कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नेपाल-चीनबीच सीमा समस्या छैन : परराष्ट्रमन्त्री ज्ञवाली 

'हुम्लामा सीमाभन्दा १ किलोमिटर टाढा चीनका संरचना'

काठमाडौँ — नेपाल र चीनबीच सीमा समस्या नभएको परराष्ट्रमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताएका छन् । हुम्लामा नेपाली भूमि मिचेर चीनले भौतिक संरचना निर्माण गरेको भनेर आएका समाचारप्रति सरकारको ध्यानाकर्षण भएको भन्दै मन्त्री ज्ञवालीले त्यसमा सत्यता नभएको बताएका हुन् । 

नेपाल-चीनबीच सीमा समस्या छैन : परराष्ट्रमन्त्री ज्ञवाली 

मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले भने, 'नेपालको हुम्ला जिल्लाको लिमी उपत्यकामा चीनले नेपालमा घर बनाएको भनेर समाचार सम्प्रेषण भएका छन् । यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । स्थलगत अध्ययनका लागि टोली गएको छ ।'

उक्त क्षेत्रमा चीनले सीमाभन्दा १ किलोमिटर टाढा चिनियाँ भूमिमा संरचना निर्माण गरेको पनि मन्त्री ज्ञवालीको भनाइ थियो । 'यस्तैखालका समाचार सम्प्रेषण २०७३ सालमा पनि भएको रहेछ । त्यतिबेला अन्तरमन्त्रालय छानबिन समिति खडा गरेर त्यसले स्थलगत अध्ययन गरेर आएको प्रतिवेदनमा एक किलोमिटर चिनियाँ भूभागमा संरचना बनाएको पाइएको रहेछ,' उनको भनाइ थियो ।

'नेपाल-चीन बीचमा सीमा समस्या छैनन् । कहिँकतै छन् भने त्यस्तो समाधान गर्ने संयन्त्र छन्,' मन्त्री ज्ञवालीको आग्रह थियो । दुई देशबीचको सीमाबारेका समाचारलाई पुष्ट्याइँ गरेर मात्रै सम्प्रेषण गर्न पनि उनको आग्रह थियो । सीमाका विषय संवेदनशील भएको कुरा बुझिदिनुपर्ने उनको भनाइ थियो ।

सीमा नजिकै चीनले संरचना निर्माण गरेको भनिएपछि निरीक्षणका लागि हुम्लाबाट सरकारी अधिकारी र सुरक्षा निकायका प्रतिनिधि गएको पनि मन्त्री ज्ञवालीले जानकारी दिए । उनले थप विषय उक्त टोली आएपछि पत्ता लाग्ने बताए ।

त्यस्तै, रसुवाको तातोपानी नाकामा रोकिएका नेपालका सामग्री आयातका लागि चिनियाँ प्रतिनिधिसँग कूटनीतिक संवादमार्फत समस्या समाधान गरिएको पनि मन्त्री ज्ञवालीले जानकारी दिएका छन् । उनले पहिलो खेपमा बुधबार बीसीजी लगायतका खोप नेपाल ल्याइएको बताए । आगामी दिनमा पनि निरन्तर कूटनीतिक माध्यमबाट चीनसँगको सम्बन्ध अगाडि बढाइने उनको भनाइ थियो ।

प्रकाशित : आश्विन ७, २०७७ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?