कृषि क्षेत्रका समस्या समाधानका लागि नयाँ व्यवस्था लागू गर्दैछौं : मन्त्री भुसाल

‘सरकारप्रति टिकाटिप्पणी गर्ने काम जायजै छ । तर, विरोध नै गर्नुपर्ने अवस्था भने बनिसकेको छैन ।’
अर्जुन राजवंशी

बिर्तामोड — कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा देखिएका सबैखाले समस्या समाधानका लागि नयाँ व्यवस्था लागू गर्न लागेको बताएका छन् ।

कृषि क्षेत्रका समस्या समाधानका लागि नयाँ व्यवस्था लागू गर्दैछौं : मन्त्री भुसाल

उनले नयाँ व्यवस्थाबिना कृषि क्षेत्रको बृहत्तर विकास सम्भव नरहेको दाबी गरे । झापाको बिर्तामोडमा बुधबार बिहान पत्रकारहरुसँग कुरा गर्दै मन्त्री भुसालले संविधानको सफल कार्यान्वयनका लागि पनि कृषि क्षेत्रमा नयाँ व्यवस्था ल्याउन जरुरी रहेको तर्क गरे । ‘हामी नयाँ व्यवस्था निर्माण गरिरहेका छौं । चाँडै लागू गर्छौं,’ मन्त्री भुसालले भने,‘नयाँ व्यवस्थाले किसानका धेरै समस्याहरु समाधान हुनेमा हामी आशावादी छौं ।’

कृषिका हरेक उत्पादनलाई न्यूनतम् समर्थन मूल्य तोक्ने तयारीमा आफू रहेको उनले बताए । कृषि पेसाबाट किसानलाई पलायन हुनबाट रोक्न समर्थन मूल्य तोक्नुको विकल्प नभएको उनको भनाइ छ । उनले मुलुकको कृषि क्षेत्र सयौं समस्याबाट जकडिएको बताए । ‘कृषिका हरेक क्षेत्र र उत्पादनमा समस्या छ । समस्या एक–दुई वटा मात्र होइन, सयौं छन् । २–३ वर्षभित्र यी सबै समस्या समाधान गर्नेगरी हामी काम गरिरहेका छौं,’ मन्त्री भुसालले भने ।

टिकाटिप्पणी गर्ने क्रम बढे पनि आधारभूत रुपमा सरकार ठीक ठाउँमा रहेको उनको दाबी छ । उनले संविधान कार्यान्वयनका लागि गर्नुपर्ने सुरुवाती कामहरु गरेरै सरकार अघि बढिरहेको तर्क गरे । ‘सरकार संविधान कार्यान्वयनको हिसाबले फ्रेमभित्रै छ’ उनले भने,‘सरकारप्रति टिकाटिप्पणी गर्ने काम जायजै छ । तर, विरोध नै गर्नुपर्ने अवस्था भने बनिसकेको छैन ।’

प्रकाशित : आश्विन ७, २०७७ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?