१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पीपीईको गुणस्तर जाँच्‍न नाष्टले बनायो पीसीटी डिभाइस

गोविन्द पोखरेल

काठमाडौँ — बिरामीको उपचारमा खटिँदा स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्टिभ इक्‍विपमेन्ट (पीपीई)को गुणस्तर परीक्षण अब नेपालमै हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले पीपीईको गुणस्तर परीक्षण गर्न पीसीटी निर्माण गरेको छ ।

पीपीईको गुणस्तर जाँच्‍न नाष्टले बनायो पीसीटी डिभाइस

नाष्टको प्रविधि संकाय अन्तर्गतको समृद्धिका लागि नवप्रवर्तन केन्द्र (सीआईपी) ले पीपीईको गुणस्तर परीक्षणका लागि प्रोटेक्टिभ क्लोथिङ पेनिट्रेसन टेस्ट डिभाइस (पीसीटी)को निर्माण गरेको हो ।

बजारमा विभिन्न खालका पीपीईहरु निर्माण हुँदा त्यसको गुणस्तरमा प्रश्न उठ्न थालेपछि नाष्टले नाप तौल तथा गुणस्तर विभागले दिएको मापदण्डअनुसार पीसीटीको निर्माण गरेको जनाएको छ । रेन कोट तथा विभिन्न बस्तुहरुमा प्रयोग हुने कपडाबाट पीपीई निर्माण हुन थालेपछि त्यसको गुणस्तरको परीक्षण आवश्यक भइरहेको बेला पीसीटीको निर्माण गरिएको सीआईपीका वरिष्ठ प्राविधिक अधिकृत एवं इन्जिनियर शंकर ढकालले बताए ।

'कम गुणस्तरको पीपीई कोरोनाको मात्रै नभएर अन्य भाइरसहरुको पनि स्रोत हुन सक्छ,' ढकालले भने, 'हामीले नाप तौल विभागले तोकेको मापदण्ड अनुसार यो डिभाइसको निर्माण गरेका हौं ।' पीपीईको बिक्री वितरण र उत्पादन टेलरिङमा पनि हुन थालेपछि त्यसको गुणस्तर जाँच आवश्यक भएको उनले बताए । नाष्टले निर्माण गरेको यो डिभाइस अमेरिकन स्टान्डर्ड अफ टेस्टिङ अफ मेटेरियल्स(एएसटीएम) प्रोटोकल अनुसार निर्माण गरिएको छ । यो प्रोटोकल विश्वभरी प्रयोग हुँदै आएको ढकालले बताए ।

यसरी हुन्छ परीक्षण

पीपीईको गुणस्तर परीक्षणमा सिन्थेटिक ब्लड र भाइरस छिर्न सक्छ या सक्दैन भनेर हेरिन्छ । यसमा 'एएसटीएम १६७०' र 'एएसटीएम १६७१' प्रोटकलहरु छन् ।

पीसीटी डिभाइसमा पीपीईको 'फ्याब्रिक' मा १५ किलो पास्कलको चाप दिएर सिन्थेटिक ब्लड पठाइने इन्जिनियर ढकालले बताए । सिन्थेटिक ब्लड उक्त चापबाट छिर्यो भने पीपीई गुणस्तरहीन हुने उनले बताए । कृत्रिम रुपमा निर्माण गरिएको रगतलाई सिन्थेटिक ब्लड भनिन्छ । 'संक्रमितले हाछ्यु गर्दा निस्कने पार्टिकल्सहरुले पीपीई छेड्नु सक्छ कि सक्दैन भनेर यसको परीक्षण गरिएको उनले बताए ।

पीसीटी डिभाइसमा मापदण्ड अनुसारको धातुको 'डिस्क' निर्माण गरिएको छ । त्यही डिस्कमा परीक्षण गरिने पीपीईलाई अड्याएर त्यहाँ सिन्थेटिक ब्लड हालिन्छ । त्यसपछि मोटरको साहयताबाट चाप दिइने ढकालले बताए । 'पीपीईबाट ब्लड छिरेन भने योग्य हुन्छ, छिर्यो भने अयोग्य हुन्छ ,' उनले भने । यो परीक्षण 'एएसटीएम १६७०' प्रोटकल अनुसार रहेको उनले सुनाए ।

'एएसटीएम १६७१' टेस्ट प्रोटकलमा भाइरस हालेर परीक्षण गरिने ढकालले बताए । इन्जिनिरिङमा विद्यावारिधि समेत गरेका ढकालले भने,' यो प्रोटोकल अनुसार हामी पीपीईमा ब्याक्टेरियोफेज भाइरस मिसिएको ब्लड पठाउँछौं । फ्याब्रिकबाट छिर्छ कि छिर्दैन भनेर पनि हेर्छौं ।' चाप दिएर भाइरस निस्किए/ननिस्किएको थाहा पाउन माइक्रोबियल टेस्ट गरिन्छ ।

ब्याक्टेरियोफेज भाइरस नेपालमा नपाइने र अमेरिकबाट ल्याउनुपर्ने भएकाले त्यसको विकल्प खोजिएको छ । अन्य मुलुकहरुमा पनि पीपीई टेस्टमा प्रयोग हुँदै आएको ग्राम पोजिटिभ र ग्राम नेगेटिभ ब्याक्टेरिया हालेर परीक्षण गरिने ढकालले बताए । यो डिभाइसको सफल परीक्षण नाष्टले निर्माण गरेको स्वाब कलेक्सन बुथको पञ्जामा भइसेकको छ ।

कोरोना महामारीकै बेला नाष्टको सीआईपीले मोबाइल स्वाब कलेक्सन बुथ भेहिकलको पनि निर्माण गरेको छ । यो भेहिकल मार्फत जनुसकै ठाउँमा गएर पनि सुरक्षित तरिकाले स्वाब संकलन गर्न सकिने ढकालले बताए । उक्त बुथ सीसीएमसी,सशस्त्र प्रहरी,स्वास्थ्य विभाग लगायतका संस्थाहरुले प्रयोग गरिरहेका छन् ।

यसैबीच नाष्टले सीसीएमसीसँगको सहकार्यमा नेपाली सेनाको केही हेलिकप्टर र विमानलाई कोरोना संक्रमितहरुमैत्री बनाउन प्रस्ताव अघि सारेको छ ।

सीआईपीका प्राविधिक ढकालले भने,' नेपाली सेनाको हेलिकप्टर र विमानलाई कोभिडका बिरामीहरुलाई लैजाने किसिमको संरचना कसरी बनाउन सकिन्छ भन्ने सवालमा प्रारम्भीक छलफल सुरु भएको छ ।' यसका लागि विमानभित्र कस्ता परिवर्तन आवश्यक पर्ने र कोरोना मैत्री विमानको रुपमा रुपान्तरण गर्ने सवालमा कार्य अगाडि बढेको नाष्टले जनाएको छ ।

कोरोना विरुद्ध लड्नका लागि सीआईपीले इन्जिनियरिङ तथा प्रविधि विकासको काम गरिरहेको जनाएको छ । नाष्टले यो उपकरण मार्फत मास्कको गुणस्तर पनि थाहा पाउन सकिने बताएको छ ।

प्रकाशित : आश्विन ८, २०७७ २१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?