बजार अनुगमन गर्न काठमाडौं प्रशासनले गठन गर्‍यो तीनवटा मार्सल टोली

मातृका दाहाल

काठमाडौँ — दसैं/तिहार, छठ, नेपाल सम्वतलगायत प्रमुख चाडपर्वको मौका छोपेर हुनसक्ने महँगी/कालोबजारी, मिसावट, गुणस्तरहीन सामान बिक्री, कृत्रिम अभाव, सार्वजनिक यातायातमा बढी भाडा असुली जस्ता गैरकानुनी गतिविधि नियन्त्रण, बजार अनुगमन र संलग्‍नलाई दण्ड/जरिवाना गर्न काठमाडौं प्रशासनले तीन छुट्टाछुट्टै संयन्त्र गठन गरेको छ । 

बजार अनुगमन गर्न काठमाडौं प्रशासनले गठन गर्‍यो तीनवटा मार्सल टोली

सहायक प्रजिअहरु जिवनप्रसाद दुलाल, जनकराज भट्ट र कल्पना घिमिरे संयोजक रहेका छुट्टाछुट्टै समिति गठन भएको हो । प्रशासनले यी तीनवटै संयन्त्रलाई ‘मार्सल टोली’का रुपमा अर्थ्याएको छ । मार्सलको अर्थ गल्ती गरेको भेटिए संलग्न व्यक्ति तथा संस्थालाई तत्कालै प्रशासनिक बल प्रयोग गरेर अनुसन्धान तथा कारबाहीको दायरामा ल्याउनु हो । काठमाडौंका प्रजिअ जनकराज दाहालले पर्व लक्षित बजार अनुगमन र तोकिएको मूल्य भन्दा बढी असुल्नेलाई कारबाहीको दायरामा ल्याउन छुट्टाछुट्टै समिति गठन गरिएको बताए ।

प्रजिअ दाहालले कोरोना महामारीको जोखिम कायमै रहेकोले आवश्यक स्वास्थ्य सावधानी अपनाउदै तोकिए बमोजिम व्यापार/व्यवसाय र बजार तथा यातायात सञ्चालन व्यवस्थित गर्न ‘मार्सल टोली’ गठन गरिएको बताए । टोली बिहीबारबाटै आ–आफ्नो कार्यक्षेत्र अनुसार फिल्डमा खटिने उनले बताए । टोलीले दैनिक गरेका कामकारबाहीको विवरण प्रशासनमा पेश गर्नुपर्ने छ ।

समितिमा प्रशासनसहित सुरक्षा निकाय, उद्योग वाणिज्य तथा आपूर्ती र स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकाय, उद्योग वाणिज्य महासंघ र यातायात व्यवसायी महासंघका प्रतिनिधिलाई पनि समितिमा राखिएको छ । प्रजिअ दाहालका अनुसार सहायक प्रजिअ जिवनप्रसाद दुलालको संयोजकत्वमा खाद्यान्न अनुगमन समिति गठन गरिएको छ । यो समितिमा वाणिज्य विभाग, नेपाल उद्योग वाणिज्य संघ काठमाडौं, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि समावेस गरिएको छ ।

सहायक प्रजिअ जनकराज भट्टको संयोजकत्वमा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी र यातायात व्यवसायी महासंघका प्रतिनिधि रहने गरि लामो दूरीका सवारीमा टिकट तथा भाडा र यस्ता बस सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालना गरे/नगरेको अनुगमन सम्बन्धी समिति गठन भएको छ ।

यसैगरी काठमाडौंकी सहायक प्रजिअ कल्पना घिमिरेको संयोजकत्वमा वाणिज्य विभाग, स्वास्थ्य कार्यालय, प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधि रहने गरी ‘लत्ताकपडा, मास्क, सेनिटाइजर बिक्रीवितरण अनुगमन समिति’ गठन गरिएको छ । संयन्त्रले अनुगमनमा क्रममा गल्ती गरेको भेटिए तत्कालै पक्राउ देखि गोदाम तथा पसलमा सिल गर्ने र कुन कसुरमा कारबाही गर्ने भन्ने निर्क्योल गर्न सक्ने छ ।

कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अनुसार मालसामानमा कालोबजार, नाफाखोरी, जम्माखोरी तथा कृत्रिम अभाव, झुक्याएर बिक्री, मिसावट, कमिसनलगायत अपराध गरेमा प्रमुख जिल्ला अधिकारीले व्यक्ति वा संस्था दुवैलाई सजाय गराउन सक्छन् ।

जम्माखोरी तथा कृत्रिम अभाव र बढी नाफा लिनेलगायत कसुर गर्नेलाई १ वर्षसम्म कैद वा २ लाख ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुनसक्छ । सरकारले अत्यावश्यक भनि राजपत्रमा सूचना निकालि मोल निर्धारण गरेका मालबस्तुको कृत्रिम अभाव, नाफखोरी, जम्मा खोरी गरेको भेटिए आयात, वितरक/डिलर वा एजेण्ट वा बिक्रेता, जसले कसुर गरेको हो, उसलाई १ वर्ष सम्म कैद वा १० लाख रुपैयासम्म जरिवाना वा दुवै सजाय हुनसक्छ ।

सरकारले मोल निर्धारण नगरेको बस्तुमा २० प्रतिशत भन्दा बढी नाफा लिएर मालबस्तु बेचेमा अधिकतम १ वर्ष कैद वा २ लाख ५० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्छ । हरेक पसलमा सामानको मूल्य सूची सबैले देख्ने गरी टाँस्नुपर्छ । बजार अनुगमन नहुँदा र ग्राहकले पनि यसमा ध्यान नदिँदा नाफाखोरी र महँगी गर्नेले मौका पाउने गरेका छन् । स्थानीय प्रशासन ऐन २०२८ अनुसार नियमित र समयसमयमा बजार अुगमन गर्न प्रमुख जिल्ला अधिकारी (प्रजिअ)ले यस्ता संयन्त्र परिचालन गर्न सक्ने व्यवस्था छ ।

पछिल्लो समय भन्सा अचाक्ली महँगिएको छ । मौसमी तरकारीको भाउ बढेको छ । आलु, प्याज, सागसब्जी मात्रै होइन, नियमित बजार अनुगमन नहुँदा अन्य दैनिक उपभोग्य बस्तुमा पनि व्यापारीले मनोमानी मूल्य लिने गरेका छन् । पछिल्लो पटक असोज १ गतेबाट उपत्यकामा निषेधाज्ञा हटेसँगै सबै किसिमका व्यापार व्यवसाय खुलिसकेका छन् ।

तर लामो समयदेखि बन्द बजारको मूल्यबारे प्रशासनबाट चुस्त अनुमगन हुन सकेको छैन । प्रजिअ दाहालले दैनिक उपभोग्य बस्तुको लाकोबजारी, कृत्रिम अभाव र बढी मूल्य असुलेको पाइए नजिकैका प्रहरी, सशस्त्र प्रहरी र सिधै प्रशासनमा आएर उजुरी गर्न पनि अपिल गरे । उनले बजार अनुगमनका लागि सुराकी परिचालनदेखि नियमित, आकस्मिक र छड्के अनुगमन पनि गरिदने बताए । ‘कोरोना महामारीका बेला मास्क/सेनिटाइजर, थर्मल गनलगाय स्वास्थ्य सामाग्री बिक्रीमा कालोबजारी तथा जम्माखोरी गर्नेलाई कारबाहीको दायरामा ल्याएका थियौं, अहिले यस्नै किसिमको अनुगमन चाडपर्व लक्षित गरेर थालिएको छ,’ उनले भने, ‘व्यापारव्यवसाय इमान्दार भएर गर्नुपर्छ, कसैले नाफाखोरी, कालाबजारी जस्ता गतिविधि गर्छ भने उ कैद र जरिवानाका लागि तयार भएर बसे हुन्छ ।’

थर्मल गनमा कालोबजारी गर्ने व्यापारी शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल लकडाउनका बेला चैत २५ मा पक्राउ परेका थिए । त्यस्तै प्रशासन र प्रहरीले त्यस ताका कालोबजारी गरेर बिक्री गर्न लागिएका करिब २० लाख मास्क बरामद गरेको थियो । पछिल्लो पटक काठमाडौं प्रशासनले नै ठूलो परिमाणमा प्याज बरामद गरेको थियो । बरामद प्याज सुलभ दरमा सरकारी निकायबाटै बिक्री गर्ने निर्णय काठमाडौं प्रशासनले गरिसकेको छ ।

प्रकाशित : आश्विन ७, २०७७ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?