारको खाने, बस्ने व्यवस्था मिलाउने गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

प्रकाशित : आश्विन ९, २०७७ २२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?