कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बलात्कृत किशोरीलाई १२ लाखको प्रलोभन

सन्तोष सिंह

धनुषा — सामूहिक बलात्कारमा परेकी धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरकी १५ वर्षीया किशोरीले घटना लुकाउन पैसाको ‘अफर’ नस्विकारेपछि उनको परिवारलाई ज्यान मार्ने धम्की दिन थालिएको छ । बलात्कारमा संलग्नहरूका परिवारले १२ लाख रुपैयाँ एकमुष्ट दिएर मुद्दा गाउँमै मिलाउन विभिन्न माध्यमबाट दबाब दिइरहेको पीडित परिवारले जनाएको छ ।

राजनीतिक दलका नेतासहित ८ जनाको समूहले फकिरचन्द्र गामी मावि, बरकुर्वामा गत बिहीबार घटना मिलाउन पञ्चायती नै राखेको थियो ।

करिब एक महिनाअघि चार जनाले बलात्कार गरेको पीडितको भनाइ छ । पीडितका आमा–बुबा र उनकै एक आफन्तलाई बोलाएर सुरुमा बलात्कार गर्नेहरूबाटै प्रतिव्यक्ति एक लाख रुपैयाँ दिने प्रस्ताव गरिएको थियो । पीडितकी आमाका अनुसार आफूहरू मिल्न नमानेपछि रकम बढाउँदै सत्यनारायण यादवले प्रतिव्यक्ति ३ लाखका दरले संकलन गरी १२ लाख रुपैयाँ दिने प्रस्ताव गरेका थिए । यादवले अरू ८ लाखजति प्रहरी र अदालतमा खर्च हुने र त्यो रकम आफूहरूले नै तिर्ने बताएका थिए । बलात्कारका आरोपितहरूले नमिले गाउँमा बस्न नदिने चेतावनीसमेत दिएको पीडितकी आमाले सुनाइन् । ‘बुबा–आमालाई पैसा लिन दबाब दिँदै छन् । पैसा नलिए ज्यान मार्ने भनेर धम्क्याइरहेका छन्,’ पीडित किशोरीले भनिन्, ‘घरबाहिर जाँदा पनि नचिनिएका मानिसहरूले पछ्याउँछन् ।’

बलात्कार आरोपमा दुई जना पुर्पक्षका लागि कारागारमा छन् । सहयोगीसहित ६ जना अझै फरार रहेको र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए । पीडित परिवारले भने घटना भएको एक महिनाभन्दा बढी हुँदासमेत प्रहरीले सबैलाई पक्राउ गर्न नसकेको गुनासो गरेको छ । ‘उनीहरू (आरोपित) गाउँघरमै घुमिरहेका छन् भनेर प्रहरीलाई धेरैपटक जानकारी दियौं,’ पीडितकी आमाले भनिन्, ‘तर पक्राउ गर्न प्रहरीले पहल गरेको छैन ।’ जिल्ला प्रहरी प्रवक्ता मिश्रले पीडित परिवारलाई पैसाको अफर गरिएको र ज्यान लिने धम्की दिइएको विषयमा जानकारी नआएको बताए ।

धनुषाधाम–९ सयबिग्हास्थित दिदीको घरमा बिहे भोज खान गएकी किशोरीलाई भदौ १ गते साँझ करिब ६ बजे रघुनाथपुर फर्किंदै गर्दा धर्मपुरनजिक १४–१५ जना युवाले घेराउ गरेका थिए । किशोरीसँगै रहेका दुई युवालाई उक्त समूहले कुटपिट गर्दै सडकमा बन्धक बनाएपछि किशोरीलाई करिब ३ किलोमिटर पर लगेर चार जनाले बलात्कार गरेको प्रहरीले जनाएको छ । ती युवाले आफ्नो भिडियोसमेत खिचेको र बलात्कारको कुरा सार्वजनिक गरे भिडियो फेसबुकमा राखिदिने र ज्यान मार्ने धम्कीसमेत दिएको पीडितले बताइन् । पीडित दलित समुदायकी हुन् ।

प्रकाशित : आश्विन ९, २०७७ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?