कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

नेपाल-चीन सीमाबारे स्थलगत रिपोर्ट नआउँदै सरकारले हतारमा टिप्पणी गर्‍यो : कांग्रेस

काठमाडौँ — हुम्लामा नेपाल र चीनबीचको सीमा मिचिएको हो वा होइन भन्नेबारे सरकारले हतारमा टिप्पणी गरेको कांग्रेसले आरोप लगाएको छ । बिहीबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले स्थलगत अध्ययनको विवरण आउनुपूर्व नै सरकारले यसबारे टिप्पणी गरेको बताएका हुन् ।

नेपाल-चीन सीमाबारे स्थलगत रिपोर्ट नआउँदै सरकारले हतारमा टिप्पणी गर्‍यो : कांग्रेस

‘हुम्ला जिल्लास्थित नेपाल र चीनको सीमासम्बन्धी प्रश्नमा सीमा मिचिएको हो या होइन भन्ने विषय स्थलगत अध्ययनको विवरण आउनु पूर्व नै ‘सीमा मिचिएको छैन’ भनेर परराष्ट्र मन्त्रालयले धारणा सार्वजनिक गरेको प्रति नेपाली कांग्रेसको ध्यानाकर्षण भएको छ,’ प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेनासमेतको टोलीको स्थलगत अध्ययन जारी रहँदै, स्थलगत भ्रमण पूरा गरेर सदरमुकाम फर्कनुपूर्व नै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसंगत नदेखिएको कांग्रेसको आरोप छ ।

अध्ययन टोलीले ११ नम्बर पिल्लर बुधबार मात्रै भेटेको र चीनले निर्माण गरेको संरचना १२ नम्बर पिल्लरबाट बाहिर या भित्र भनेर अध्ययन टोलीको स्थलगत अध्ययन निष्कर्षपछि सीमा मिचिएको हो/होइन भन्ने बारे निष्कर्षमा पुग्न सकिने स्थितिलाई पनि सरकारले हेक्का नराखेको प्रवक्ता शर्माले बताएका छन् ।

सीमासम्बन्धी गम्भीर प्रश्नमा स्थानीय प्रशासन, राजनीतिक दल र सञ्चार माध्यमसमेतको ठोस अध्ययन र अवधारणाको जगमा धारणा सार्वजनिक गर्नु जिम्मेवार र परिपक्व हुने आफूहरुको बुझाइ रहेको कांग्रेसले बताएको छ ।

‘बिहीबार साँझसम्म स्थलगत अध्ययन टोली सीमाबाट हुम्लाको सदरमुकाम फर्किएपश्चात सीमा मिचिएको ठहर भए चीन सरकार समक्ष कडा विरोध जनाउादै संवादको कूटनीतिक प्रक्रियामार्फत् समाधानमा पुग्न सरकारलाई प्रतिपक्षी दलका तर्फबाट सचेत गराउँदछौं,’ कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

स्थलगत अध्ययनको धारणा आउनुपूर्व नै ‘सीमा मिचिएकै छैन’ भनेर ठोस अध्ययनको आधार बेगर धारणा सार्वजनिक गर्नु परराष्ट्र मन्त्रालयको कमजोरी रहेको पनि कांग्रेसले आरोप लगाएको छ ।

बुधबार परराष्ट्रमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले नेपाल र चीनबीच सीमा समस्या नभएको बताएका थिए । हुम्लामा नेपाली भूमि मिचेर चीनले भौतिक संरचना निर्माण गरेको भनेर आएका समाचारप्रति सरकारको ध्यानाकर्षण भएको भन्दै मन्त्री ज्ञवालीले त्यसमा सत्यता नभएको बताएका थिए ।

लामो समयदेखि हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ बुधबार भेटिएको थियो । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा गएको टोलीले बुधबार स्तम्भ भेट्टाएको जानकारी नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले दिए ।

सम्बन्धित समाचार

प्रकाशित : आश्विन ८, २०७७ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?