तातोपानी र रसुवागढी नाकाबाट तत्काल आवश्यक पर्ने केही आपूर्तिलाई चीनले भन्सार स्वीकृति दिने

जगदीश्वर पाण्डे

काठमाडौँ — कोभिड–१९ का कारण लामो समयदेखि अवरुद्ध तातोपानी र रसुवागढी भन्सार नाकालाई त्यहाँ रोकिएर रहेका अत्यावश्यक वस्तुहरु नेपालतर्फ आयातको लागि चीनले खुलाउने भएको छ ।

तातोपानी र रसुवागढी नाकाबाट तत्काल आवश्यक पर्ने केही आपूर्तिलाई चीनले भन्सार स्वीकृति दिने

काठमाडौंस्थित चिनियाँ राजदूतावासले नेपाललाई तत्काल आवश्यक पर्ने केही आपूर्तिलाई भन्सार स्वीकृति दिने व्यवस्था चिनियाँ पक्षले गरेको जनाएको हो ।

राजदूतावासका प्रवक्ता वाङ सियओलङले बुधबार जारी गरेको भनाइमा चीन र नेपाल मिलेर छिटोभन्दा छिटो भन्सार नाका सुचारु गर्नका लागि पहल गरिरहेको बताए ।

विगत ६ महिनादेखि चीनसँगको ती दुई भन्सार नाकामा अतिआवश्यक सामग्री र औषधिहरु समेत नाका बन्द भएपछि बाटोमै बिग्रने र समय सीमा सकिने भएपछि नेपाली व्यवसायीहरुले चिन्ता व्यक्त गर्दै आएका छन् ।

प्रवक्ता वाङले कोरोना भाइरस प्रकोप भएदेखि चीन र नेपालले महामारीलाई रोकथाम गर्नका लागि सीमाका नाकाहरु सञ्चालनमा प्रतिबन्ध लगाइएको बताएका छन् । उनले नेपाललाई मेडिकल सामग्री र दैनिक आवश्यक सामग्रीहरुलाई ध्यानमा राखेर एकतर्फी रुपमा दुवै भन्सार नाकालाई खुला गरिदिएको बताएका छन् । नाकाहरु खोल्नको लागि चीन कठिन परिस्थितीबाट आएको पनि उनले उल्लेख गरेका छन् ।

‘वर्षायाम र महामारीको फैलावटले गर्दा पटक–पटक सामग्रीहरु ओसार–प्रसारमा अवरोध आएको छ र पूर्ण रुपमा यो समस्या समाधान भइसकेको छैन,’ उनले भनेका छन् । उनले चिनियाँ पक्षले नेपालको सामान ढुवानीको क्षमता सुधार गर्नेमा ठूलो महत्व दिएको पनि बताएका छन् ।

प्रकाशित : आश्विन ७, २०७७ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?