गृहमन्त्रीद्वारा छाङरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास

मनोज बडू

दार्चुला — ब्यास गाउँपालिका १ छाङरुमा सशस्त्र प्रहरी गुल्मको शिलान्यास गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले शुक्रबार दिउँसो सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको शिलान्यास गरेका हुन् । पश्चिम नेपालको त्रिदेशीय सीमा क्षेत्रमा पछिल्लो समय नेपालले आफ्नो सुरक्षा उपस्थिति देखाउन थालेकोले सशस्त्र प्रहरीको गुल्म स्थापना गरिएको हो । 

गृहमन्त्रीद्वारा छाङरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास

भारतद्वारा अतिक्रमण गरेको भूगोल नजिक सरकारले सशस्त्र प्रहरीको गुल्म स्थापना गरेको छ । गत वैशाखमा सशस्त्र प्रहरीकै बीओपी स्थापना भएपछि पछिल्लो समय नेपालले आफ्नो सीमा क्षेत्रमा सुरक्षा उपस्थिति देखाउन थालेको छ ।

भारतले एकतर्फी रुपमा नेपाली भूमि भएर चीन जोड्ने गरी सडकको भारतले उद्घाटन गरेपछि नेपालले ब्यासमा सशस्त्र प्रहरीको उपस्थिति गराएको हो । गुल्मको शिलान्यासका लागि गृहमन्त्री थापा हेलिकप्टरमार्फत पुगेका हुन् । गृहमन्त्री थापासँगै सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, गृह सचिव महेश्वर न्यौपाने, दार्चुलाका सांसद गणेशसिंह ठगुन्ना, राजनीतिक सल्लाहकार सूर्य सुवेदी, सुरक्षा सल्लाहकार इन्द्रजीत राई, नेपाली सेनाका सहायकरथी पवनराज घिमिरे, सशस्त्र प्रहरीका एआईजी रामशरण पौडेललगायत सहभागी छन् ।

गृहमन्त्रीको टोली शुक्रबार उतै बस्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए । शनिबार बिहान टोली काठमाडौं फर्कने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सशस्त्र प्रहरीको भवन निर्माणका लागि १० करोड रुपैयाँ ठेक्का सम्झौता भइसकेको छ ।


प्रकाशित : आश्विन ९, २०७७ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?