कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ, पर्वत — मंगलबारदेखि निरन्तर परेको वर्षापछि पहिरो खस्दा मध्यपहाडी लोकमार्गको बागलुङ र पर्वत खण्ड तथा र कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।

पहिरोले मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

लोकमार्गको गलकोट र बडिगाड खण्डमा खसेका पहिरोले यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए । वर्षापछि सडक हिलाम्मे हुँदा बागलुङ नगरपालिकाको बोक्सेमा पनि सवारी साधन वारपार गर्न नसकेको स्थानीयले बताए ।

सोमबार खसेको पहिरो पन्छाएर यातायात एकतर्फी चले पनि मंगलबार राति फेरि पहिरो खसेपछि बडिगाड गाउँपालिका २ को राक्सेमा यातायात रोकिएका हुन् । मध्यपहाडी लोकमार्गमा गुड्ने सवारी अहिले ढलेपिपल नजिकै रोकिएका छन् । प्रहरी टोली पहिरो क्षेत्रमा पुगे पनि बाढी आइरहेकोले पन्छाउन नसकेको रेग्मीले बताए ।

राक्सेमा गएको पहिरोले ४ परिवार विस्थापित भएका छन् । दुर्गा अर्याल, धनबहादुर घर्ती, जितबहादुर विक र धनबहादुर विकको परिवार पहिरोका कारण विस्थापित भएका हुन् । । दगातुम्डाँडा जाने सडकको पहिरो खसेर सडक र उनीहरुको घरमा बाढी पसेको हो ।

त्यस्तै करिडोरको मालढुंगादेखि पालुङ खोलासम्मका दर्जनौं पहिरो खसेपछि सवारी साधन चल्न सकेका छैनन् । केही दिनदेखिको पहिरोमा मंगलबारदेखिको बर्षातले थप क्षति पुगेको छ । यो खण्डमा यात्रा गर्नेले वैकल्पिक बाटो प्रयोग गरिरहेका छन् । अत्यधिक वर्षा भइरहेकाले जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरेर सबैलाई सुरक्षित रहन पनि आग्रह गरेको छ ।

त्यस्तै मध्यपहाडी लोकमार्गको पर्वतखण्ड पनि पहिरोले अवरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ सहश्रधारामा खसेको पहिरोले सडक पुरिएपछि आवागमन ठप्प भएको हो ।

विगत २ सातादेखि पाङको डिलबाट निरन्तर झरिरहेको पहिरो मंगलबार रातिदेखि बढेपछि आवागमन रोकिएको पर्वत प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले बताए । सुवेदीका अनुसार रातिदेखि अवरुद्ध सडक खुलाउन पहल भइरहेको भए पनि वर्षा नरोकिएका कारण एक्स्काभेटर जान सकेको छैन । दुई सातादेखि उक्त स्थानमा निरन्तर पहिरो झरिरहेकाले सामान्य वर्षा हुनेबित्तिकै पटक–पटक सडक अवरुद्ध हुने गरेको छ ।

मंगलबार साँझदेखि कुश्मा आसपासका साथै पर्वत जिल्लाभर ठूलो वर्षा भइरहेको छ । वर्षा नरोकिँदा निरन्तर लेदो झरिरहेका कारण सडक खुलाउन समस्या भएको प्रहरीले जनाएको छ । सडक खुलाउन एक्स्काभेटर बोलाइएको र वर्षा रोकिए दिउँसोसम्म सडक सञ्चालन हुने प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताए । सडक अवरुद्ध हुँदा धौलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङबाट छुट्ने सवारी मालढुङ्गामा रोकिएका छन् । अन्यत्र जिल्लाबाट आएका सवारी नयाँपुलमा रोकिएका छन् । गएको आइतबारदेखि यो स्थानमा निरन्तर पहिरो झरिरहेको छ ।

प्रकाशित : आश्विन ७, २०७७ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?