पोखराबाट वन्यजन्तुको आखेटोपहारसहित एक जना पक्राउ- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखराबाट वन्यजन्तुको आखेटोपहारसहित एक जना पक्राउ

लालप्रसाद शर्मा

पोखरा — विभिन्न वन्यजन्तुको आखेटोपहारसहित प्रहरीले मंगलबार साँझ धादिङको गल्छी गाउँपालिका–४ का २८ वर्षीय सन्तोष लामिछानेलाई पक्राउ गरेको छ । आखेटोपहारको अवैध ओसारपसार र कारोवार हुदै गरेको सूचनाका आधारमा उनलाई पोखरा–३१ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कास्की जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको टोलीले सिसुुवाबाट वनपोखरीतर्फ जाने क्रममा प्रदेश नं.३–०२–०११ प ७८०६ नम्बरको मोटरसाकलमा जेब्रा झोलामा लुकाइराखेको अवस्थामा सामान बरामद भएको हो ।

कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार लामिछानेको साथबाट चितुवाको छाला १, सालकको खपेटा १, वन्यजन्तुको हाड, खुट्टा तथा पंजा ३ कलिो ७ सय ५० ग्राम बरामद भएको छ । उनलाई थप अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय कास्कीमा पठाइएको छ ।

डिभिजनल वन अधिकृत केदार बरालले लामिछानेलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु ऐन २०२९ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको बताए । ‘बरामद भएका आखेटोपहार परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाउँछौं,’ उनले भने, ‘त्यसपछि जिल्ला अदालतमा मुद्दा पेस गर्छौं ।’ उनका अनुसार प्रारम्भिक अनुसन्धानका लामिछाने वन्यजन्तुको अवैध व्यापारमा संलग्न व्यक्ति हुन् ।

प्रकाशित : आश्विन ७, २०७७ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्

विज्ञान, कोरोना र परम्परागत ज्ञानसँग सम्बन्धित पुस्तक सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — विज्ञान दिवसको अवसर पारेर विज्ञान, कोरोना र परम्परागत ज्ञानसँग सम्बन्धित ३ वटा पुस्तक सार्वजनिक भएको छ ।

विगत ३५ वर्षदेखि वातावरण र संरक्षणको क्षेत्रमा काम गर्दै आएको रिसोर्सेस हिमालय फाउन्डेशनले शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा ती पुस्तक सार्वजनिक गरेको हो ।

फाउण्डेशनले तामाङ समुदायहरुले प्रयोग गर्ने परम्परागत ज्ञान र उपचार पद्धति सम्बन्धीको 'तामाङ समुदायको परम्परागत ज्ञान र मुख्य उपचार पद्धति'को पुस्तक सार्वजनिक गरेको छ । डा. कमल अधिकारीद्वारा लिखित यस पुस्तकमा तामाङ समुदायहरुले १ सय ११ वटा वनस्पति उपचार पद्धतिमा प्रयोग गर्ने गरेको उल्लेख छ ।

किताबमा तामाङ समुदायले विभिन्न ८ जीवहरु पनि उपचार प्रणालीमा प्रयोग गर्ने गरेको उल्लेख छ । ती प्राणीहरुको अंगहरुलाई तामाङ समुदायले उपचारका क्रममा प्रयोग गर्ने किताबमा उल्लेख छ । तामाङ समुदायले ३३ किसिमका स्वास्थ्य समस्याहरुका लागि यी जटिबुटी तथा वन्यजन्तुको अंग प्रयोग गर्ने गरेको किताबमा उल्लेख छ ।

यस्तै, छैटौं राष्ट्रिय स्‍नातकोत्तर विद्यार्थी सम्मेलन-हिमालयन नलेज कन्क्लेभ मा प्रस्तुत भएका एक सय ५ वटा शोधपत्रहरुलाई समावेश गरेर 'सारंश संग्रह' नामक पुस्तक विमोचन गरिएको छ । किताबमा विद्यार्थीहरुले विज्ञान,प्रविधि,प्रदूषण र व्यवस्थापन,जैविक विविधता,अर्थतन्त्र,मौलिक ज्ञान,स्वास्थ्य तथा चिकित्सा विज्ञान सम्बन्धी अनुसन्धानका विषयहरु समावेश भएको फाउण्डेशनका महासचिव प्राडा दिनेशराज भुजुले बताए ।

कोभिड-१९ को रोकथामका लागि युवा वैज्ञानिकहरुको सञ्जाललाई परिचालन गरि तयार पारिएको 'बिल्डिङ साइन्स चेजिङ कोरोना भाइरस' नामक किताब सार्वजनिक गरिएको थियो । किताबमा कोरोनाले पारेको असर,कोरोना कालमा वन्यजन्तु संरक्षणमा देखिएका चुनौतीहरु,कोरोनाले पानीको प्रयोगमा पारेको प्रभावबारे उल्लेख रहेको फाउण्डेशनका कार्यक्रम निर्देशक डा दिनेश न्यौपानेले बताए ।

विज्ञान दिवसको अवसर पारेर फाउण्डेशनले आयोजना गरेको ग्रायज्युएट कन्फ्रेन्समा नेपालसहित अमेरिका,युके,चीन, जापान, दक्षिण कोरिया, जर्मनी, अस्ट्रेलिया, पाकिस्तान, बंगलादेश, केन्या, पेरु, कोलोम्बिया, स्वीडेन र भारतका अनुसन्धानकर्मीहरुले मुख्य प्रस्तुति दिएका थिए ।

विज्ञान दिवसकै अवसर पारेर नाष्टले ३ वर्षपछि आफ्नो जर्नल र विज्ञान लेख माला सार्वजनिक गरेको थियो ।

प्रकाशित : आश्विन ७, २०७७ १३:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×